निकिताले छाडिन् चलचित्र विकास बोर्ड

 निकिताले छाडिन् चलचित्र विकास बोर्ड
 
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठक आइतबार बस्यो । बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो  । तर, त्यहि बैठकमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भइन् । पछिल्लो समय रवि लामिछानेसँग विवाह गरेर चर्चामा आएकी निकिता बैठकमा नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा निकितालाई वर्खास्त गर्ने तयारीमा थिए ।  निकितासँग रुष्ट बनेका मन्त्री बाँस्कोटाले खबर गर्दा पनि अटेर गरी अनुपस्थित भएको भन्दै पौडेलसँग कडा स्पस्टिकरण सोध्न निर्देशन दिएका थिए ।  मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएको सुइको पाएपछि निकिताले आज हतारहतारमा राजिनामा दिएकी छिन् । केही समय अघि मात्रै यही सरकारले हटाएकी निकिता सर्वोचको आदेशपछि पुनः बहाली भएकी थिइन् । फेरि पनि सरकारले हटाउने तयार गरेपछि निकिताले विज्ञप्ति नै निकालेर राजिनामा दिएको जानकारहरु बताउँछन् । 
 
निकिताको विज्ञप्ति यस्तो छ  
 
भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु।खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।
 
योसगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन्। यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय(सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ।
 
सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु। बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्।
 
यो छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु। मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु।
 
साथै नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको सम्योजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु। यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराकोपनि जानकारी गराउदछु। चलचित्र बिकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु। यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन। मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग