न्यूयोर्कमा नयाँ नेपाली

न्यूयोर्कमा नयाँ नेपाली
अच्युत सिग्देल
मुम्बईको चालीस तल्लामा महिनौं बिताएर न्यूयोर्कको गगनचुम्बी अपार्टमेन्टको टुप्पोबाट कफी तान्दै न्यूयोर्क हेर्ने कल्पना त सपनामा नै रह्यो । माग्नेलाई तातो भात के पाइन्थ्यो ? उडसाइडको चौथो तल्ला कार्पेटले पूरा ढाकिएको अपार्टमेण्ट १९३० तिर बनेको हुनुपर्छ । तल बंगालीले तारेको माछाको सुमधुर वासना ढोकासम्म आउँथ्यो । दादा... बंगाली ढोका, चोटा र बाटोमा सोधिरहन्थे । ऊ ‘नाई मेड इन नेपाल हमी’ भन्दै पन्छिन्थ्यो । तर, सौहार्दता र एकताको मिसाइल नै मान्नुपर्छ बाङ्ला समाजलाई । 
युवा नेता एण्डीसहित आठ जनाको अमेरिकी घर थियो । उनी फरासिला र सहयोगी थिए । जागिर लगाइदिने, कोठा खोजिदिने काम गर्थे । चर्चितहरूको वासस्थान भएकाले आउने–जाने असंख्य मात्रामा भइरहने । को कहाँ सुत्ने थाहा नै थिएन । एण्डीको एक बेड सुरक्षित हुन्थ्यो तर पनि मान्यजन आउँदा उनी पनि फ्लोर नै रोज्थे । को घरधनी र को पाहुना ठम्याउन नै नसकिने ! पूरा राजनीति कार्यालय जस्तो हरेक दिन नयाँ मान्छे र नयाँ विचार बोकेर आउँथे । दर्शन र नीतिका ठूला ठूला गफ चल्ने । जसको भरोसामा न्यूयोर्क आएको उहाँलाई नै घर छोड्ने सूचना दिइएको रहेछ । नेपाल फर्कने भनेकाले जो–कोही अस्थायी रूममेट राख्न नै नचाहने । जसको भरोसामा न्यूयोर्क आएको उसको नै भरोसा रहेनछ । मुल्लाको दौड मस्जिद तक भनेझैं एक–दुई महिनाका लागि भनेर नजिकैको नेपाली साथीको लिभिङरूममा बस्ने व्यवस्था मिलाइयो । महिनाको ३५०, खाना आफैँ खानु पर्ने । नेपाली रूपैयाँ कन्भर्ट गर्दा त किन निद्रा पथ्र्यो होला र उसलाई ? तर अलि अलि विदेश घुमिसकेकाले एडजस्ट गर्न खासै गाह्रोचाहिँ परेनछ । 
उसको नेपालबाट बेच्न ल्याएको नमुना सामान एक झोला बाँकी नै थियो । क्रेताहरू हुँदाहुँदै पनि न्यूयोर्कमा नेपाली बजार हेर्ने रहर र धेरै पैसा कमाउने लोभमा सामान नबेची न्यूयोर्क ल्याएको थियो । पछि झोलामा स्याम्पल बोकेर बजार–बजार चहार्दा थाहा भयो कि न्यूयोर्क कति गाह्रो रहेछ ! न्यूयोर्कको फुटपाथमा कस्मिरे पस्मिनाहरू ४१० मा पाइने रहेछ । माला र क्युरियो सामान त चाइना टाउनतिर नेपालकै मूल्यमा बेच्दा रहेछन् । स–साना र चिटिक्क परेकाले थाङ्का चाहिँ चाँडै नै बिकेकाले उसलाई न्यूयोर्क घुम्न र एण्डीसँग आमोद–प्रमोद गर्न आर्थिक समस्याचाहिँ परेन । 
न्यूयोर्क संसारको राजधानी कमिलासरी हिँड्ने मान्छे । अफिस टाइममा त मान्छे–मान्छे नै ठोकिएला भन्ने डर । यहाँ अवतरण गरेपछि उसलाई ज्ञान भयो– किन अमेरिका अमेरिका भन्दा रहेछन् मानिसहरू ? कति उच्च खानदान र स्तरीय नेपालीहरू पनि अमेरिका भासिंदा रहेछन् । सरकारी हाकिम, प्रहरी हाकिम, आर्मी मेजर, डीएसपी, एअरलाइन्सका बोसहरू, ट्रेकिङ र ट्राभल साहुजीहरू सबै ज्याक्सन हाइट्सतिर ठोकिन थाले । हिरो, हिरोइन, कलाकार, पत्रकार सबै बराबर । क्लिन्टनले दिएको एम्नेष्टी पाएर ग्रीनकार्ड पाउनेहरूको पार्टी, कसैको लेबर आएको भोज, वर्क परमिट पाउनेको ट्रिट, डीभी परेर आउनेहरूको सान, पेपर नबनेर झोक्राएकाहरूको गुनासो । मजाले दाल, भात र लुइँचेको झोलसँग, मुलाको अचार डकार्न पाइने, भगवान भण्डारी र नवराज घोरासैनीको दोहोरीमा नाच्न पाइने । तीज पार्टी, दशैं पार्टी, नेवारी भोज, तिहारको भैलो । उसलाई न्यूयोर्क अमेरिका नै लागेन । काठमाडौंको कुनै कुना जस्तै थियो । 
कसैले खान बोलाउँदा तामाको झोल, गुन्द्रुक, मोमो, रायोको साग, टमाटर र पुदिनाको चट्नी टुट्दै नटुट्ने । बियर र क्यान कोक झण्डै उस्तै मूल्य, कतिपय साथी त वडवाइजरबाट नै सुबह मंगलम गर्थे । घरघरमा ठूला टिभी, ज्याक्सन हाइट्सबाट भीसीआरमा बलिउड, कलिउड हेर्न पाइने । देश बाहिरको सानो देश नै रहेछ न्यूयोर्क । 
आए गए माया मोह, बसिराखे माटो मोह । अन्तरंगी मित्रसँगको उठबसले बिस्तारै उसको नेपाल मोह र व्यापारतिर ध्यान कम हुन थाल्यो ।  दुई चार महिना यसो कहीँकतै घण्टा हान्नु पाए टिकटको पैसा पनि उठ्ने लोभ पलाउन थाल्यो उसलाई । काम पाउन त निक्कै गाह्रो थियो । रेष्टुरेण्टतिर काम गर्ने प्रायः सबै जना रेष्टुरेन्ट धेरै कठिन काम हो भन्थे । पेपरबिना काम पाए पनि स्टाटस बिग्रने डर हँुदोरहेछ । उसको मार्केटिङ त बाँकी नै थियो । अमेरिकी कन्ट्रीसाइड राम्रै देखेको उसलाई शहरी जीवन जान्ने उत्सुकता धेरै थियो । एक दिन कुरैकुरामा धेरै नजिक भएको दोस्ती एण्डीसँगै कामका बारे कुरा राख्दा र सँगै बस्ने लि ब्रुसलीले दुईचार वटा ठेगाना टिपाए र उनैको सल्लाहमा काम खोज्न गयो । गज्जब मजाको मान्छे थिए लि । 
बिनापेपर र नयाँ ठाउँ अलि कति हेजिटेसन त थियो नै, तर पनि कलकता ट्राभल फेयरमा काम माग्न आउने केटीहरूसँगको कार्य अनुभवले उसलाई हौसला दिन्थ्यो । ज्याक्सन हाइट्सतिर धेरै रेष्टुराँ हुने र त्यहाँ जादा काम पाइने सल्लाह मिलेकाले एक दिन सेतो सर्ट र कालो पाइन्ट भिरेर हिँड्यो ऊ कामको खोजीमा । यहाँ  मिस्टेक भइहाल्यो ७४ स्ट्रीट झर्नुपर्ने थाहा नपाई ऊ ८२ स्ट्रिट झरेछ । ट्रेन स्टेसनमुनि लाइन लागेर बसेका स्पानिस केटाहरू उसको पछि लागे । लक्की लक्की, मिरा मिरा लक्की लक्की उसलाई अलि अलि स्पानिस आउँथ्यो । उसले सोध्यो– कमोस्ता ए तु, के केइरे ?
तिनीहरूले सोधे–  चिका अमिगो, तु केइरे ? जो तेङ्गो चिकास मुच्चा वोनितास...
उसलाई जान्ने रहर लाग्यो, नो पुलिसिया, नो प्रोब्लोमा ?
स ना, नादा, इन कासा, एन एल ला एपार्तामेन्ता 
उसले सोध्यो– क्वान्तोस ?
पारा रेगुलार क्वारेन्ता, पारा ती त्रियान्ता ।
उसले यो गुस्ता त्रावाखो, यो नो तेङ्गो देनेरो भनेर त्यहाँबाट तर्कन खोज्यो । टाइम वेस्टिङ कुराकानी गरेकोमा त्यो स्पेनिस केटो बेजोड रिसायो, कुटौला जस्तो ग¥यो । 
चर्की चर्की करायो ।
..ङ्गा तु माद्रे, पुतो इन्दियानो, तु मारिकोन भन्दै, तुगान्धी । गलत ठाउँमै भए पनि गान्धी र इन्डिया त चिन्दा रहेछन् । ऊ अर्कोतिर लाग्यो । 
वाह अमेरिका ! दिनदहाडै बाटोमा नै देह व्यापारीको दोकान थापिँदो रहेछ । नेपालमा होटल होटल छापा मारेर खोज्नुपर्छ पुलिसलाई यता त बाटोमै टन्न् छन दलालीहरू । उसले मनमनै माथेमा सर सम्झ्यो । उहाँलाई स्पानिस नजान्ने मान्छे किन अमेरिका आएको ? भनेकाले उसलाई दुईचार शब्द भए पनि स्पेनिस सिक्नु भनेकाले उसले एक महिना स्पेनिस क्लास लिएको थियो । तर गलत ठाउँमा काम लागेर चाहिँ झण्डै कुटाइ खानु परेको । साँझ घर फर्केर काम खोज्दाको बेलिबिस्तार लगाउँदा खुबै हाँसो चलेको थियो ।
भोलि पटक शुक्रबार बिहानै एउटा इन्डियन रेष्टुराँमा मान्छे चाहिएको खबर आयो । ट्रेन लिएर फटाफट गएको गलत ट्रेन पो परेछ । दुई तीन ब्लक तल पु¥याइदिएछ । ट्याक्सी लिएर अन्तरवार्ता पुग्दा पाँच मिनेट ढिला भएको थियो । तर, हाकिम मोटे मोटे नेपाली रहेछन्, नो प्रोब्लेम दाइ भने, ऊ ढुक्क भयो । 
अन्तरवार्ताको पहिलो शर्त नै काम जानेको हुनुपर्ने भएकाले उसले सजिलै भनिदियो । मलाई काम आउँछ, नेपालमा रेष्टुराँ छ । परिआए म सबै म्यानेज गर्न सक्छु । उसको कन्फिडेन्ट देखेर नेपाली सरले नै हायर गरे । नजिकै इन्डियन सर गौर गरेर हेर्दै थियो । 
ऊ भोलि बिहानै ९ बजे जागिर पुग्यो । एक घण्टा अगाडि पुगेकाले काम सिकाउने बहाना गर्दै । चम्चा काँटा पुछ्ने, प्याज छोडाउने काम दिइयो । कसैले कामको प्रकृति नसिकाउने काम बिगारे तालु सेकिने गरी गाली गर्ने यो चाहिँ नियती नै रहेछ अमेरिकामा । सहकर्मी सिनियर जसलाई चिफ भनिदो रहेछ उसले जागिरको चार सूत्रीय आचारसंहिता सिकायो । 
१, कहिल्यै अगाडि नरिसाउने, मुख नफर्काउने 
२, हुन्न नभन्ने, सधैं १५ मिनेट पहिला आउने 
३, सेफ, भान्सेलाई चनाको बोटमा चढाउने, मान्ने
४, आफूलाई रात्रिबसको खलासी सम्झने 
उसलाई पहिलो दिन हेर्ने मात्र काम दिइएको थियो । तर १०० जना जति त हजुरबुबाको तिथिमा नै खाना खुवाएको अनुभव थियो । आफूले रेष्टुराँमा खाएको अनुभव थियो । पछि परे पछि परिएला, काम नगरे हेप्लान्, उसले नजिकै पानीको जग देख्यो । जहाँ–जहाँ पानी सकिन्थ्यो, हाल्दै गयो । पन्जाबी मेनेजर उसको लगावको फ्यान भइहाल्यो । बेलुकी उसलाई भान्सामा तानियो । फुड रनरको परीक्षणस्वरूप ठूलो ट्रेमा पाँच वटा सुप राखेर मेनेजरले भन्यो– ‘बेटा ए हे तेरा रियल इन्टरभ्यु एक ड्रप भी गिराएगा न, तेरा नोकरी गया...’
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार