पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन

पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
 
राम कार्की
पूर्वमन्त्री एवम् नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
 
अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी चर्चा भेनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर हुने गरेको छ । अझ सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा त यो विषयले निकै ठूलो हंगामा भएको छ । नेकपामा रहेका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच त जुहारी नै चलेको छ । उनीहरुको जुहारीमा कार्यकर्ता पनि दुई भागमा विभाजन भएका छन् । अझ पूर्वएमाले र पूर्वमाओवादीको पगरीमा दुई भागमा विभाजन भएपछि नेकपाभित्रै केही संकट पनि उत्पन्न भएको छ । लामो समयदेखि एकता प्रक्रियाले पूर्णता पाउन नसकिरहेका बेला नेताहरुलाई फरक–फरक कित्ताबाट आरोप–प्रत्यारोप लगाउनका लागि फोरम पनि राम्रै निर्माण भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली विदेश भ्रमणमा रहेका बेला जारी गरेको वक्तव्यको सन्दर्भमा ओली आफैँले पनि असन्तुष्टि व्यक्त गरेका छन् । खासमा वक्तव्य किन आयो र विवाद किन भयो ? यो विषयमा केन्द्रित भएर नेकपा प्रभावशाली नेता राम कार्कीसँग मोहन बास्तोलाले गरेको कुराकानी—
 
नेपालबाट करिब १५ हजार किलोमिटर टाढा रहेको भेनेजुयलाको राजनीतिसँग नेपाल जोडिएर आयो । त्यहाँको राजनीतिक संकटसँग नेपालको र त्यसमा पनि सरकारको नेतृत्व गरेको नेकपाको बढी चर्चा छ । अझ प्रष्ट भन्ने हो भने त्यहाँको राजनीतिक घटनाक्रमसँग सम्बन्धित भएर नेकपाका दुईमध्ये एक अध्यक्ष प्रचण्डले विज्ञप्ती निकालेपछि खैलाबैला नै भयो । खास कुरो के हो ?
 
अहिले भेनेजुयलाको राजनीतिक घटनासँग जोडेर नेपाल र त्यसमा पनि नेकपाभित्रको जुन खालको विवाद भयो भन्ने चर्चा छ । त्यो नै बेकार छ । जहाँसम्म वक्तव्यको कुरो छ । त्यो वक्तव्यमा विवाद गर्नुपर्ने कुनै कारण छैन । म अहिले पनि भन्छु । वक्तव्य विवाद गर्नुपर्ने खालको होइन । त्यो वक्तव्यमा कसैको विरोध गरिएको छैन । त्यहाँ त केवल प्रजातन्त्र, विधिको शासनको पक्ष लिइएको छ । हो, भेनेजुयलामा जस्तो प्रकारको सरकार छ, त्यो सरकारका कतिपय नीतिसँग व्यक्तिगत रूपमा म सहमत छैन । र, भेनेजुयलामा सावेजको पालामा भन्दा मडुरोको पालामा आइसकेपछि यसै पनि नवउदारवादी ढाँचा नै सुधार ल्याउन खाजेको हो । तर, सावेजले संविधान संशोधनमार्फत त्यो ढाँचामा केही परिवर्तन गर्न खोजेका थिए । तसर्थ, त्यहाँ जनताको सरकार गठन भएपछि त्यसलाई हटाउने, उल्टाउने त लगातार प्रयत्न हुँदै आएको छ । अर्को कुरा अमेरिकाको लगातारको नाकाबन्दीले भेनेजुयलालाई असर परिरहेको थियो । किनभने, उसको सबैभन्दा बढी तेलको व्यापार अमेरिकासँग नै हुने हो । भेनेजुयलामा तेल उत्खनन गर्ने अधिकांश कम्पनीको कार्यालय अमेरिकामै छ । अमेरिकाले त्यहाँबाट तेल पनि लिने अनि लगातार नाकाबन्दी पनि गर्ने गरिरहेको छ । लगातारको यस प्रकारको गैरकानुनी र अमानवीय खालको जुन नाकाबन्दी लगाउँदै आएको थियो, त्यसको परिणाम त्यहाँ आर्थिक अप्ठ्यारो पर्दै आएको छ ।
 
भनेपछि विवाद त अमेरिका र भेनेजुयलाको रहेछ । तर, नेपालले चाहिँ किन त्यसरी चासो व्यक्त गर्नुप¥यो नि ?
 
हो, नेपाल कतिपय महत्वपूर्ण घटनाहरूमा मौन रहँदै आएको थियो । अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धले पार्टीलाई नैतिक बनिरहन बाध्य पारेको थियो । तर, यस्तो न्यायपूर्ण कुराका बारेमा मुख खोल्नुपर्छ, नभए मान्छे मरेको–बाँचेको थाहा हुँदैन भनेर पनि विज्ञप्ती निकालेको हो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने त धेरै दिनपछाडि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा कमसेकम नेपालको कम्युनिष्ट पार्टी बोलेको छ । यो खुसीको कुरा हो । सरकारले कूटनीतिक भाषा बोलेको छ । यसमा नेपाली कांग्रेसलाई पो बरु सोध्नुपर्ने कि उहाँहरू बीपी कोइराला सधैं पूँजीवादको खिलाफमा हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादको पक्षमा हुनुहुन्थ्यो । अब के उहाँहरू अमेरिकी साम्राज्यवादको पक्षमा हो ? अमेरिकाको ढाँचा र ढर्राको जुन नीति छ, त्यसैको पक्षपोषण गर्न थालेको हो ?
 
भनेपछि काँग्रेसले अमेरिकालाई गरेको समर्थन उचित छैन भन्ने तपाईंको तर्क हो ?
 
सबैभन्दा ठूलो सिद्धान्तच्यूत त काँग्रेसहरू नै भएको देखिन्छ । जसका नेता बीपी कोइराला, उहाँहरू जसको नाम लिइरहनुहुन्छ, ती बीपी कोइराला जिन्दगीभर पूँजीवादविरुद्ध लडे र प्रजातान्त्रिक समाजवादका वकालत गरे, पूँजीवाद अमानवीय छ, हिंस्रक छ भन्ने कुराहरू गरे । तर, नेपाली कांग्रेसले यसपटक नाङ्गो वकालत गर्ने काम ग¥यो । त्यो पो अचम्मलाग्दो कुरा भएको छ ।
 
तपाईंहरुको पार्टी एकता प्रक्रिया सुरु भएको लामो समय बित्यो । झण्डै एक वर्ष अघि तपाईंहरुले धूमधामसँग पार्टी एकता गर्नुभयो । तर, त्यो शीर्ष तहमा मात्रै भयो । तलतलसम्म पुग्न सकेन । त्यसको पनि असन्तुष्टि हो । यो विज्ञप्तिको विषयलाई लिएर पार्टीभित्रै चर्किएको विवाद भन्ने पनि छ नि ?
 
विज्ञप्ती र पार्टी एकता फरक पाटा हुन् । विज्ञप्तीका सन्दर्भमा मैले अघि पनि भनें । विज्ञप्तीका बारेमा त्यति धेरै आत्तिनुपर्ने कुरा केही छैन । जहाँसम्म पार्टी एकताको कुरा छ । त्यसमा चाहिँ हाम्रो पनि असन्तुष्टि छ । हो, यसमा हामी सबै क्षुब्ध र असन्तुष्ट छौं । पार्टीमा जुनप्रकारको कार्यशैली विकास भएको छ, त्यसमा कहीँ न कहीँ हाम्रो नीतिमै दोष छ भन्ने पनि लागेको छ । हामीमा लामो राजनीतिक सोंच छैन । तदर्थतावाद हाबी छ । राजनीतिले त रणनीतिको माग गर्छ । कार्यक्रमको माग गर्छ । कार्यनीतिको माग गर्छ । तर, दैनिक राजनीति सुविधाको राजनीतिमा केन्द्रित हुँदो रहेछ । जे सुविधा हुन्छ, त्यही बोली दिने । त्यतातिर हाम्रो आन्दोलन खस्किँदै गएको छ । अब पार्टीलाई पतन हुनबाट जोगाउने भनेको वैचारिक संघर्षले हो । अस्ति स्थायी समितिको बैठक भयो तर त्यहाँ बढी कचकचे कुरा मात्र भइरहेको छ । यस्ता प्रवृत्ति र बहसले समस्याको समाधान हुँदैन । वित्त पूँजीलाई औद्योगिक पूँजीमा फेर्ने हाम्रो कार्यनीति हुनुप¥यो । पश्चिमी देशको नागरिकता पाउँदा घरमा भोज खुवाउने, सबैलाई बोलाउने सांस्कृतिक अधोपतन भइराखेको छ । त्यसलाई रोक्नु जरुरी छ । देशभक्त नागरिक पैदा गर्न जरुरी छ । जसका लागि शिक्षा नीति परिवर्तन गर्न जरुरी छ । जसमा बजेट पनि थप गर्नुपर्छ । राजनीतिका नेताहरू मौका प¥यो कि विदेश कुद्छन् । उपसचिवभन्दा माथिका कर्मचारी २५ प्रतिशतभन्दा बढी जहिले पनि विदेश गएको देखिन्छ । शिक्षकलाई खोइ पठाएको ? उनीहरूले सिकेर आएपछि समाजलाई पढाउँछन् ।
 
मुलुकमा कम्युनिष्ट सरकार छ । त्यो पनि दुई तिहाइ नजिकको तर जनताको अपेक्षाअनुरुप सरकारले काम गर्न सकेन भन्ने पनि आरोप लाग्ने गरेको छ । खास के हो ?
 
मलाई यो सन्दर्भमा एउटा उखानको याद आयो । ‘जेठा मामाको त भाङ्ग्राको धोती कान्छा मामाको कुन गति’ भनेजस्तै पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन । असफल हुनु त एउटा कुरा हो, तर मैले केही नवीनतम् काम गर्नुपर्छ भनेर सोच्नुपर्ने हो । हामीजस्ताले त चारपाँच दिन लगातार फोन गर्ने प्रयास गर्दा कुनै मन्त्रीसँग कुरा हुन सक्दैन भने सामान्य कार्यकर्ता र जनताको पहुँचको के कुरा गर्नु ? जुन देशमा राजा महेन्द्रजस्ता कराँतिला राजाका छोरा ज्ञानेन्द्रलाई त पाँच वर्ष सञ्चोले बस्न दिएनन् । त्यो देशमा हामीजस्ता जनताका छोराछोरीले आफूलाई राजा बनेको स्वाङ गर्दा के होला ?
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग