उत्तर आधुनिक दुर्व्यसन

उत्तर आधुनिक दुर्व्यसन
 पुरुषोत्तम लम्साल
 
 
अनुसन्धानले देखाएकै छ लागूपदार्थ दुव्र्यसनी र ‘डिजिटल स्मार्ट दुव्र्यसनी’ दुबैको मस्तिष्कको एउटै भाग उस्तै प्रकारले सक्रिय हुने रहेछ । एउटा फेक न्यूज बन्छ, त्यसैलाई आँखा चिम्लेर अनलाइनले अझ उत्तेजकशैली दिन्छ । प्रयोगकर्ता त्यसलाई आँखा चिम्लेर शेयर गर्छन् । उसको सञ्जाल त्यसैमा जोडिन्छ । सञ्जालको जञ्जाल एक कान दुई कान मैदान हुँदा मिनेटमै भीड बन्छ । सकेसम्म यो भीडको कम सम्पर्कमा रहे कम संक्रमित हुन सकिन्छ ।
मार्क जुगरबर्ग आफैं कलर ब्लाइन्डनेस (रंगहरु छुट्याउन नसक्ने एक प्रकारको रोग) ग्रस्त छन् नै । तिनको सामाजिक सञ्जाल कम्पनीले दुनियाँ ब्लाइन्ड (दृष्टिविहीन) बनाउँदै लगेको छ । दुनियाँका लागि एचआईभी एड्स, अर्बुद, संक्रामक भाइरस, बढ्दो विश्वव्यापी तापमानभन्दा ‘फेसबुक एडिक्सन डिसअर्डर खतराजन्य रोग र समस्या बन्दै छ ।
फेसबुक भन्छ– हरेक सेकेन्ड पाँच नयाँ प्रयोगकर्ता बढिरहेको छ । हरेक दिन कम्तीमा ३० करोड तस्वीरमा र प्रतिमिनेट ३ लाख स्ट्याटसमा ५० हजार प्रयोगकर्ता बाँधिइरहेका छन् । विश्वको झण्डै आधा जनसंख्या फेसबुक संक्रमणको शिकार छ । दैनिक सवा अर्ब जनसंख्या फेसबुकमा झुण्डिन्छन् । गत वर्षको तथ्याङ्कअनुसार १४–३९ वर्ष उमेरसमूहको ६० प्रतिशत यो कुलतमा रहेछ । नेपालको जनसंख्याको तीन गुणा (१० करोड) त फेक अकाउन्ट नै रहेछ । पछिल्लो वर्ष मात्र ७८ हजार फेकन्यूजले दुनियाँलाई बेवकुफ बनाएछ । यही फेक अकाउन्ट र फेक न्यूज प्रवाह अहिले विश्वको टाउको दुखाइ बनिरहेको छ । यसैले आज यता बसियो ।
 
प्रवक्ताले भने– नियमन चाहिन्छ
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले साताअघि सामाजिक सञ्जाल नियमन गर्न आवश्यक रहेको बताए । सरकारविरुद्ध ट्रोल, व्यङ्ग्य छायो । सबैले बिर्सिए सामाजिक सञ्जालमा छाएको ‘फेक न्यूज’बाट कसरी दुनियाँ शिकार कसरी भइरहेको छ, किन विश्व सुरक्षा र गोपनीयताको चिन्तामा सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन बनाउन प्रयत्नरत छ ? व्यक्तिगत, वाक तथा अभिव्यक्ति र सूचनाको स्वतन्त्रताको पक्षपोषण गर्ने, मानवअधिकारका चर्का कुरा गर्ने विश्वका उदारवादी भनिएका देशहरु नै कसरी ‘फेक न्यूज’ र सामाजिक सञ्जालको चक्रब्यूहबाट बाहिर निस्कन प्रयत्नरत छन् भनेर उनीहरुले खोज्ने प्रयत्नै गरेनन् । प्रयत्न गर्थे होलान् त बेलायतको कुरा गर्थे होलान्, जर्मनीको कुरा गर्थे होलान्, छिमेकी भारतकै पनि कुरा गर्थे होलान् । तर गरेनन् । किनकि, उनीहरु ट्याब्लेट र स्मार्टफोन बोकेका ‘स्मार्ट बेवकुफ’ मात्र हुन् जो छाडापनलाई स्वतन्त्रताको अर्थमा बुझ्छन् । तिनलाई स्वतन्त्रताको अर्थ एक्लै रमाउनु र मन परेको गर्न पाउनपर्छ भन्ने मात्र छ । झूटको झाडीमा हराउने र वाहियात लोकप्रियताको कसीमा तौलनेलाई यो स्वतन्त्रता अत्यधिक प्रिय लाग्दोरहेछ । तर, मानवीय मूल्य र मान्यतामा यसले पारेको असर नलेख्ने, सामाजिक अराजकता र अपराधको बढ्दो आयाम नदेख्ने हुँदो रहेछ । यसबाट चाहिँ तिनीहरु भाग्दारहेछन् । ‘फेक न्यूज’ विस्तारको टुक्रालाई उनीहरुले भ्रष्टाचार र स्वेच्छाचारविरुद्ध बोल्ने स्वतन्त्रतासँग दाँज्ने टिठलाग्दो गरिबी देखाए उनीहरुले ।
 
‘फेक न्यूज’को व्यथा
सामाजिक सञ्जालसँग जोडिएको नेपाली पुस्ता दुइटा विषयमा पक्का जानकार छ । पहिलो म्यानमा (बर्मा)को रोहिङ्ग्या शरणार्थी र, दोस्रो सिरिया मामिला । दुबै खबरको जड ‘फेक न्यूज’सँग जोडिएको चाहिँ कमै जानकारी छ । म्यानमामा एक बौद्धमार्गी महिलालाई प्रभावमा परेर ‘फेक न्यूज’वालाले प्रहरीमा उजुरी लेखाए कि उनलाई दुई मुस्लिम युवकले जबरजस्ती गरे । समाचार फैलियो, भोलिपल्टै प्रदर्शन शुरु भो । सरकारले अस्थायी रुपमा फेसबुक बन्द गरायो । जातीय हिंसाको यो फेक खबरको शिकार लाखौं रोहिङ्ग्या मुसलमानले शरणार्थी बनेर तिर्नुप¥यो ।
उता, सिरियाली राष्ट्रपति वसार अल असादले नागरिकमाथि रासायनिक हतियारले आक्रमण गरेको ‘फेक न्यूज’ यति शक्तिशाली बन्यो कि हामीले भित्तो त रङ्ग्यायौं नै गालामा रंग पोतेर ‘असाद ... मुर्दावाद् !’ पनि भन्यौं । सामाजिक सञ्जालले दुनियाँको विवेक कसरी हडपेको छ भन्न यही उदाहरण बलियो छ ।
हिलारी क्लिन्टनलाई पार्किन्सन्स रोग लागेको खबर होस् वा आतंकवादी संगठन आईएसआईलाई एञ्जेला मर्केलले यूरोपमा अनुमति दिने घोषणा, ‘फेक न्यूज’ले दुनियाँको सरकार र सत्तालाई नै असहज बनाइदियो । अमेरिकाको टेक्सासमा इबोला भाइरस भेटिएको फेक खबर नेपाली टेलिभिजनमा समेत मज्जाले बज्यो ।
जर्मनीमा भएको एक अध्ययनले त्यहाँको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनीले सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गरेपछि शरणार्थीविरोधी गतिविधि असामान्य रुपमा वृद्धि भएको देखायो । एउटै झूटो खबर पत्याएर गतवर्ष खेमनित्स शहरमा भएको हजारौंको प्रदर्शन फेकमा टुंगियो । भारतमा हिन्दू–मुस्लिम, भारत–पाकिस्तानलाई उत्तेजित बनाउने फेक न्यूजको बाढी नियन्त्रण गर्न सबैभन्दा धेरै ‘फ्यान फलोअर्स’ भएका राजनीतिकर्मी नरेन्द्र मोदीले पनि सकिरहेका छैनन् । मलाई त भारतीय सञ्चारमाध्यम आफैं ‘क्राइम सिन’जस्तो घीन लाग्छ, ‘फेक न्यूज’को के कुरा !
नेपाली समाजमा मूलतः तीन विषय अस्थिरतामा लैजान सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । जात, धर्म र राजनीतिक विचारधारा । जातीय विद्वेष, सांस्कृतिक चुनौती र राजनीतिक द्वन्द्व तीनै कुराका लागि सामाजिक सञ्जाल हतियार हुने अभियान बढ्दो छ । अत्यन्त तल्लो स्तरमा नङ्ग्याउने, बङ्ग्याउने र त्यसलाई सामाजिक सञ्जालमा छर्ने रोगले महामारीको रुप लिंदै छ । कुँडाकर्कटमा फाल्न मिल्ने हजारौं ‘अनलाइन पोर्टल’ नियमन गर्न नसक्दा अराजकता मौलाउँदो छ । सयौं यूट्युब च्यानल चर्पीभन्दा पनि फोहोर र घिनलाग्दा छन् । समर्थक र विरोधीका नाममा खडा गरिएका संगठित समूह लागूऔषध दुव्र्यसनभन्दा बढी विषाक्त देखिएका छन् । सामाजिक सञ्जाल सामाजिक अपराधको जड र विकृत मनोरोगको भट्टी बन्दै छ । र, मान्छेहरु भन्छन्– सामाजिक सञ्जाल नियमन गर्नु स्वतन्त्रताको खिलाप हो । होइन, सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नु आवश्यक मात्र होइन अनिवार्य छ ।
 
स्वतन्त्रताको शास्त्र
व्यक्तिको आत्मपरक काममा राज्यको हस्तक्षेप आवश्यक छ ? छ ।
व्यक्तिवाद र व्यक्तिगत स्वतन्त्रताको शास्त्रीय सिद्धान्तले जुकरबर्गकालीन समाजमा काम गर्छ ? गर्दैन ।
यसैले व्यक्तिको गतिविधिमा राज्यको हस्तक्षेप हुनुहुँदैन भन्ने निरपेक्ष उपयोगितावादी तर्क ‘फेक न्युज’कालीन समाजमा हानिकारक छ । त्यसैले जोन स्टुवार्ट मिल जसलाई हामी व्यक्तिगत स्वतन्त्रताको आवाज बुलन्द गर्ने दार्शनिक भन्छौं, उनले पनि अरुलाई आघात पार्ने वा समाजलाई सिधा नकारात्मक प्रभाव पार्ने कार्यमाथि राज्यको हस्तक्षेपलाई औचित्यपूर्ण ठहर गरेका छन् ।
मिलले लोकमतलाई सहनशील, मतमतान्तरको महत्व दर्शाउने र मानवीय ज्ञान अभिवृद्धि गर्ने रुपमा व्याख्या गरेका थिए । आजको ‘फेक न्युज’कालीन संसार यो स्वतन्त्रतालाई घृणाभाव फैलाउने, सहिष्णुता भाँड्ने, एकता खण्डित गर्ने अभियानमा छ । यसैले अराजक स्वतन्त्रताले नै व्यक्तिगत स्वतन्त्रतामा कैंची लगाउन पर्ने परिस्थिति माग गर्छ । लगाउनुको विकल्प राज्यसँग छैन ।
स्वतन्त्रताको पुलमा हिंड्नु व्यक्तिको अधिकार होला । पुल असुरक्षित छ, तर हिंड्ने व्यक्तिलाई उक्त असुरक्षाबारे थाहा छैन भने उसलाई अघि बढ्नबाट रोक्नपर्छ । खोला तर्न दिनुको अर्थ नागरिकलाई जोखिममा पर्न दिनु होइन, उसको सुरक्षा राज्यको दायित्व हो, कर्तव्य हो । यो अवस्थामा खोला तर्न पाउने व्यक्तिको अधिकारमाथि अंकुश लगाउनु जायज हुन्छ । मिल यही भन्छन् ।
जनताले लोकतान्त्रिक स्वतन्त्रता प्राप्त गर्नुको अर्थ समाजमा निकृष्ट र आपत्तिजनक विचार प्रवाह गर्ने अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ भन्छन् । उपयोगवादी हुनुको अर्थ अनैतिक वा छाडा हुनु हो ? यसर्थ, स्वतन्त्रतालाई अनैतिक रुपमा दुरुपयोग गर्नेमाथि नियन्त्रण आवश्यक र जायज दुबै छ । अरुको आत्मसम्मानको भावना र व्यक्तिगत गरिमामाथि आघात पार्ने प्रवृत्ति स्वतन्त्रताको अर्थभित्र पर्छ ? शास्त्रीय उदारवाद र स्वतन्त्रताको वकालत गर्दागर्दै मिलले पनि आफ्नो विचारमा संशोधन गरे कि सामाजिक हितका लागि स्वतन्त्रतामा अंकुश लाग्न सक्छ । यहाँ त जाति, भाषा, धर्म, संस्कृति, सम्प्रदायमाथि अनैतिक विषयवस्तु सृजना गरी संगठित आक्रमण गर्ने अभ्यास व्याप्त छ । यसैले राज्यले अराजक स्वतन्त्रतामाथि कैंची लगाउन आवश्यक र जायज दुबै छ ।
बहुमतलाई जति बोल्ने अधिकार हुन्छ, अल्पमतलाई पनि त्यत्तिकै अधिकार प्राप्त छ । तर, झूटको प्रचारले सत्य अझ मुखरित भएर आउँछ भन्नु दुई सय वर्षअघिको कोरा आदर्श मात्र हो । किनकि, त्यतिबेलासम्म समूह, समाज अराजक र मूठभेडको बाटोमा गइसकेको हुन्छ । द्वन्द्वको खेती मौलाइसकेको हुन्छ । भीड अनियन्त्रित भइसकेको हुन्छ । किनकि, यो मिल (जेएस)कालीन समाज होइन, जुकरबर्गकालीन ‘फेक न्युज’, ‘फेक सूचना’को संसार हो, जसको सम्मोहनमा विश्वको आधा जनसंख्या विक्षिप्त छ ।
 
उत्तरआधुनिक महामारी
संसारमा प्लेग र हैजाको महामारी धेरैपटक फैलियो । चीनबाट फैलिएको द ब्ल्याक डेथ (१३३४) नामको प्लेग महामारीले पूरै यूरोप कज्यायो , एभिएन फ्लू (१९५७)बाट बीसौं लाख मान्छे मरे । टाइफुस ज्वरो (१९४५)ले विश्वयुद्धमा बचेका ३० लाख रुसी नागरिकको ज्यान लियो । जस्टिनियन प्लेगले त्यतिबेलाको विश्वको तीन करोड व्यक्ति मारेका अनुमान छ । ठीक सय वर्षअघिको संक्रामक फ्लू पहिलो विश्वयुद्धभन्दा विनाशकारी भएर आयो र चार करोडभन्दा बढीको ज्यान लिएर सेलायो । परारै स्वाइन फ्लू आयो, पोहोर फेरि इबोला संक्रमण भित्रियो । यी त महामारी र रोग भए जसको असर शरीरमा देखिन्छ र उपचार उपलब्ध नभए ज्यान जान्छ । अहिलेको महामारी झूटा खबर वा फेक न्यूजको हो, जसले कुनै पनि बेला कुनै पनि कुनामा रक्तपात निम्त्याउन सक्छ । यसैलाई उत्तरआधुनिक महामारी भनिएको हो । फेक न्यूज र सामाजिक सञ्जालको सम्मोहनमा परेको समाज नैतिकता र विवेक गुमाएर खतरनाक स्वतन्त्रताको बन्दी बनिरहेका बेला दुर्घटनाको जोखिम सधैं रहन्छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग