न्युयोर्कको ज्याक्सन हाइट्समा शेर्पाहरुको भब्य ल्होसार

न्युयोर्कको ज्याक्सन हाइट्समा शेर्पाहरुको भब्य ल्होसार
 
कल्पना घिमिरे,न्यूयोर्क
 
शेर्पा समुदायको महान चाड ल्होसार न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित शेर्पा किदुक गुम्बामा भव्य रुपमा मनाइएको छ । गत फेब्रुअरी ५ तारिक मंगलबारका दिन शेर्पाहरुको नयाँ वर्ष परेकाले नयाँ वर्षको पहिलो दिनमै २१४६औं स–मो–फक्लो ल्होसार मनाइएको हो । 
युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुक)को आयोजनामा भएको ल्होसार कार्यक्रममा न्यूयोर्कवासी बौद्ध धर्मावलम्बीहरुको बाक्लो उपस्थिति थियो । लामो समयदेखि हिमाली बौद्ध धर्मावलम्बीले नयाँ वर्षको पहिलो दिन अमेरिकामा पनि ल्होसार मनाउँदै आइरहेका छन् । सम्पूर्ण प्राणी जगतभित्र रहेको नकारात्मक सोंच विचार निर्मूल पार्दै सकारात्मक सोंच र सकारात्मक कार्यको थालनी होस् भन्ने उद्देश्यले हरेक वर्ष ल्होसार मनाउने गरेको आयोजकले जनाएको छ ।  
कार्यक्रममा प्रमुख अतिथि सेर्लो गुम्बाका टुल्कु पेमा थर्छिन्, शेर्पा किदुकका प्रमुख टुल्कु उर्गेन शेर्पा, रिक्सुङ लोब्टाका लोपेन ग्युर्मे छ्योडाक साथै डा. युला शेर्पा र स्थानीय लामाहरुको सहभागितामा साङ सेर्किम पूजा लगायत अन्य प्रार्थना गरिएको थियो । 
ल्होसारको दोस्रो चरणमा नेपाल र अमेरिकाको झण्डा फहराउँदै शेर्पा गोन्पाको प्राङ्गणमा पञ्चरङ्गी बौद्ध ध्वजा (च्योतर लुङदार) उठाइएको थियो । जसमा पञ्चतत्वको प्रतीक पहेंलो स(धर्ती), हरियो छ्यु(जल), रातो मे(अग्नी), सेतो लुङ(बायु), निलो नम्ख(आकाश) समावेश हुन्छ । जसले सम्पूर्ण प्राणी जगतको रक्षा गर्ने र शान्ति मिल्ने धार्मिक विश्वास गरिएको छ । 
कार्यक्रमको तेस्रो चरणमा शेर्पा किदुकका प्रमुख लामा औतारी उर्गेन टुल्कु, न्यूयोर्क सिटी काउन्सिल ड्रिस्टिक २५ का काउन्सिल मेम्बर डेनियल ड्रम र कुइन्स बोरो प्रेसिडेन्ट मेलिन्डा केट्जले पनि ल्होसारको शुभकामना सन्देश दिएका थिए । बौद्ध धार्मिक परम्पराअनुसार देवताहरुको स्वागतस्वरुप सेङ्गी नाच (सिंह नाच) प्रदर्शन गरिएको थियो । लामा गुरुहरुबाट नववर्षमा मानव जाति लगायत सम्पूर्ण प्राणीको रक्षाका लागि सेर्किम छ्यम प्रदर्शन गरिएको थियो । 
झण्डै ५ हजार दर्शनार्थीहरुको सहभागितामा एकैसाथ ल्ह–सोसो भनेर फूलको रुपमा सेतो पीठो भगवानलाई अपर्ण गर्दै भव्य रुपमा ल्होसार मनाइएको थियो । नयाँ वर्षको दिन बिहानै घरघरमा पूजा गरिसकेपछि गुम्बामा भेला भएका दर्शनार्थीहरुले पूजापाठ सकेर लामा गुरुहरुको दर्शनपछि विश्व शान्तिको कामना गर्ने गर्छन् । 
ज्याक्सन हाइट्स नजिकैको ७५ स्ट्रिटको ४१ एभिन्यूदेखि उडसाइड एभिन्यूसम्म दिउँसो ३ बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको थियो । गुम्बा दर्शनका लागि बौद्ध धर्मावलम्बीको बाक्लो उपस्थिति हुन थालेपछि गत वर्षदेखि शेर्पा किदुकले यसरी गुम्बा अघिल्तिरको सडकमै सेब्रु नाच्दै ल्होसार मनाउन थालेको हो । गुम्बा दर्शनपछि उपस्थित सबैले सेतो पिठो लिएर आकाशतिर छर्कंदै विश्व शान्तिको कामना गरेका थिए ।
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार