एन आर एनको तस्बिर र अमेरिकी एन आर एनको मौसमी सक्रियता

एन आर एनको तस्बिर र अमेरिकी एन आर एनको मौसमी सक्रियता
दधिराम खतिवडा
 
गैरआवासीय नेपाली संघले गत २०१८ को अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवम् सुझावहरु सरकारलाई बुझाएको थियो । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवसरमा गैरआवासीय नेपाली संघले आर्थिक लगानी सँगसँगै ज्ञान, सीप प्रविधिलगायतका बहुबिधामा मुलुकमा लगानी भित्र्याउन पहल गरिरहेको छ । संघका प्रतिनिधिमण्डलले बुझाएको सुझावहरुलाई अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको आश्वासन प्रधानमन्त्रीले दिएका थिए ।
विज्ञ सम्मेलनको सारांश र सुझाव नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धिका लागि सरकारसँग सहकार्य गर्न एनआरएनले जोड दिइएको छ । भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले अघि सारेका कार्यक्रमको सफलताका लागि संघले सहकार्य गर्ने समेत सुअवसर रहेको छ । 
विभिन्न कार्यपत्रहरूमा विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने, विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा निरन्तर नेपाल सरकारले विज्ञहरुबीच छलफल र द्विपक्षीय परामर्श बहस गर्नु जरूरी छ । 
पछिल्लो समय विभिन्न मुलुकमा रहेका नेपालीहरूको हितका लागि गैरआवासीय नागरिकता दिनुपर्ने नीतिगत लबिङ, वैदेशिक रोजगारमा गएका नेपाली र सानो स्तरमा लगानी गर्ने गैरआवासीय नेपालीलाई भन्दै १० अर्ब रुपैयाँको पूर्वाधार विकासका लागि इन्भेष्टमेन्ट कम्पनी खोल्ने र शेयर जारी गर्ने लगायतका कार्यक्रमको समीक्षा एवम् आगामी रणनीति तयार गर्नेछ । त्यस्तै कृषि, उद्योग, पर्यटन, शिक्षा, प्रविधिलगायत बहुआयामिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता स्वीकारयोग्य छन् । सरकार आवश्यक सहकार्य गर्न पछि हटेमा अवसर गुम्ने खतरा देखिन्छ  ।
 
ज्ञान, सीप, रेमिट्यान्स
 
नेपालबाट अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान, व्यवसाय र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सीप र क्षमतालाई नेपाल र नेपालीको कल्याणकारी सामाजिक हितमा जोड्न एकजुट भएर छलफलमा लागेका छन् । गतसाता वासिङ्टन राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा कार्यपत्र प्रस्तुत गर्दै आफूहरूले प्राप्त गरेको ज्ञान, सीप नेपालको विकास र समृद्धिका लागि खर्चिनुपर्नेमा जोड दिएका छन् । नगद मात्र रेमिट्यान्स नभएर अमेरिकामा प्राप्त ज्ञान, सीप रेमिट्यान्स पनि माइक्रोसफ्टको हेड अफिसमा आयोजित एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेलामा प्रस्तुतीको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । अमेरिकामा आर्जन गरेको सीप, क्षमता र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता लागि एनआरएनले अगुवाइ गरिरहेको छ ।
अवसर, कुर्सी, चुनाव र भाषण मात्र रुचि भएकाहरूको एनआरएनमा बोलवाला हुन्छ भन्ने आममानिसको बुझाइलाई यस सकारात्मक कार्यक्रमले फरक सन्देश दिने नै छ । ज्ञान अनुभव  र विज्ञता भएका नेपालीहरूको साथले एनआरएन अमेरिकाको छवि माथि उठाउन सहयोग पुग्ने अपेक्षा छ । 
एनआरएन अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिङ कन्फरेन्स नाम दिइएको यो भेला एनआरएन अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिङ्टन च्याप्टरको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
विषयवस्तु र विज्ञहरूको प्रस्तुतीमा रुचि भएका सियाटल वरपरका नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम हो ।
एनआरएनको स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा गर्ने तयारी भइरहेको छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठूलो संख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सीप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ । नेपालको विकास र समृद्धिका लागि अमेरिकामा विज्ञहरुको भेला, छलफल र नेपाल सरकारबीचको सहकार्य अपरिहार्य छ । 
 
गैरआवासीय नागरिकता 
 
हालै नेपाल सरकारद्वारा संसद्मा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ लाई परिमार्जनसहित राज्य व्यवस्था तथा सुशासन समितिबाट संशोधन प्रस्ताव स्वीकृत भएको छ । उक्त प्रस्तावमा गैरआवासीय नेपाली संघले प्रस्तुत गरेका केही सुझावहरू अटाएका छन् । विदेशस्थित नेपाली नियोगबाट उपलब्ध गराउन नसके पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यालय नै जानुपर्ने झन्झटिलो व्यवस्था जटिल देखिन्छ । यद्यपि, परदेशमा बस्ने नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता लिन पाउने पहिलो प्रावधान स्वीकारयोग्य छ । अब गैरआवासीय नागरिकता बाहकले राजनीतिक अधिकार र राहदानी पाउने छैनन् । 
नेपालीहरु रोजगारी वा कामकै लागि यूरोपसहित विश्वका विभिन्न १९० वटा देश पुगेका छन् । कतिपय मुलुकमा अधिकांश नेपाली प्रवासी नागरिहरू कागजपत्रविहीन हुँदा अवैधानिक रूपले नारकीय जीवन बिताउन बाध्य भएका छन् । न त नेपाल फर्कन सजिलै पाउँछन् न त प्रवासमा नै स्थायी बसोवास गर्न । नेपालको नागरिक भएपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको भए तापनि अन्य नेपाली नागरिकसरह नागरिकता प्राप्त गर्न पाउनु उनीहरूको मानवअधिकार हो ।
नेपालको संविधान २०७२ को धारा १४ बमोजिम विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यहोरा व्यवस्था उल्लेख छ । सो प्रावधान अब छिट्टै कार्यान्वयनमा आउने अपेक्षा गर्न सकिन्छ ।
गैरआवासीय नेपालीले नेपाली नागरिकसरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलले लामो समयदेखि माग पनि गरिरहेका थिए । संवैधानिक व्यवस्था हुँदाहुँदै हालसम्म कार्यान्वयन हुन नसक्नु आफैँमा दुर्भाग्यपूर्ण छ । 
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागिसमेत सरकारले गैरआवासीय नेपालीलाई त्यहीअनुरुपको सेवासुविधा दिनुपर्छ । नेपाल राष्ट्रको पहिचानका निम्ति गैरआवासीय नागरिकता दिने व्यवस्थालाई सहज र सरल बनाउन नीतिगत प्रावधान अपरिहार्य छ ।
 
एनआरएनको चुनावी चहलपल
अमेरिकामा रहेका नेपालीहरूको छाता संस्था भनिने गैरआवासीय नेपाली संघ अमेरिकामा आगामी कार्यकालका लागि चुनावी अभियान सुरू भएको छ । यतिबेला खासगरी आगामी नेतृत्वका आकांक्षीहरू सप्ताहान्त पारेर बाक्लो नेपाली डायस्पोरा रहेका सहरमा पुगिरहेका छन् । मेम्बरसिप ड्राइभ भनिने यो अभियानलाई कतिपयले पेनड्राइभबाट सदस्यहरूलाई बाहिर निकाल्ने अभियानका रूपमा बुझिरहेका छन् ।
यसो त अमेरिकामा रहेका गैरआवासीय नेपालीमा सुरूदेखि नै यो अभियानप्रति त्यति पोख्त चासो पनि देखिँदैन । अमेरिकामा आएका नेपालीहरूको प्राथमिकता र चरित्र बाँकी गैरआवासीय नेपालीको भन्दा फरक भएकाले पनि त्यसो भएको हुन सक्छ । नेतृत्वमा एउटै अनुहार दोहोरिरहने प्रवृत्तिले पनि एनआरएन अमेरिकामा कुनै नयाँपन देखिएको छैन । यो वासीपनका कारण पनि धेरैलाई सदस्यता लिने जाँगर नचलेको हो भनेर अनुमान लगाउनेको पनि कुनै कमी छैन ।
अर्कोतर्फ अमेरिकामा यो अभियान सुरूका दिनदेखि नै विवादास्पद रहँदै आएको छ । खासगरी पेनड्राइभ सदस्य अभियान चलाएर चुनाव जितेको लगायतका आरोप लगाएर वर्तमान नेतृत्वविरूद्ध मुद्दा–मामिलासम्म चलेको र त्यसपछि पनि यो समस्यालाई विशेष ध्यान दिएर सम्बोधन नगरेकाले धेरै मानिसको मन मरेको जस्तो देखिन्छ । यसअघि, ‘एक पटकलाई हेरौं न त’ भनेर सदस्य बनेकाहरू पनि ‘देखियो’ भनिरहेका छन् । यसपटक पेनड्राइभ सदस्यताको पटाक्षेप गरी दूधको दूध पानीको पानी छुट्याउने गरी गैरनेपाली मूलका विज्ञले चलाएको संस्थाद्वारा मेम्बरसिप थर्डपार्टी भेरिफिकेसन गर्नेसम्मका निर्णयहरू वर्तमान कार्यसमितिले गरेको छ ।
सदस्यता छानबिनलगायतका कुरामा यसअघि पनि नीति बनेकै हुन् तर नीतिभन्दा नियत खराब भएपछिको परिणाम एनआरएन अमेरिकाले भोग्दै आएको छ । नेतृत्वमा एउटै अनुहार दोहोरिरहने प्रवृत्तिले पनि एनआरएन अमेरिकामा कुनै नयाँपन देखिएको छैन । यो वासीपनका कारण पनि धेरैलाई सदस्यता लिने जाँगर चलेको छैन । दलीय भगिनी संस्थाका रूपमा होइन एनआरएन तमाम प्रवासी नेपाली र नेपालप्रति उत्तरदायी हुनुपर्छ ।
 
प्रवासी श्रमिकका पीडा 
अमेरिकामा नेपाली समाजको हित गर्छु भन्ने केही अगुवाहरूबाट नै ती नेपाली पीडित हुन पुगेका छन् । आफूलाई ठूलो समाजसेवी भन्न रुचाउनेहरूले, सुन्दर भविष्यको सपना देख्दै लाखौँ खर्चेर जोखिम मोल्दै आएका आफ्नै मुलुकका दाजुभाइलाई ‘मुर्गा’ बनाएको देख्दा मन कटक्क खाँदो रहेछ ।
नेपालमा वैदेशिक रोजगार विभागले प्रत्येक दिन करिब १७ सय नेपालीहरु कामका लागि विदेसिने गरेको बताउँदै आएको छ । जसअनुसार ३० लाखभन्दा बढी नेपाली अहिले रोजगारीका सिलसिलामा विदेशिएका छन् । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु, मलेसिया, दक्षिण कोरिया, युरोप, अमेरिका लगायत हुन् । नेपालीहरु कामकै लागि यूरोपसहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पूरै देशकै आयस्रोतमा व्यापक बढोत्तरी भएको छ ।
रोजगारी र जीविकोपार्जनका लागि दुनियाँभर आप्रवासी श्रमिकहरू अथाह पीडामा बाँचिरहेका छन् । गैरआवासीय नेपाली संघले दैनिक मजदुरहरूको हितमा काम गर्न सकेको छैन । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको भए तापनि मजदुर श्रमिकको हित हुन सकेको छैन । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चततासम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीतिक दलहरुलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । 
आप्रवासीहरु जुन देशमा पुगेको हो त्यही देशको कानुनअनुसारको सेवासुविधाको मान्यता पाउनुपर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ । आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरुले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर पनि उत्तिको संघर्ष गर्दै आएका छन् । 
संयूक्त राष्ट्रसंघको ६८औँ साधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साका रुपमा अङ्गीकार गरिएको छ । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । 
आप्रवासी कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, न्यून पाउने, असुरक्षित, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने, बेपत्ता हुनेजस्ता गम्भीर मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।
आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल, प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार अपरिहार्य छ । एनआरएनले आप्रवासी कामदारको पीडामा मल्हमपट्टी लगाउन सक्नुपर्छ । 
 
प्रवासीको योगदान
एक दशकसम्म देश जर्जर द्वन्द्वमा फस्दा होस् वा चरम भ्रष्टाचारले गाँजिदा पनि विश्वलाई नै चकित पार्ने नेपालको आर्थिक अवस्था तिनै प्रवासीको रेमिट्यान्सले धानेको छ । विदेशमा ज्ञान र सीप सिकेर जन्मभूमि फर्कनेहरू पनि व्यापक देखिन थालेका छन् । तर मुलुकको राजनीतिक अवस्थाका कारण अझै पनि विदेसिनेको संख्यामा कमी आउन सकेको छैन । देशमा ठूलै राजनीतिक परिवर्तन भए पनि भ्रष्ट्राचार र बेरोजगारीको चरम समस्या छ ।
 
हाल– टेक्सास, अमेरिका
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग