इमिग्रेसन डिफेन्समा चन्दाको साहसी छवि

नेपाली वकिलमा नयाँ पहिचान

इमिग्रेसन डिफेन्समा चन्दाको साहसी छवि
न्युयोर्क 
नेपालबाट एक्सचेञ्ज स्टुडेन्टका रुपमा किशोरी उमेरमा अमेरिका आउँदा चन्दा थापासँग जति सपना थिए, त्यति नै अग्ला चुनौतीका पहाड पनि । आफू हुर्केको परिवेश र समाज मात्र होइन परिवारबाट कोसौं टाढा एरिजोनास्थित एक हाइस्कुलमा ११ कक्षाको विद्यार्थी बनेर उनी यता आएकी थिइन् । 
सानैदेखि कानूनप्रति रुची थियो । विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनबारे । संयुक्त राष्ट्रसंघ लगायतका बहुराष्ट्रिय निकायमा जागिर खानु राम्रो हुन्छ भन्ने साेंच बाल मनस्थितिमा बिस्तारै हुर्किएको थियो । हाइस्कुलपछि एरिजोनामै चार वर्षे नियमित कलेजका लागि भर्ना भइन् । त्यहाँ आफ्नो बालापनदेखिको रुची मेट्न उपलब्ध भएसम्म कानून र अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरु रोजिन् । संवैधानिक कानूनबारे जान्ने मौका कलेजमै मिल्यो ।
कलेजपछि एरिजोना विश्वविद्यालयको कानून स्कुलमा भर्नाका लागि आवेदन दिइन् । हाइस्कुलदेखि कलेजसम्म त्यही राज्यमा पढेका कारण भर्ना मात्र होइन छात्रवृत्तिसमेत पाइन् । रुचीको विषय, त्यसमाथि आर्थिक दबाब पनि नरहेपछि पढ्न धेरै सजिलो भयो । तर, तीनवर्षे कानून स्कुल सकेपछि भने संघर्षका दिन सुरु भए । 
विद्यार्थी भिषामा रहेकी उनलाई कामदार भिषामा परिणत हुन रोजगारदाताको सहयोग चाहिन्थ्यो । विद्यार्थीका रुपमा एफवान भिसामा रहेको मान्छेलाई काम दिनेले भोलि एचवान हुँदै ग्रीनकार्डको प्रक्रियामा स्पोन्सर गर्नुपथ्र्यो । अमेरिकी नागरिक एवम् ग्रीनकार्ड होल्डर पर्याप्त वकिल पाइने अवस्थामा कुनै विदेशीलाई स्पोन्सर गर्न को पो अघि सर्छ र उनको सन्दर्भमा पनि त्यही भयो । 
धेरैतिर आवेदन दिइन् । तर, कानूनी स्टाटस जानेपछि उनीहरु हट्थे । अन्त्यमा अधिवक्ता खगेन्द्र जिसी ब्रेक दिन तयार भए । जिसीलाई पनि जुझारु एवम् मेहनती वकिलको खाँचो थियो सायद । थापाले जिसीको भरोसालाई सदैव कायम राखिन् र १० वर्ष उनको साथ काम गरेर गतवर्षबाट आफ्नै कार्यालय स्थापना गरेकी छिन्– ल अफिस अफ चन्दा थापा पीएलएलसी । न्यूयोर्कमा आफ्नै ल फर्म खोल्ने उनी पहिलो नेपाली महिला वकिलसमेत हुन् ।
३१ वेष्ट ३४ स्ट्रिटमा रहेको ल फर्ममा उनी दैनिक १३–१४ घण्टा खटिरहेकी हुन्छिन् । जिसीको फर्ममा काम गर्दा उनले आप्रवासीसम्बन्धी मुद्दामा विशेष पहिचान बनाएकी थिइन् । सोही चिनारीका कारण खासै प्रचारप्रसार नगरे पनि अहिले उनीसँग कानूनी सेवा लिन आउनेको संख्या निरन्तर बढिरहेको छ । उनले डिष्ट्रिक्ट फेडरल कोर्टहरुमा हारेका विशेषगरी असाइलमसम्बन्धी मुद्दा बोर्ड अफ इमिग्रेसन अपिल (बीआईए) एवम् सक्र्युट कोर्टसम्म लडेर क्लाइन्टलाई न्याय दिलाएकी छिन् । 
बीआईएमा पुगिसकेपछि मुद्दा फर्किने सम्भावना कमै रहन्छ । जुन संख्यामा आफूले फर्काउन सफल भएको हो त्यसमा थापा सन्तुष्ट छिन् । सोही कारण तल्लो अदालतमा हारेका मुद्दा पुनरावेदन गरी लडिदिन अनुरोध गर्दै आउनेको संख्या पनि उनीकहाँ निरन्तर बढ्दो छ । माथिल्लो अदालतमा पुग्ने मुद्दा जित्ने क्लाइन्टकै सिफारिशमा आफूकहाँ सेवाग्राहीहरु आइरहेको उनी बताउँछिन् ।
उनीसँग सेवा लिन आउनेमा नेपाली मात्र होइन बंगलादेशी लगायत विभिन्न मुलुकका नागरिक पनि उत्तिकै छन् । पछिल्लो समय गैरकानुनी तवरबाट अमेरिका आउने नेपालीको संख्या पनि धेरै नै रहेको उनको अनुभव छ । त्यसैले विभिन्न डिटेन्सन सेन्टरहरुबाट जमानतमा छुट्न सम्पर्क गर्ने क्रम पनि उच्च रहेको उनले सुनाइन् । डिटेन्सनबाट जमानतमा छोड्नै नमान्ने न्यायाधीशहरुसँग पनि बहस गरेर आप्रवासी बन्दी छुटाएको अनुभव उनीसँग छ । १० वर्षे अनुभव र सेवाग्राहीको विश्वासको बलमा आफ्नै ल फर्म सञ्चालनमा ल्याएको एक वर्षको अवधिमा उनले कार्यालय विस्तारसमेत गरिसकेकी छिन् । सेवाग्राहीको बढ्दो विश्वासकै कारण काम थपिँदै जान थालेको उनी बताउँछिन् । धेरै काम त इमिग्रेसनसम्बन्धी नै छन् । बिस्तारै अहिलेसम्म नेपाली वकिलले नगरेका नविनतम् कानुनी सेवाहरु पनि सुरु गर्ने साेंचमा रहेको थापाको भनाइ छ ।
( न्युयोर्कमा प्रभात भट्टराईले गरेको कुराकानीमा आधारित )
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग