कीर्तिपुरमा युद्ध स्मारक र नागार्जुनमा गणेशमान स्मृति पार्क, ९ नगरपालिकालाई महानगरको एक–एक करोड

कीर्तिपुरमा युद्ध स्मारक र नागार्जुनमा गणेशमान स्मृति पार्क,  ९ नगरपालिकालाई महानगरको एक–एक करोड
माघ २८, २०७५
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने तयारीसहित संघीय सरकार लागि रहेका बेला नेपालको सबै भन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आफ्ना योजनाहरु अघि बढाएको छ । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकको पहिलो गन्तव्य नै काठमाडौँ हुने भन्दै काठमाडौँको समग्र पर्यटन प्रवद्र्धनमा महानगरपालिकाले जोड दिएको हो । पर्यटन प्रर्वद्धनसँगै  छिमेकी १० नगरपालिकालाई पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी काठमाडौँ महानगरपालिकाले एक–एक करोड उपलब्ध गराएको हो । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौँका ९ ओटा नगरपालिककालाई काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले एक–एक करोडको चेक  हस्तान्तरण गर्दै आन्तरिक र धार्मिक पर्यटककलाई समेत आकर्षित गर्ने गरी काठमाडौँको पर्यटन विकासका लागि नगर–नगरबीच साझेदारी आवश्यक भएको बताए । काठमाडौँमा रहेका कीर्तिपुर नगरपालिका,कागेश्वरी–मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकालाई काठमाडौँका मेयर शाक्यले एक–एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।  टोखा नगरपालिकालाई यस अघि नै महानगरपालिकाले एक करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।  चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघीय संसद सदस्यकृष्ण गोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले उपत्यकाको एकीकृत विकासका लागि गरेको उदाहरणीय काम भएको बताए । उनले महानगरले उपलब्ध गराएको सहयोग सही ठाउँमा सदुपयोग हुनेमा आफू विश्वस्थ रहेको भन्दै विकासलाई राजनीतिक चस्माभन्दा माथि राखेर हेर्नुपर्छ भने ।
 
कार्यक्रममा वोल्दै मेयर शाक्यले छिमेकी नगर समृद्ध  नभई महानगर एक्लै समृद्ध हुन सक्दैन भन्दै  एक करोड रुपैयाँ थोरै भए पनि नगर—नगर साझेदारिताको यो पहिलो प्रयास भएको बताए ।  उनले  काठमाडौँका सबै नगरपालिका एकै ठाउँमा बसेर साझा उदेश्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु निकै उत्साहजनक कुरो भएको बताए ।  उनले काठमाडौँका नगरपालिका मात्रै नभएर उपत्यकाको समग्र विकासका लागि पनि प्रयासहरु जारी रहेको बताए ।  उनले फोहोर व्यवस्थापन, पूर्वाधार विकास जस्ता कुरामा पनि उपत्यकाका सबै नगरपालिका एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधान बमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ । सम्झौता अनुसार नगरले प्राप्त गरेको रकम महानगरलाई व्याजसहित फिर्ता गर्नु पर्नेछ । महानगरका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौंका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि खर्च गर्ने योजना महानगरमा पेश गरेको जानकारी दिए । २ वटाले धाम निर्माण गर्ने योजना अघि सारेका छन् । कीर्तिपुर नगरपालिकाले प्राप्त रकमबाट वडा नं.१, २ र १० क्षेत्र समेट्ने गरी ‘युद्ध स्मारक पार्क’ निर्माण गर्ने योजना पेश गरेको छ । करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण गरिने यस पार्कमा घेरा पर्खाल, हरियो उद्यानसहितका संरचना हुनेछन् ।
 
त्यसैगरी महानगरबाट प्राप्त सहयोगबाट शंखरापुर नगरपालिकाले वडा नं.९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्ने भएको छ । यस परियोजनामा मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा पर्खाल, वनभोज क्षेत्रमा छहारी, सवारी साधन पार्किङ्ग स्थल हुनेछ । यो परियोजना मन्दिरको पूर्वतर्फ बाटो, पश्चिमतर्फ मन्दिर र जङ्गल, उत्तरतर्फ बाटो र जङ्गल, पश्चिम तर्फ बाटो गरी करिब १०० रोपनी सार्वजनिक जग्गामा बिकास गरिनेछ । कागेश्वरी नगरपालिकाको वडा नं.१ मा रहेको प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गर्ने कागेश्वरी नगरपालिकाको योजनामा उल्लेख छ । परियोजनाका लागि उत्तरमा सहिद पार्क, दक्षिणमा अड्डा पाटी, पूर्वमा गागल फेदी र पश्चिममा ढकाल गाउँको सीमा भित्रको करीब ५५ रोपनी जग्गालाई लिइनेछ । गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समिति बीच मिति २०७५ माघ ८ गते भएको सम्झौता अनुसार वडा न.९ जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गरिनेछ । यसभित्र ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङ सहितको अपाङ्गतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथिएटर, चिन्तन मनन बगैंचा, फूल बगैंचा, जगिङ्ग ट्रायल, अन्तरक्रिया कक्ष, सेवा कक्ष, गार्ड कक्ष, बगैंचाको सामानहरुको भण्डारण कक्ष, शौचालय र खाजा÷खाना खाने क्षेत्र र जनावरको पार्क भित्र प्रवेश रोक्नको लागि वरपर हरियो झाडीको छेकबार सहितको संरचना निर्माण गरिनेछ ।
 
बुढानिलकण्ठ नगरको वडा नं.८ हात्तीगौडामा बुढानीलकण्ठ पार्क निर्माण गर्ने योजना छ । तारकेश्वर नगरपालिकाले वडा नं.३ धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्नेछ । चारैतिर सार्वजनिक जङ्गल रहेको भूमागको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुने यस धाममा महादेव, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, धामसम्म आवत जावत गर्ने बाटा, सिँढीहरु तथा वरपर हरियाली क्षेत्र बिकास हुनेछ । त्यस्तै नागार्जुन नगरपालिकाले वडा नं.६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्ने प्रस्ताव महानगरमा पेश गरेको छ । पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक बन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्ला भित्र करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्कको प्रस्ताव गरिएको हो । आधुनिक तथा मौलिक पार्कमा नागार्जुन नगरपालिकाको वडा १ देखि १० मा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, प्राकृतिक बिशेषताहरु झल्कने आकृतिहरु तयार गरिनेछन् । त्यस्तै गणेशमान सिंहद्वारा बृक्षारोपण भएको यस क्षेत्रको उचित संरक्षण गरी गणेशमान सिंहको शालिक स्थापना गर्ने तथा उहाँको जीवनीका मूलभूत अवस्थाहरु उल्लेख हुनेछन् । यसका अतिरिक्त पृथ्वीनारायण शाहले उपत्यका बिजय गर्दा प्रवेश मार्गको रुपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तित्वहरुका पहिचान, घटस्थापनामा गोर्खाबाट हनुमानढोकामा फूलपाती ल्याउने मार्ग बारे यथोचित सूचना सम्प्रेषण गर्ने तथा अनुसन्धानमूलकमा सहयोग पु¥याउने रमणीय स्थान बनाइनेछ । चन्द्रागिरी नगरले वडा न. १३, कंकाली मन्दिर परिभ्रमण क्षेत्रमा पर्या–पर्यटन एवम् ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ । पूर्वतर्फ दण्डा गाउँ, पश्चिमतर्फ इन्द्रधारा सडक, उत्तरतर्फ नागार्जुन नगरपालिकाको सिमाना र दक्षिणतर्फ लम्साल गाउँभित्र यो क्षेत्र रहनेछ । यसको क्षेत्रफल करीब २६ रोपनी हुनेछ । दक्षिणकाली नगरपालिका वडा न. ५ मा रहेको गोरखनाथ मन्दिरबाट करिब ३०० मिटर माथिसम्म परम्परागत सिँढी, गोलाई आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खालसहितको संरचनालाई यस नगरले प्रस्तावका रुपमा महानगरमा पठाएको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार