महिला वा मैला, पुरुष वा उडुस ?

महिला वा मैला, पुरुष वा उडुस ?
अर्जुन दाहाल
वेस्ट हार्टफोर्ड, कनेक्टिकट
 
धेरैजसो भाषण ठोक्नेहरुले छोटकारीमा सम्बोधन गर्दा– ‘भद्र महिला तथा सज्जनबृन्द’ भनेको सुनेको छु । यो छोटोमीठो सम्बोधन हो । तर, त्यहाँ उपस्थित कति महिला भद्र  छन् ? वा मैला कति सज्जनबृन्द ?  पुरुष वा उडुस कसैले नियाल्दैन किनकि त्यो उसको वा उनको छलफलको विषय परेन । अथवा उनी वा उहाँ नै पो मैला वा उडुस वर्गमा पर्नु भो कि ? यो विषयको अहिलेसम्म छानबिन समिति बनेको रहेनछ । त्यसैले यसको जिम्मा नुन चिनी पानीले लिएको छ ।
मैलाको कुरा— आफैँले सन्तान जन्म दिएर खोल्सामा फालिहिँड्ने आमाहरुको कुरा हामीले यिनै कानले सुनेका छौं । कसै–कसैको करतुत यिनै आँखाले देखेका छौं । आफ्ना श्रीमान् विदेश पठाएर अर्को नाठोसँग मस्ती गर्ने, पैसा मगाएर हात पार्ने र अर्कैसँग टाप कस्ने मैलाहरु आजभोलि प्रशस्त भेटिन्छन् । सासु ससुराको सेवा गर्नु त परै जाओस्, राम्रो मुखले बोल्न पनि नबोल्ने र शत्रुवत व्यवहार गर्ने मैला छ्यासछ्यास्ती भेटिन्छन् । बुहारीलाई परिवारको सदस्य नभई नोकर्नी बनाउने अर्काथरी मैलाहरुको पनि बिगबिगी छ । यता इन्टरनेटतिर भेटिने मैलाले त कयौं फूर्तिलो ठिटाको जीवन नै बिगार्देको सुनेको छु । आफ्नो जवानीलाई पासो बनाएर जालमा पार्ने मैलाहरुले अन्य धेरै महिलाहरुको हाँसो लुटेको हेर्न सुन्न टाढा गइरहनु नपर्ला !
अब पुरुष भेषको उडुसको चर्चा गरौं । आदिम कालदेखि नै पुरुषत्व देखाएर उडुसको व्यवहार गर्ने सिङ्गै जमात थियो । गाउँघरमा महिलाले मेलापात, भान्छा र बच्चाको रेखदेखको जिम्मेवारी लिने तर उडुसहरु चौतारीमा बसेर गफ चुट्ने, बेलुकी भट्टी जाने, ट्वाँक लाउने र दैनिक घरेलु हिंसा गर्ने गरेको छरछिमेकमा देखे सुनेका छौं । घरमा एउटी हुँदाहुँदै उडुसत्व देखाएर अन्य मैलासँग लाग्ने, घरबार बिगार्ने र बाल बच्चालाई अलपत्र पार्ने उडुसहरु पनि भेटिन्छन् । साँच्चिकै भन्नुपर्दा धेरैजसो अवस्थामा घरबार धान्ने काम महिलाहरुले नै गरिरहेका हुन्छन् तर उडुसहरु सारा सम्पत्तिको स्वामित्व लिने र आफ्नो इच्छाअनुसार प्रयोग गर्न नपाए घर निकाला गर्नेसम्म हर्कत गर्दछन् । २१औं शताब्दीमा आइपुग्दा पनि दाइँजोको नाममा उडुसहरु हिंसामा उत्रिने गरेका घटना नयाँ होइनन्  भन्ने नुन चिनी पानीको ठहर छ ।आजभोलि समाजिक परिपाटीमा तीव्र परिवर्तन आएसँगै मैलाहरुको बिगबिगी बढेको छ भने उडुसहरुले रुप परिवर्तन गरेका छन् । दिमागमा आएको बिकार फाली आफू परिवर्तन हुन परिमार्जित सङ्गतीको जरुरत देखिएको छ । नियमित व्यायाम खानपिनको सही व्यवस्थापन, योगा, ध्यान, ऊर्जावद्र्धक श्रव्यदृश्य सामग्रीको प्रयोग आदि महत्वपूर्ण देखिएको छ । मैलाहरु परिवर्तन भई महिलाबाट भद्र महिला बन्नतिर लाग्नुहोस् । उडुस पनि पुरुषभन्दा सज्जनबृन्द बन्नतिर लाग्नुहोस् । यसैमा हामी सबैको कल्याण छ ।
(नुन चिनी पानीको झटारो)
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार