न्युयोर्कको सडकको नाम "माउन्ट एभरेष्ट" घोषणा गरिंदै

मार्च ९ मा न्यूयोर्कको सडकमा मेला लाग्ने

न्युयोर्कको सडकको नाम "माउन्ट एभरेष्ट" घोषणा गरिंदै
कल्पना घिमिरे, न्यूयोर्क
न्यूयोर्कको क्विन्स काउन्टीमा रहेको ७५ स्ट्रिट सडकलाई ‘माउन्ट एभरेष्ट वे’को नामकरण गर्ने घोषणा भएको छ । ७५ स्ट्रिटको २५ एभिन्युदेखि ३१ एभिन्युबीचको सडकलाई माउन्ट एभरेष्ट नामकरण गरिने भएको हो। न्यूयोर्कमा बसोवास गर्दै आएको नेपाली समुदायले लामो समयदेखि न्यूयोर्क सिटी काउन्सिलसँग पहल गर्दै आएको थियो। नेपाली समुदायका अगुवाहरुले क्विन्सबोरोको काउन्सिल मेन कोस्टा कन्स्टेन्टिनिडिससँग पटक–पटक भेटेर नेपालीको नाममा सडकको नामकरण गर्नेबारे छलफल गरिरहेका थिए। कोस्टाले गत फ्रेबुअरीमै सिटी काउन्सिलको बैठकमा ‘माउन्ट एभरेस्ट वे’को प्रस्ताव गरेपछि सिटी काउन्सिलले कोस्टाको प्रस्ताव पारित गरेको थियो ।  
आगामी मार्च ९ तारिखका दिन नेपाली महावाणिज्य दूतावास र सिटी काउन्सिलको संयुक्त आयोजनामा बृहत कार्यक्रम गरी औपचारिक नामकरण गरिनेछ । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृषु क्षेत्रीका अनुसार नेपालीले पाएको यति ठूलो उपलब्धि र सम्मानलाई बृहत समारोहका बीच ‘माउन्ट एभरेस्ट वे’को औपचारिक घोषणा गरिनेछ । ‘त्यस दिन ३० र ३१ एभिन्यु बीचको सडकमा सावारी आवागमन बन्द गरी सडकमै टेन्ट गाडेर मेला लगाउनेछौं,’ उनले भने । मेलामा नेपाली संस्कृति झल्कने विभिन्न स्टलहरु राखिनेछन् । सेलरोटी, नेपाली खानेकुराका विभिन्न परिकारहरु, हस्तकलाका सामानहरुको प्रदर्शनका साथै नेपाली संस्कृति बोकेको सांस्कृतिक कार्यक्रम र झाँकी नाच प्रस्तुत गरिनेछ । सिटी काउन्सिलका ७ जना प्रतिनिधि र नेपाली समुदायको उल्लेख्य सहभागितामा १२ बजेदेखि ४ बजेसम्म कार्यक्रम गरिनेछ । 
‘माउन्ट एभरेष्ट वे’को औपचारिक घोषणासँगै २५ देखि ३१ एभिन्युसम्मका ६ ब्लकमा  माउन्ट एभरेष्ट वे नामको प्लेट राख्नेछौं,’ वाणिज्यदूत क्षेत्रीले भने– ‘हामीले विभिन्न उपसमितिहरु बनाएर नै कार्यक्रमको व्यवस्थापन गरेका छौं ।’ 
एनआरएन अमेरिकाको न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको नेतृत्वमा समन्वय समिति बनाइएको छ । सांस्कृतिक तथा झाँकी समितिमा नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, लिला राईको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । न्यूयोर्कको कुनै एउटा सडकमा नेपालको नाम राख्ने भनेर लामो समयदेखि छलफल भइरहेको थियो । गत महिना सिटी काउन्सिलले पारित गरेपछि औपचारिक घोषणाका लागि दूतावासले व्यवस्थापन मिलाएको हो । 
गत शुक्रबार नेपाली समुदाय र नेपाली महावाणिज्य दूतावासबीच छलफल गरी नेपालीले पाएको यो सम्मानलाई बृहत कार्यक्रम गरी मनाउने निर्णय गरिएको थियो । त्यसअघि पनि दूतावासमै नेपाली समुदायका अगुवाहरु बोलाएर छलफल गरिएको थियो । 
आगामी मार्च ९ का दिन नेपाली पहिचान, भाषा, कला र संस्कृति  चिनाउने उद्देश्यले कार्यक्रमको तयारी गरिएको छ । संसारभर माउन्ट एभरेष्ट भन्नेबित्तिकै नेपाल र नेपालीलाई चिनिने भएकाले सिटी काउन्सिलले यही नाम पारित गरेको हो । माउन्ट एभरेष्ट कि सगरमाथा के राख्ने भन्ने विषयमा नेपाली समुदायले छलफल गर्दा बहुमतले माउन्ट एभरेष्ट राख्ने सहमति भएको थियो ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग