अकस्मात मरें भने

अकस्मात मरें भने
जनक पाण्डे, ओक्लोहामा
 
अकस्मात मरें भने म 
मेरो लास अघि तिमी आँसु नझार्नु 
आलाप बिलाप पनि नगर्नु 
फगत मेरा शरीररुपी बोक्रा 
रहला नरहला 
तर काम लाग्ने अंगहरू
अवश्य रहनेछन्
 
सधैं भन्थ्यौ
राधाको उकुस मुकुस श्वासप्रश्वासले 
मलाई प्रताडित बनाउँछ  
अब उप्रान्त
मेरै फोक्सोले उसको सहज श्वास चल्नेछ 
मुटुमा दाग बोकी हिंडेको 
कृष्णको देहमा 
मेरै मुटुले रक्तसञ्चार गर्ने छ 
श्यामको बाँच्ने सहारा 
मेरै सूक्ष्म कलेजोको टुक्रा हुनेछ 
जन्मैदेखि नेत्रहीन रविले 
मेरै आँखाले रंगीन संसार देख्नेछ 
बाँकी रहेको पनि 
कसैको लागि बरदान बनोस्
 
यस सृष्टिमा फरक फरक तनमा 
निहित म रहनेछु 
मन मनमा सबैको म 
खुशी बनी रहनेछु
मरेर पनि सधैं म 
अमर रहिरहनेछु 
अमर रहिरहनेछु ।।
 
 
प्रकृति र जीवन
दिपा राई पुन
बोष्टन
 
हिउँले चुटेर थलिएको बेला
सडक शहर मुर्दा जस्तो
उराठ उराठ भएर बाँचेको बेला
बतासको बुइ चढी
बसन्त याम आउँछ
औपचारिक पाहुना जस्तो
 
हतार छ बौरन शहरलाई
हुरीले हकारी रहेछ रूखहरूलाई
हरियो पारी र रङ्गीन सारीमा सजिन
उर्दी गरिरहेछ पाहुनाको ख्याल गर्न
तोरणझैं हल्लिरहेछन्
बाटो किनारको पोथ्रा पोथ्रीहरू
रमाएर हाकपारे गीत गाउँदै
 
म झल्यास्स देख्छु
सपनाको मुर्छित घर
बिपनाको तारे भीर
अथाह आस्था बोकेर
हिँडिरहेछ पाइलाहरू
जीवनको बसन्त हरदम हामीसँगै 
 
हामीले नै फ्याँक्नु पर्छ 
निरासाका बादलहरू
हामीले नै अँगाल्न पर्छ 
खुशीका बाह्रमासे यामहरू
जीवनको सुन्दर बगैंचामा
हुन पर्छ असल माली आफै
जसरी प्रकृती गरिरहन्छ
सदियौंबाट धर्तीमा आफ्नो राज ।।
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग