प्रचण्डको पत्नी सहित अमेरिका जाने मुड

प्रचण्डको पत्नी सहित अमेरिका जाने मुड
विश्व न्युज  संवाददाता,काठमाडौ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा जुटेका छन् । भेनेजुएला प्रकरणले  प्रचण्डको अमेरिका भ्रमण स्थगित भएको थियो । प्रचण्डले अमेरिकालाई प्रहार गरेर विज्ञप्ति निकालेपछि सक्रिय भएको नेपाल स्थित अमेरिकी दूतावास नेपालप्रति नरमपन देखाउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा गएर भेटेका अमेरिकी राजदूत र्यान्डी  डव्यु बेरीले प्रचण्डलाई समेत उनकै निवास
पुगेर भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड परिवारको अमेरिका भ्रमण, समसामयिक
राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भएको छ। प्रचण्डको विप्ज्ञती र त्यस लगत्तै नेपाल सरकारका तर्फबाट आएको विज्ञप्ति प्रति अमेरिकी दूतावासले यसअघिनै असन्तुष्टि जनाएको थियो । त्यति मात्र होइन सरकारले आयोजना गरेको कूटनीतिक नियोगका प्रमुखहरूको भेलामा समेत राजदूत बेरीले दूतावासका एक अधिकारीलाई मात्र पठाएका थिए । प्रचण्डसँगको भेटवार्तामा भने राजदूत निक्कै नरम तरिकाले प्रस्तुत भएका स्रोतको दाबी छ । भेटवार्ताबारे प्रचण्ड निकट स्रोतले भन्यो ‘भेनेजुएला प्रकरणका विषयमा विज्ञप्ति जारी नगरेको भए प्रचण्ड अहिले अमेरिकामा हुने थिए । विज्ञप्तिकै कारणले  पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाने कार्यक्रम रद्द गरेर उहाँ बस्नु भएको थियो । राजदूत बेरीले निमन्त्रणा गरेकाले अब फेरि जाने सोच बनाउनु भएको छ । तर कहिले जाने भन्ने विषय अझै टुंगिएको छैन ।’ प्रचण्ड पत्नीको उपचारकालागि परिवारका चार सदस्य सहित अमेरिका जाने तयारीमा रहेको स्रोतको दाबी छ । चार जनाको भिसा प्रक्रिया भने यसअघिनै टुंगिएको थियो ।
 
नेकपामा भद्रगोल !
नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकार गठन भएको शुक्रवार एक वर्ष पुग्दैंछ । बिहानी ले नै दिनको सङ्केत गर्छ भने झैँ संवैधानिक रूपमा पाँच वर्षे केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली अभियान थालेपनि आम नागरिकमा नैरास्यता बढाएको छ । ठुला ठुला घोषणा गरे पनि त्यसको कार्यान्वयनको पक्षमा ओली सरकार कमजोर नै देखिएको छ । राष्ट्रिय गौरवका आयोजनाको गति सुस्त छ । विकासे आयोजनाको घोषणा मात्र हुने, कार्यान्वयन नहुने रोग बढ्दो क्रममा छ । आँगनमा आउनै लागेको मेलम्ची दुई तीन वर्ष धकेलिने सङ्केत देखिएको छ । महँगी बढेको छ, त्यस अनुरूप आम नागरिकको आम्दानी बढ्न सकेको छैन । विकास खर्च अत्यन्तै कम छ भने चालु खर्च निक्कै बढेको छ । अर्थतन्त्रका विभिन्न परिसूचकहरु घट्दो क्रममा छन् ।
 
चुनावका बेला स्थिर सरकार र विकासको बाढी ल्याउने घोषणा गरेको नेकपा नेतृत्वको वर्तमान सरकारले चुनावी घोषणा अनुसार रहेको वृद्ध भत्ताको कार्यक्रम गठन हुँदा साथ फिर्ता लियो । पूर्वपश्चिम रेलमार्ग, चिनियाँ रेल रसुवागढी हुँदै काठमाडौँ ल्याउने, पेट्रोल उत्पादन गर्ने, आफ्नै देशको पानी जहाज किन्ने, काठमाडौँ उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने, प्रतिव्यक्ति आय निक्कै बढाउने लगायतका दर्जनौँ घोषणा गरेको सरकारले घोषणा कार्यान्वयनका लागि प्रयास समेत गरेको छैन ।
भारतमा मात्र नभएर तेस्रो देशमा समेत नेपालको बिजुली बेच्ने घोषणा गरेको ओली नेतृत्वको सरकारले भारतसँग समेत वार्ता गर्न असफल भएको छ । पटक पटकका प्रयास विफल भएका छन् । स्थायी सरकार भए पनि परराष्ट्र मामिलामा समेत कमजोर देखिएको छ ।
 
ओली र प्रचण्डको विवाद उत्कर्षमा
भेनेजुएला प्रकरणमा प्रधानमन्त्री समेत रहेका नेकपाका एक अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड गएका बेलामा अर्का अध्यक्ष प्रचण्डले अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारी गरेपछि दुई अध्यक्षबिच विवाद सुरु भएको थियो । एक टेलिभिजन कार्यक्रम मार्फत ओलीले प्रचण्ड चिप्लिएर विज्ञप्तिको भाषा फरक भएको भन्दै असन्तुष्टि पोखे । लगत्तै प्रचण्डले ओलीको प्रतिवाद मात्र गरेनन् नयाँ पार्टीको जन्म हुने चेतावनी दिए। दुई अध्यक्षबिचको विवाद उनीहरूमा मात्र सीमित भएन । दुवै गुटका नेताहरूबिच पनि झाँगियो । फलस्वरूप पार्टी एकता अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । पार्टीले बनाएको कार्यदलमा पनि यो विवादले प्रवेश पाएको छ ।
 
भेनेजुएला प्रकरणमा अमेरिकाले निक्कै चासो दिएपनि प्रधानमन्त्री ओली र प्रचण्डले अमेरिकी राजदूतलाई छुट्टाछुट्टै भेटेका छन् । नेपाल र अमेरिकाबिचको चिसिएको सम्बन्धमा सुधार आइसकेको नेकपा नेताहरूले बताएका छन् । विज्ञप्ति काण्डपछि शिक्षामन्त्री, परराष्ट्रमन्त्री लगायतले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसंग पटक पटक भेटवार्ता गरेका छन् । त्यसैले नेपाल र अमेरिकाबिचको सम्बन्धमा आएको चिसोपन हट्न थालेको छ । विज्ञप्तिको बचाऊ र विरोधमा उत्रिएका नेकपाका कार्यकर्ताहरू समेत शान्त भैसकेका छन् । तर एक अध्यक्षले अर्को अध्यक्षलाई विश्वास गर्ने वातावरण भने अझै बनिन सकेको स्वयम् नेकपाका नेताहरूले बताएका छन् ।प्रचण्डको विज्ञप्तिपछि चिसिएको सम्बन्ध सुधारका लागि अमेरिकी राजदूत बेरीले उनलाई अमेरिका भ्रमणको निमन्त्रणा गरेका छन् । नेकपा नेता देवेन्द्र पौडेलले प्रचण्डलाई अमेरिकाले आफ्नो देश भ्रमणका लागि निमन्त्रणा गरेको बताएका छन् । आइतबार राजदूत बेरीले प्रचण्डलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका पौडेलले जानकारी दिए । स्रोतका अनुसार अब भेनेजुएलाका विषयमा दुवै तर्फबाट कुनै पनि विज्ञप्ति नदिने सहमति भएको छ । भेनेजुएला लगायतका पछिल्ला गतिविधिका विषयमा ओली र प्रचण्डबिच पनि पटक पटक वार्ता भएको छ । भेनेजुएला प्रकरण शान्त भए पनि दुई अध्यक्षबिचको विवाद त्यसै शान्त हुने देखिएको छैन । दुई अध्यक्ष अब वारपारको अवस्थामा पुग्ने अवस्थामा छन् ।
 
विवाद किन भयो 
पार्टी एकतापछि दुई अध्यक्षात्मक व्यवस्थामा भए पनि पार्टी र सरकार दुवै सञ्चालनमा ओलीको एकछत्र चलिरहेको छ । सरकार सञ्चालनमा ओलीको एक तन्त्र चलिरहेको छ भने पार्टी एकीकरणमा समेत उनैको कुरा चल्ने गरेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएको ९ महिना पुग्दा समेत एकीकरणले मूर्त रूप पाउन सकेको छैन । एकीकरणको विवाद हल नहुनुको मुख्य कारण ओली र प्रचण्ड भन्दा पनि माधवकुमार नेपालको असन्तुष्टि रहेको छ । प्रदेश
कमिटी गठनमा नेता नेपालले असन्तुष्टि जनाएर सार्वजनिक रूपमै ओली विरुद्ध अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले थपघट गरेरै मिलाउने आश्वासन दिएका थिए । अहिले भने ओलीले प्रदेश कमिटीमा दश प्रतिशत सदस्य थप्ने र अन्य क्षेत्रमा पनि त्यही आधारमा नेपाल पक्षधरलाई समेट्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । त्यसै कारण पार्टी एकताको विषय टुङ्गो लाग्न सकेको छैन ।
 
नेकपा अध्यक्ष ओलीले दश प्रतिशत सदस्य थप्दा आफू पक्षधर सबै ठाउँमा अल्पमतमा पर्ने भएकाले अस्वीकार गरेका हुन । सबै कमिटीमा आफू कमजोर बन्ने गरी एकता प्रक्रिया टुङ्गो लगाउन नहुने निष्कर्षमा ओली पुगेका छन् । प्रदेश कमिटीमा ओलीले आफू पक्षधरलाई मात्र समावेश गरेका थिए ।एका दुई मात्र नेपाल पक्षधरका छन् । अहिले जिल्ला जिल्लाबाट आएका सिफारिस पनि उस्तै प्रकृतिका रहेका छन् । नेपाल पक्षधर जिल्ला अध्यक्ष भएका जिल्लाबाट आएका सिफारिसलाई समेत ओलीले
व्यवस्था गरेका छन् । त्यसैले नेता नेपालले प्रचण्डसँग यो विषयमा पटक पटक छलफल गरेका छन् । एकताका लागि सबैलाई सम्मान गर्नुपर्ने भन्दै नेता नेपालले ओली इतरका नेतासँग छलफल गरिरहेका
छन् ।
 
ओली विरुद्धको मोर्चा बन्दी
सरकारको काममा असन्तुष्टि जनाएका नेकपाका नेताहरूले अहिले ओली विरुद्ध मोर्चा बन्दी सुरु गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले ओली विरुद्ध मोर्चा बन्दी समेत सुरु गरेका छन् । ललितपुरको झम्सीखेलमा ओली विरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा दुई पटकसम्म छलफल भैसकेको छ ।छलफलमा सहभागी एक नेताका अनुसार सरकारका काम, पार्टी एकता र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बताएका छन् । उनका अनुसार पार्टीले ओलीलाई सरकारबाट फिर्ता गर्ने र नयाँ नेतृत्व पठाउन सकिनेसम्मको कुराकानी उक्त गोप्य बैठकमा भएको छ । प्रचण्ड सहितका नेताहरूको छलफल भएको विषय ओलीको कानमा परेपछि नेकपा भित्रको विवाद सतहमा आएको हो  सरकारको काम गराई सुस्त भएको, सरकार पार्टीले सञ्चालन गर्नुपर्नेमा सरकारले पार्टी चलाएको, सरकारी नियुक्तिमा ओलीको एकलौटी भएको, सरकारको क्रियाकलापका कारण आम नागरिक पार्टीप्रति नकारात्मक भएको निष्कर्ष निकाल्दै झम्सिखेल बैठकमा ओलीको विकल्पका विषयमा समेत छलफल गर्ने सहमति नेताहरूबिच भएको छ । तर ओलीसम्म कुरा पुगेपछि मोर्चाबन्दीमा संलग्न नेताहरूबिच विश्वासको वातावरण बनेको छैन । अति गोप्य तरिकाले भएको भेटवार्ताका विषयमा ओलीले जानकारी पाएपछि मोर्चा बन्दी कमजोर साबित भएको छ । चौतर्फी दबाबमा परेका नेताहरूबिचको छलफलले भने ओलीलाई निद्रा नपर्ने निर्णय आउन सक्छ ।
 
त्यसो त सरकारको नेतृत्व साढे दुई वर्ष एक एक अध्यक्षले पाउने गरी यसअघि सहमति भएकाले पनि ओलीका लागि आउँदा दिन सजिला छैनन् । यही गतिमा काम गर्दै जाने अवस्थाले ओलीको मात्र होइन नेकपाकै भविष्य अन्धकारमय छ । आम नागरिकले नेकपा नेतृत्वको सरकार भएको वा नभएको कुनै अनुभूति गर्न पाएका छैनन् । मात्र उनीहरूले जनमत पाँच वर्षसम्मका लागि दिएकाले अबको चुनावमा भने निर्णय गर्ने नै छन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग