अमेरिकी शहर र सिन्धुपाल्चोकको गाउँ बीच गाँसियो सम्बन्ध

अमेरिकी शहर र सिन्धुपाल्चोकको गाउँ  बीच गाँसियो  सम्बन्ध
कल्पना घिमिरे
न्यूयोर्क
अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी र नेपालको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले एकअर्कालाई भगिनी सम्बन्ध कायम गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
इन्द्रावती गाउँपालिकालाई औपचारिक रुपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलले गत डिसेम्बर १९ मै काउन्सिल रिजोलुसन पारित गरेको थियो । त्यसैअनुसार गत बिहीबार दुबै शहर र गाउँ प्रतिनिधिहरु भेला भई सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गर्दै आठ बुँदे सम्झौता गरेका छन् । दुई शहरबीच शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रशासनिक साधनस्रोत, सुशासन, खेलकुद लगायत क्षेत्रमा आदानप्रदान गर्ने सम्झौता भएको छ । 
यस विशेष समारोहमा सहभागी हुनका लागि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ एक साता अघि मात्र अमेरिका आइपुगेका हुन् । विगतमा अमेरिकामा लामो समय बसोवास गरेका इन्द्रावती गाउँपालिका प्रमुख तामाङ स्थायी रुपमा अमेरिका छाडेर नेपाल फर्किएका थिए । 
जर्सी सिटी मेयरकी सल्लाहकार विष्णुमाया परियार लगायतको पहलमा नेपालको गाउँपालिकासँग अमेरिकाको एक शहरले भगिनी सम्बन्ध कायम गर्न सफल भएको हो । अब नेपालको स्थानीय निकायसँग अमेरिकी स्थानीय निकायले सहकार्य गर्ने बाटो खुलेको छ । नेपालको गाउँ संग सम्बन्ध गांसिए संगै अब नेपालको झण्डा जर्सी सिटीको एक्सचेन्ज प्लेटमा राखिने छ ।
जर्सी सिटीका मेयर फुलप नेपालको गाउँपालिकासँग शिक्षा, विकास निर्माण लगायत विषयमा औपचारिक रुपमा साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे । र, आगामी दिनमा दुबै पक्षले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङले यस्तो कार्यको थालनीबाट नेपालले शिक्षा, सांस्कृतिक र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गरेका थिए ।
 
 
 
    
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग