ग्याष्ट्रिक, सम्मान र त्याग

ग्याष्ट्रिक, सम्मान र त्याग
 
विनोद रोका,न्युयोर्क 
ग्याष्ट्रिक, सम्मान र त्यागको ओदानबाट म कहिल्यै बाहिर निस्कन सकिन । अनि जहिले पनि यही ओदानमा  जलिरहेको हुन्छु । खोटाङको एउटा सानो गाउँमा जन्मिएको पहाडे ठिटोलाई ग्याष्ट्रिक भन्ने शब्द गाउँघर छाडेर शहर नपसेसम्म थाहा थिएन । उमेरसँगै सपनाहरु थपिन थाले । ती सपना पूरा गर्न तराई हुँदै काठमाडौंमा आएँ । सपनाको संसारमा एउटा सुन्दर भविष्यको परिकल्पना गरें । अनि त्यो परिकल्पना पूरा गर्न ज्यान फालेर कुद्न थालें । रातको निद्रा हरायो । खाएको पच्न्न छाड्यो  । तैपनि आफ्नो गतिलाई रोकिन । किनकि लक्ष्यहरु धेरै टाढा थिए । स्वास्थ्य बिग्रँदै गयो । अनि डाक्टर र वैद्यकहाँ धाएँ । कुनै दबाइले काम नगरेपछि मात्र पो बुझियो ग्याष्ट्रिक भएछ भन्ने । अनि पछि बुझें, यो रोग त नेपालीको राष्ट्रिय रोग नै पो रहेछ । संयोगले केही मित्रहरु भेटिए । जसले यो ग्याष्ट्रिक रोगको उपचार भनेको अपच हुने खानेबस्तु नखानु, भोकभन्दा कम खानु, चिन्ता नलिनु, प्रशस्त पानी पिउनु र ध्यान गर्नु आदि ।
मित्रहरुले भनेको कुराहरु सुन्दा त सामान्य नै थिएँ । अनुभव गर्दा के थाहा भो भने केही खाने बस्तुहरु मेरो शरीरका लागि अनुकूल रहेनछन् । अर्थात्, ती खानाले मलाई एलर्जी हुँदो रहेछ । अनि ती खाना खाँदा मलाई अपच हुने अनि निद्रा नलाग्ने रहेछ । यो निष्कर्ष मेरो शरीरको प्रयोगशालाले दिएको रिपोर्टले देखायो । त्यसैले अपच हुने केही दिन ती खानेकुरा त्यागें । सञ्चो पनि भयो । तर, केही सञ्चो हुनेबित्तिक्कै फेरि तिनै बस्तु खान थालें । मनले थाम्न सकेन । अरुको बचन हार्न नसकेर भन्दै ती बस्तुहरु खाइयो । घर–परिवारका सदस्यले यो खानाले बिसाउँछ भन्दा पनि कहिले अरुको मन राख्न खाएँ, कहिले बिसाउँदैन भनेर चित्तबुझ्दो जबाफ दिएँ । अर्थात् शरीरको कणकणमा जम्मा भएको संस्कार अर्थात् नसाले मलाई बिचलित बनायो । यो ग्याष्ट्रिक भन्ने रोग अमेरिकाको न्यूयोर्कमा आएको करिब २१ वर्ष पुग्दा पनि छुटेको छैन । यसले मलाई प्रायः सताउँछ । किनकि मैले अझै पनि खान नहुने बस्तु पूर्णरूपले त्याग्न सकेको छैन । 
सम्मान पनि मेरा लागि ग्याष्ट्रिक जस्तै रहेछ । त्यो तथ्य मैले आध्यात्मिक गुरुवरहरुको सानिध्य, अध्ययन र ध्यानको अभ्यासको यात्रामा अनुभव गरें । मैले कुनै ठूलो सम्मान त पाएको छैन । तर, नसा भने लाग्दो रहेछ । आखिर खोया बिर्को रक्सी होस् वा ब्ल्याकलेबल दुबैले दिने त नसा नै हो । मैले पाएको सम्मानहरु जे पाए पनि ती मेरा लागि अपाच्य रहेछन् भन्ने महसुस भयोे । किनकि यो सम्मान पाएपछि अलिकति आफू फुलेको महसुस गरें । सामान्य मान्छे अर्थात् समकालीन साथीभाइभन्दा आफू अलिकति माथि भएँ जस्तो लाग्ने । कार्यक्रममा अगाडिको लाइनमा गएर बस्नुपर्छ भन्ने सोंच आउने । आयोजकले आफ्नो नाम मञ्चबाट उच्चारण नगर्दा चित्त दुख्ने । पत्रपत्रिकामा आफ्नो नाम र फोटोसहितको समाचार आयो कि आएन भनेर सोधपुछ गर्ने । सेयर गर्ने । चिनेकालाई पढ्नु होला है भनेर अनुरोध गर्ने । अनि फेसबुकमा पोष्ट भएको फोटोमा कतिले लायक गरे । कस्तो कमेन्ट गरे भनी छिन–छिनमा मोबाइल हेर्ने आदि । यसरी सम्मान पाउँदा पनि मन भने बेचैन नै रह्यो । शान्ति र आनन्द हरायो । मानौं मनको शान्त तलाउमा कसैले ढुङ्गा हान्यो अनि पानी छचल्कियो । ओशोले भनेझैं तलाउमा हीरा वा ढुङ्गा जे फाले पनि त्यसले दिने आखिर तरंग नै त हो ।
सम्मान नपचेपछि मैले पनि अब यो सम्मान त्याग्छु भन्ने धारणा बनाएँ । यो धारणा मैले एनआरएन अमेरिकाको २०१४ र २०१५ का दुईवटा निर्वाचन अन्य साथीहरुको सहयोगले सम्पन्न गरेपछि बनाएको थिएँ । अर्थात् मनबाट सम्मानको त्याग गरेको थिएँ अपच भएपछि । यसै समयमा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा परियारजीले आफ्नो पत्रिकाको वार्षिकोत्सव २०१६ मा एनआरएनको निर्वाचन प्रमुखका रुपमा रही सफलतापूर्वक सम्पन्न गराएको हुँदा सम्मान गर्ने व्यक्तिको लिष्टमा मेरो नाम पनि रहेको हुँदा स्वीकृतिका लागि अनुरोध गर्नुभयो । मैले थापाजीलाई आफूले सम्मान परित्याग गर्ने निर्णय लिन खोजेको धारणा बताएँ । त्यसैगरी थापाजीलाई मैले निर्वाचन सफल भए पनि विवादरहित भने हुन नसकेको तथ्य पनि बताएँ । थापाजीले भन्नुभो– हाम्रो सम्मानको पालोपछि मात्रै तपाईंको धारणालाई कार्यान्वयन गर्नुहोला नि । त्यसैले त्यो सम्मान मैले थापाजीको बचन हार्न नसकेपछि टार्न सकिन । त्यो सम्मानपछि म सार्वजनिक समारोहमा पातलो हँुदै गएँ । सम्मानको लालच पनि लाग्दैन । त्यसैले चित्त दुख्ने रोगबाट त्यति ग्रसित भएको छुइन । अनि कहिलेकाहीं सोच्दछु– साँच्चै म सम्मान त्याग्न सक्ने भएछु ।
तर, जब मैले त्यागमा पनि अहम् देखें अनि लाग्यो– ‘अझै मेरो त्याग धरातलमा पुगेको रहेनछ ।’ मैले यो कुराको अनुभव एउटा घटनाबाट महसुस गरें । एकजना पदाधिकारीले मलाई आफ्नो संस्थाले वार्षिक कार्यक्रममा गीतकारका रुपमा सम्मान गर्ने भनी सर्वसम्मत निर्णय भएको छ । तपार्इंले सम्मान स्वीकार गरिदिनुहोला भन्ने प्रस्ताव गर्नुभयो । अनि मैले उहाँलाई आफू त्यसका लागि योग्य व्यक्ति होइन । किनकि म वकिल मान्छे हुँ । अध्यात्म, साहित्य र संगीत मेरो रुचीको विषय भएको हुँदा यिनमा रमाउने गर्छु । त्यसैले मभन्दा अरु असललाई नै सम्मान गर्नुहोस् भनें । यसो भन्दा पनि उहाँले आफूहरुले चिनेका धेरैमध्ये तपाईंलाई नै छनोट गरेको हो । यसपाली हामीले केही नगद पनि राखेको छौं सम्मानका साथमा भनें । मैले फेरि उहाँलाई भनें– बरु तपाईंले नचिनेका तर मैले चिनेको म भन्दा राम्रा गीतकारको नाम सम्मानका लागि सिफारिश गर्छु । अनि जबाफमा उहाँले  भरसक मैले नै लिनुपर्ने, नलिने भए अर्को राम्रो व्यक्तिको नाम दिनुहोला भन्यो । मैले आफूले चाहिं नलिने निर्णय गरें । अनि अरुको नाम सोंच्न थालें । केही नाम सोचें, जो मभन्दा धेरै राम्रा गीत लेख्छन् । अनि ध्यानको कुनै अवस्थामा मनमा एउटा भाव आयो– ‘मैले पाएको सम्मान पनि त्यागें भन्ने कुरा अरु कसैलाई त थाहा हुनुप¥यो नि ?’ त्यसैले मैले यो कुरा त कसैलाई भन्नै पर्ला ! अनि मनले भन्यो– फलानालाई भन्नु राम्रो होला । जोसँग म सप्ताहन्तमा सामूहिक ध्यानमा बस्ने गर्दछु । तर, कसरी भन्ने ? उसले त पक्कै भन्ने छ– ‘तेरो त्यागको अहम्पन गएको छैन ।’ अनि मलाई आफूले सुनेको कुनै आध्यात्मिक कथा सुनाउला । अनि मैले ओशोबाट सुनेका बुद्धकालीन एउटा भिक्षुले गरेको त्यागको कथा स्मरण गरें । त्यसपछि मेरो मन रोकियो– आफ्नै सासमा गएर । मेरो स्मरणमा रहेको कथाको सारांश यस्तो थियो ।
धर भन्ने व्यक्ति भिक्षु बनेछ । धर र उसको भाइलाई उनीहरुका पिताजीले सय–सयवटा सुनका सिक्का दिंदै भनेका रहेछन्– ‘अब तिमीहरुले यी सिक्का लिएर आ–आफ्नो व्यवहार गर ।’ धरले आफ्ना पिताजीबाट प्राप्त सुनका सिक्का भाइलाई दियो । अनि घर छाडेर भिक्षु बन्यो । त्यसैले धर आफ्ना भिक्षु साथीहरुलाई प्रायः आफूले घर त के सुनका सयौं सिक्का पनि त्याग गरेको प्रसंग जोड्दो रहेछ । बुद्धलाई पनि धरको त्यागको प्रसंग जानकारी भएछ । अनि एकदिन भिक्षुहरुलाई बुद्धले भनेछन्– त्याग्ने र भोग्नेमा फरक हँुदैन । किनकि त्याग्नेमा पनि त्यागको अहम् हुन्छ अनि भोग्नेमा पनि भोगको अहम् हुन्छ ।
यो कथाको स्मरण आएपछि मैले आफूलाई फेरि जाँचें । मेरो सम्मान त्यागको निर्णय कयौं जन्मदेखि मेरा शरीरको कणकणको स्पन्दनमा सञ्चित रहेका संस्कार, बानी, अतृप्त इच्छा वा भनौं नसाको कारणले गर्दा बार्नुपर्ने खाना नबारेका कारणले गर्दा लागेको ग्याष्ट्रिकभन्दा कुनै फरक रहेनछ । यो प्रसंग मैले जुन मित्रलाई भन्छु, भनेको थिएँ उसलाई अझसम्म भनेको छुइन । तर पनि मैले यस विषयमा यति लामो लेख लेखें । साँच्चै लागेको संस्कार वा बानी सुधार्न बुद्धिको तहमा मात्र थाहा पाएर पुग्ने रहेनछ । त्यसैले मैले आफ्नो सम्मान त्यागको अवस्था कथाका पात्र धरको भन्दा फरक पाइन ।
 
 
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग