एमाजोनलाई भगाउँदा क्वीन्समा खुसीयाली, विरोधको अग्रपंतिमा सांसद कोर्टेज

एमाजोनलाई भगाउँदा क्वीन्समा खुसीयाली, विरोधको अग्रपंतिमा सांसद कोर्टेज
न्यूयोर्क
बजार पूँजीकरणका आधारमा दुनियाँको सबैभन्दा मूल्यवान् कम्पनी एमाजोनले न्यूयोर्कमा आफ्नो दोश्रो मूख्यालय (हेड क्वार्टर) खोल्ने निर्णय फिर्ता लिँदा क्वीन्समा खुसीयाली मनाइएको छ । कम्पनीले तीन महिना अघि न्यूयोर्क लङ आईल्याण्डमा अमेरिकाको पूर्वी क्षेत्र लक्षित गरि हेड क्वार्टर बनाउने निर्णय गरेको थियो । 
 
त्यही बेला देखि क्वीन्स एवं ब्रोङ्स (न्यूयोर्क १४ निर्वाचन क्षेत्र) की हाउस अफ रिप्रिजेन्टेटिभ (सांसद) एलेक्जेन्द्रिया ओकासियो कोर्टेज लगायत समाजवादी धारका राजनीतिज्ञ एवं समूहले कम्पनीको आगमन प्रति विरोध जनाउँदै आएका थिए । कम्पनीले २५ हजार रोजगारी सिर्जना गर्ने बताएको थियो भने त्यस बापत राज्य सरकार एवं न्यूयोर्क सिटीले अर्बौं डलर सहुलियत एवं कर छुट दिने सहमति गरेका थिए । समाजवादीहरुले यही सहमतिलाई विरोधको मुद्दा बनाएका थिए । अर्बौं नाफा गर्ने विश्वकै सर्व सम्पन्न कम्पनीलाई कर छुट दिएर आफ्नो नगरमा स्वागत गर्नुमा कुनै तुक नहुने उनीहरुको तर्क थियो ।
 
विवाद बढ्दै जाँदा एकाएक कम्पनीले गत साता न्यूयोर्कमा हेड क्वार्टर बनाउने निर्णय फिर्ता लिएको सार्वजनिक गर्यो । अमेरिकी अनलाईन ब्यापारमा एकछत्र आधिपत्य जमाएको एवं कैयन् खुद्रा स्टोरहरु सुकाउन सफल कम्पनी न्यूयोर्क नआउने निर्णय पछि सांसद कार्टेजले ट्विट मार्फत खुसीयाली जनाउँदै सहभागी सबैलाई बधाई दिएकी थिइन् । उनले ‘सबैकुरा सम्भव हुने बताउँदै विश्वकै एक नम्बर धनाड्यलाई न्यूयोर्कका जनताले देखाई दिएको’ उनको भनाइ थियो । शनिवार गृहक्षेत्र ब्रोङ्क्स आइ पुगेकी सांसद कोर्टेजले आफ्ना समर्थकहरुलाई धन्यबाद दिँदै लडाँइ जारी राख्न प्रोत्साहित समेत गरिन् । २० बर्ष न्यूयोर्क १४ बाट सांसद रहेको जासेफ क्राउलीलाई पाखा लगाउँदै गत नोभेम्बरमा कोर्टेज पहिलो पटक निर्वाचित भएकी थिइन् । क्वीन्स र ब्रोङ्सका कामकाजी एवं मध्यमवर्गको वास्तविक प्रतिनिधित्व क्राउलीले गर्न नसकेको भन्दै प्रचार थालेकी कोर्टेज अन्ततः सफल भइन् । कोर्टेज पार्टी भित्र भर्माउन्टका सिनेटर बर्नी स्यान्डर्स नेतृत्वको समाजवादीधारकी एक अभियन्ता हुन् ।
 
यस्तै क्वीन्स ज्याक्सन हाइट्स क्षेत्रमा बाक्लो बसोबास रहेको बंगलादेशी आप्रवासीले पनि केही दिन पहिले दिपावली गरेर एमाजोन फिर्ताको खुसीयाली मनाएका थिए । दक्षिण एसियाका आप्रवासीहरुको लागि काम गर्दै आएको ड्रम (देशीज् राइजिङ अप एन्ड मुभिङ)ले गाना बजाना सहित उत्सब मनाएको थियो भने अर्को संस्था छाँयाले बक्तब्य मार्फत खुशी ब्यक्त गरेको छ ।  
 
एमाजोनले उच्च दक्ष एवं प्राविधिक जनशक्तिलाई रोजगारी दिने र आफ्नो समुदायका खासै कोही पनि त्यसका लागि काविल नहुने तर कम्पनीको आगमनले बढाउने महंगी भने आफूहरुले सामना गर्नु पर्ने भन्दै क्वीन्स क्षेत्रका अधिकांश आप्रवासी समुदाय रुष्ट थिए । क्वीन्स क्षेत्रमा आप्रवासीको बाहुल्यता रहेकै कारण कम्पनी बिरुद्धको आवाज सशक्त पार्न समाजवादी राजनीतिकर्मीहरुलाई बल पुग्यो । 
 
सन १९९४ मा अमेरिकाको सियाटलबाट सुरु भएको कम्पनी एमाजोन केही महिना अघि एपललाई उछिन्दै विश्वकै मूल्यवान् कम्पनी बनेको थियो । कम्पनीका मालिक जेफ बिजोस केही बर्ष अघि नै विल गेट्सलाई उछिनेर विश्वकै सर्वाधिक धनाड्य बनि सकेका छन् । फ्रोब्सका अनुसार उनको सम्पत्ती १३४.१ अर्ब अमेरिकी डलर रहेको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग