आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार

आजको मितिमा राष्ट्रपति निर्वाचन हुने हो भने ट्रम्पको अवस्था के होला ?सर्वेक्षण भन्छ– सानदार हार
प्रभात भट्टराई,न्यूयोर्क
अमेरिकामा राष्ट्रपति चुनाव आउन ६ सय दिनभन्दा बढी छ । यदि त्यो बेलासम्म अहिले जस्तै अवस्था रह्यो या तत्कालै चुनाव हुने हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पको सानदार पराजय हुने देखिएको छ । सन् २०१८ को वर्षभरिको सर्वेक्षणलाई विश्लेषण गरी ग्यालप न्यूजले प्रकाशित गरेको विवरणअनुसार ट्रम्पले जित्ने सम्भावना १७ राज्यमा मात्र छ । अर्थात १७ राज्यमा मात्र उनको कामलाई रुचाउने (एप्रुभल रेटिङ) सर्वसाधारणको संख्या ५० प्रतिशत बढी रहेको छ । 
ती राज्यमा ट्रम्पले जिते भने उनले पाउने इलेक्टोरल मत भने १०२ मात्र हुनेछ । जबकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत चाहिन्छ । प्रत्येक राज्यबाट जति जना सिनेटर एवम् हाउस अफ रिप्रिजेन्टेटिभ चुनिन्छन्, त्यति नै इलेक्टोरल मताधिकार सम्बन्धित राज्यले पाउँछ । ५० राज्यबाट ५ सय ३५ जना सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ चुनिन्छन् । त्यसबाहेक राज्यको दर्जा नपाएको राजधानी वासिङ्टन डिसीले पनि तीन इलेक्टोरल मत हाल्न पाउने गरेका कारण कुल इलेक्टोरल भोट भने ५ सय ३८ हुन्छ ।
सम्बन्धित राज्यमा बढी भोट ल्याउने उम्मेदवारले स्वतः सबै इलेक्टोरल मत पाउने प्रावधान छ । सोही कारण सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनभन्दा झण्डै ३० लाख मतले पछि परे पनि धेरै राज्यमा जितका कारण ट्रम्प निर्वाचित भएका थिए । हिलारीले क्यालिफोर्निया, न्यूयोर्कजस्ता घनावस्ती भएका राज्यमा ठूलो मतान्तरले ट्रम्पलाई पराजित गरे पनि २ सय ७० इलेक्टोरल मत पाउने गरी कम जनसंख्या भएका राज्यहरुमा बढी भोट ल्याउन सकिनन् । 
ग्यालप रिपोर्टअनुसार सन् २०१८ मा ट्रम्पलाई सर्वाधिक रुचाउने मतदाता वेष्ट भर्जिनिया र योमिङमा छन् । यी दुई राज्यमा ट्रम्पको एप्रुभल रेटिङ फष्ट डिभिजन अर्थात् ६२ र ६१ प्रतिशत रहेको छ । त्यससँगै ट्रम्पलाई रुचाउने टप १० राज्यमा साउथ डकोटा (५८), नर्थ डकोटा (५८), अलास्का (५६), मिसिसिपी (५६), अलाबामा (५५), टेन्नेसी (५४), केन्टुकी (५३) र अर्कान्सास (५३) रहेका छन् । 
ग्यालपले सन् २०१८ भर अमेरिकाका सबै राज्यका ७३ हजार बालिगसमक्ष गरेको सर्वेक्षणका आधारमा यो विश्लेषण निकालेको जनाएको छ । प्रत्येक राज्यमा भौगोलिक सन्तुलन मिल्नेगरी तथ्याङ्क संकलन गरेको पनि जनाइएको छ । ‘अहिलेको तुलनामा सन् २०२० को राष्ट्रपति निर्वाचनसम्म धेरै कुरा परिवर्तन हुनसक्छ । तथापि, ५० प्रतिशत बढी एप्रुभल रेटिङ भएका राज्यमा ट्रम्पलाई जित्न तुलनात्मक सहज नै हुनेछ । यसअनुरुप ५० प्रतिशत बढी एप्रुभललाई उनको जीत मान्ने हो भने ट्रम्पले पाउने इलेक्टोरल भोट १०२ रहेको छ ।’
अर्कोतिर ट्रम्पको एप्रुभल रेटिङ ४० प्रतिशतभन्दा कम भएका १६ राज्यको इलेक्टोरल मत भने २०१ रहेको छ । ट्रम्पलाई सर्वाधिक मन नपाउने राज्यमा हवाई, भर्मोन्ट, मासाचुसेट्स र क्यालिफोर्निया रहेका छन् । चारवटै राज्यमा ट्रम्पको एप्रुभल रेटिङ ३० प्रतिशतभन्दा कम छ । हवाई र भर्मोन्टमा क्रमशः २६ र २८ प्रतिशत छ भने मासाचुसेट्स र क्यालिफोर्नियामा २९–२९ प्रतिशत रहेको छ । यीसहित ट्रम्पलाई नरुचाउने टप १० राज्यमा मेरिल्याण्ड (३१), न्यूयोर्क (३२), इलाइनोइस (३५), न्यूजर्सी (३५), न्यूह्याम्पसायर (३५), रोड आइल्याण्ड (३६), वासिङ्टन (३६) र कनेक्टिकट (३६) छन् । सन् २०१७ को तुलनामा ट्रम्पको एप्रुभल रेटिङ ५० प्रतिशत बढी भएका राज्य पाँच थपिएका हुन् । यस्तै, ४० प्रतिशतभन्दा कम एप्रुभल रेटिङ हुने राज्य पनि एउटा घटेको हो । सन् २०१७ को तुलनामा ट्रम्पको देशव्यापी औसत एप्रुभल रेटिङ ३८ प्रतिशतबाट ४० प्रतिशतमा पुग्दा त्यति सुधार आएको ग्यालप न्यूजले जनाएको छ । 
ट्रम्पप्रति सर्वाधिक निराश वेष्ट कोस्ट र न्यू इङ्गल्याण्डका जनता देखिएका छन् भने पश्चिम–दक्षिण र हिमाली क्षेत्र उनीप्रति आशावादी नै छ । ट्रम्पको एप्रुभल रेटिङ ४० देखि ४९ प्रतिशत रहेका राज्यको संख्या भने वासिङ्टन डिसीसहित १८ रहेको छ । उनीहरुसँग २ सय ५३ इलेक्टोरल मत रहेको छ । 
ट्रम्पले २०१६ मा कठिन ढंगले जितेका राज्यमा उनको एप्रुभल रेटिङ ४० प्रतिशत छेउछाउ मात्र छ । उनले नौ प्रतिशत बिन्दुले सहजै जितेको टेक्सासमा समेत उनको एप्रुभल रेटिङ ४१ प्रतिशतमा झरेको छ भने कठिनाइपूर्वक जितेका पेन्सिलभेनिया र मिचिगनमा ४२–४२ प्रतिशत रहेको छ । उनले जितेको अर्को स्विङ राज्य फ्लोरिडाको एप्रुभल रेट पनि ४३ प्रतिशत मात्र रहेको छ । जबकी यी चार राज्यको इलेक्टोरल कलेज भने १०३ छ । पुनः निर्वाचित हुन ट्रम्पले यी चार राज्य जित्नै पर्ने हुन्छ । 
उनले २०१६ मा जितेको विस्कन्सन र एरिजोनाको एप्रुभल रेट पनि अहिले ४५ प्रतिशतभन्दा तल छ । सन् २००० को निर्वाचनदेखि लगातार डेमोक्र्याटले जित्दै आएको विस्कन्सन २०१६ मा ट्रम्पले जितेका थिए । अहिले त्यहाँ उनको एप्रुभल रेटिङ ४२ प्रतिशत रहेको छ । लामो समय रिपब्लिकन बहुल रहेको एरिजोना पनि ट्रम्पले साढे तीन प्रतिशत बिन्दुले मात्र जितेका थिए । त्यहाँको रिपब्लिकन सिनेट सिट गत नोभेम्बरको चुनावमा डेमोक्र्याटले खोसिसकेका छन् । त्यहाँ पनि ट्रम्पको एप्रुभल रेटिङ ४३ प्रतिशत मात्र छ । 
सन् २०१८ को तथ्याङ्कअनुसार ट्रम्पलाई ५० प्रतिशत बढी रुचाउने सबैजसो राज्यको इलेक्टोरल कलेज न्यून छ । उनको एप्रुभल रेटिङ धेरै भएका टप १० राज्यका कुल इलेक्टोरल भोट ५७ मात्र छ । ती राज्यमा सबैभन्दा धेरै टेन्नेसीसँग ११ इलेक्टोरल मत छ । जबकी उनलाई मन नपराउने टप १० राज्यको इलेक्टोरल मत १७३ रहेको छ । क्यालिफोर्निया एक्लैसँग ५५ इलेक्टोरल मत छ । 
हुन त सन् २०१६ मा पनि ट्रम्पले आम अनुमानविपरीत चुनाव जितेका थिए । सर्वेक्षणहरुले उनीप्रति सकारात्मक धारणा राख्ने सर्वसाधारणको संख्या ४० प्रतिशत हाराहारी मात्र देखाउँथे । उनले चुनाव जितेपछि पनि उनको यो ‘फेबरेबिलिटी रेट’ उस्तै नै रहेको छ । त्यसैले उनले यही आधारमा सन् २०२० को निर्वाचन जित्दैनन् भन्न भने नसकिने राजनीतिक पण्डितहरुको विश्लेषण छ । 
तथापि, २०१६ को चुनावमा 
रसियाले साइबर हस्तक्षेप गरेको एवम् ट्रम्प क्याम्पेनलाई सघाएको बारे अनुसन्धान गरिरहेका स्पेशल काउन्सिल रोबर्ट मुलरले बुझाउने रिपोर्टले ट्रम्पलाई थप 
चुनौतीमा धकेल्ने विश्लेषण पनि गरिएको छ । मुलरले छिटै रिपोर्ट बुझाउने संकेत गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्प भने मुलुकभित्र आफैँमाथिको अनुसन्धान रिपोर्ट आउने तर्खर भइरहेका बेला उत्तर कोरियाली शासक किम जङ उनसँगको दोस्रो शिखर वार्ताका भियतनाम उड्ने तर्खरमा छन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग