मुर्छित सपना र विदेश पलायन

मुर्छित सपना र विदेश पलायन
अच्युत सिग्देल
अन्नदाता, जन्मदाता, धनदातालाई सम्मान दिनु । बुज्रुक र ठूलालाई इज्जत दिनु । सानालाई माया र असहायलाई हात दिनु हाम्रो धर्म र संस्कारले सिकाउने सामान्य शिक्षा हो । आधुनिक शिक्षाले संघर्षशील जीवनमा सहजीकरण, काम कम र ज्यादा जस लिने कला सिकाएको व्यावसायिक पेशेबर सहकर्मीसँग चनाखो रहन नसके प्रवासमा घोडाको भारी बोकाइएको गधाजस्तो बनाइँदो रहेछ– मान्छेलाई ।
हरेक भेटमा ‘बेटा थोडा भागके’ भन्ने म्यानेजर होस् वा काम सिकाउने बहानामा सबै काम जिम्मा दिएर हात बाँधेर बस्ने स्वदेशी बिग बोसहरुसँग पनि बच्नुपर्ने रहेछ । नयाँलाई आफ्नो पारिश्रमिक घटाएर भन्ने, काममा पेलाउने, काम सिकाएको बहानामा थप क्रेडिट लिने सजातीय ठाकुरहरू पनि प्रशस्तै पाइँदो रहेछ । टेक्निकल शब्दको प्रयोग गर्ने र नबुझे ‘कहाँसे उठाके लेके आया ऐसा बन्देको ?’ भनेर सार्वजनिक लल्कार्ने पनि हुँदारहेछन् । भनेको काम गरिदिएन भने ‘तुझे काम कर्ना हे कि नहीँ ?’ भनेर थर्काउने चप्रासीमध्येका तेस्रो तहका चप्रासी पनि मनग्गे नै हुँदारहेछन् । नयाँ नेपाली चेलीलाई काम नै नसिकाएर ग्लास उठाउँदा ग्लासमा औंलाको दाग लाग्यो भनेर घर पठाउने थुप्रै जुठो भाँडा उठाउने हाकिम पनि रहेछन्– प्रवासमा । काम लिन नेपाली बन्ने अनि काम नपर्दा भारतीय र तिब्बती बन्दै कुरा लगाएर काम भजाउँदै खुसुक्क हप्ता बजाउने पनि रहेछन् । बनेका काम जति आफूले गरेको र बिग्रेको काममा अरूको नाममा थोपरेर चाटुकारिता गर्ने पनि प्रशस्त नै हुँदा रहेछन् ।
नदीले आफ्नो बाटो आफँै बनाए जस्तै उसले पनि हप्ताभरमा नै सबै बाटो बनायो । टोलभरि हल्ला नै भयो ज्यादै राम्रो काम गर्ने मान्छे आएको छ भनेर । करिब महिनापछि एक दिन लन्चको समयमा सहकर्मी भाइले सोधेछ– ‘दाइ नेपालमा के गथ्र्यो रे ?’ उसले आफ्नो काम बताउँदा, ‘हैन होला तपाईं त नेपालको ढाक्रे, कुल्ली थियो होला । नत्र यत्रो काम कसरी गर्न सक्छ ?’ भनेछ । तब उसलाई आफू ठगिएको र ज्यादा पेलाएको महसुस भएछ ।
कुखुराको नङ्ग्रा उसिनेर भित्रैभित्रको मासु मात्र निकालेर सलाद बनाउँदा ग्लोब्स लगाउन नसिकाउने, खुल्ला हातले चलायो भनेर कम्प्लेन गर्ने, त्यो गन्हाउने हातको बासनाले उसले कयौं दिन खाना खान नसकेको पीडा कसलाई थाहा होला । ९० डिग्रीको तातोमा बाहिर बसेर फलाएर बाँड्नु, १२ घण्टा लगातार उभिएर किचनको तातोमा काम गर्नु । भान्सेले नभ्याउँदा तन्दुरमा रोटी सेकाउनु । डिस वासर नआउँदा भाँडा माझ्नु । बेसमेन्ट, पहिलो तल्ला किचन फ्लोर र माथिल्लो तल्लाको डाइनिङमा फुड रनर गरेर लगातार दौडिनु सामान्य भइसकेको थियो । मिनिमम वेजमा ५६०–५७० पाउनुपर्ने उसलाई हप्ताभरि काम लगाएपछि कुनामा बोलाएर खुसुक्क २७५ डलर थमाउँदा कस्तो महसुस भयो होला ? सीप सिक्ने, सिकाउने बहानामा हरेक कुनामा ठगिन्छ नेपाली । आफ्नाले प्यारो बनेर ठगिरहेको हुन्छ । नेपालमा प्राविधिक स्कूल नहुनुको परिणाम भोग्नुपर्ने बाध्यता हो यो ।
भारतमा अङ्ग्रेजहरू आएपछि पश्चिम बंगालका स्थानीय दलित जाति र बंगलादेशबाट छिरेका सुकुम्बासी बङ्गालीहरू क्रिश्चियन बन्दै प्रायजसो अन्तर्राष्ट्रिय बावर्ची बनेका छन् । सुन्दा आधुनिक लाग्ने क्याथोलिक नामहरू डि कोस्टा, गोमस र रोजारियो पाँच तारे होटल तथा सिप–जहाज हुँदै सेफ बनेर अमेरिका झरेका रहेछन् । नाम आधुनिक भए पनि बानी व्यहोरा, खानपान र रहनसहनमा खासै प्रगति भएको रहेनछ । प्रायः सर्भिसमा काम गर्ने नेपाली र भान्सामा काम गर्ने बङ्गालीबीच ‘को ठूलो ?’ भन्ने इगो हुँदोरहेछ । सानो देश र गरिब मुलुक भनेर नेपालीलाई नजरअन्दाज गर्ने अल्छी स्वभावका उनीहरू र कडा काम, मेहनत र मिलनसार साहुजीहरू पञ्जाबीका (प्रायः) प्रियपात्र नेपालीबीच सामान्य अनबन हुँदोरहेछ । भाषा, संस्कृति र भूगोलले पनि जोडिएका कारणले होला केही हदमा दोस्ती पनि गज्जब बलियो हुने रहेछ ।
रइस खानपानको हिसाबले पञ्जाबीहरू नेपालीसँग मिल्दा रहेछन् । प्रायः माछाको झोल खानुपर्ने बङ्गाली सेफहरू स्टाफ खानामा अल्छी गर्थे । बफेको लेफ्ट ओभर होस् वा दालमा उसिनेको अण्डा हालेर होस् उनीहरू काम चलाउ खाना दिन्थे । दिनभर मरेर काम गरेपछि राम्रो खाना खान पाउनुपर्ने नैसर्गिक अधिकार ठान्थे सर्भरहरू । दिनहुँको कचिङ्गलले साउथ इन्डियन अन्नालाई स्टाफ सेफको जिम्मा दिइएको थियो ।
बेसिक करीमा टन्न पानी हालेर अलिकति दाल थपेर उमालिदिन्थे । कुनै स्वाद नै नहुने, नभुटेको चिकन हप्ता दिन फ्रिजमा बसेपछि हल्का सुली जस्तै गन्हाउँदो रहेछ । बिहान खाएको बफे पेलिएर शक्तिक्षण भइसकेका बेला खानाको अनुहार देखेपछि झल्झली घर याद आउँदो रहेछ । एकाध दिन सहे पनि रातमा राम्रो निद्रा नपर्ने, आधारातमा पेटमा मुसा दोडिएर झोलामा पाउरोटी बोक्नुपर्ने भएको थियो उसलाई । बेलामा नखाए ग्याष्ट्रिकले फत्रक–फत्रक पर्ने नेपाली जात र अन्याय नसहने गोर्खाली के कम थियो । एक दिन मेनेजरको खानामा स्टाफ करी पठाइदियो । मेनेजरले आगो निकाले । उसले भनिदियो– तिमीहरूलाई एक छाक रूच्दैन हामी दिनहुँ कसरी खाने ? बिचरा मेक्सिकन डिसवासरहरू मासुबिना खाना खान सक्दैनन् उनीहरू यो कुँडो कसरी खान्छन् ? त्यहाँ हङ्गामा भइहाल्यो । सेफहरू र स्टाफका बीचमा महाभारत चल्यो । स्टाफहरूले वाकआउट हुने धम्की दिएपछि सेफद्वारा नै गुणस्तरीय तथा कमसेकम हरेक साँझ दुई प्रकारको खाना बनाइने सहमती भयो । सेफले नभ्याएको अवस्थामा सर्भरलाई खाना बनाउने अनुमती दिइयो ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग