बडामहारानीको जाडो

बडामहारानीको जाडो
सावर बस्नेत, काठमाडौं
अनिता कार्की, काठमाडौं
 
जाडो त बडामहारानी सरकार हजुरलाई पो– आहा !
‘सरकार राम्रो सुकला भैबक्सियो ?’ भन्दै 
शिरानीमै टक्र्याइएको तातो चिया खान पाउनु– आहा ! 
‘आज घाम लाग्ला जस्तो छ कान्छी ?’
लाग्ला सरकार, बिहान तुषारोले सेता थिए चउर
भन्दै कान्छीले सुकला कक्ष मिलाई दिने– आहा ! 
भान्छे पनि यस्तो पो 
‘सरकार थकालीको दाल, काउली आलु, गोलभेडाको अचार बनाएँ,
खसी खुइलाउँदै छन्, पक्कु त लगाई हालिनेछ, भुटन पनि
बनाउ ?’– आहा ! 
 
दुई कप चिया बिस्तरामै सकाउँदा नसकाउँदा
‘बाहिर कलिलो घाम लागेको छ, कौसीमा मुखारी होइबक्सियोस् तातो पनि छ सरकार’
भनेपछि बल्ल ओडनी ओछ्यान छोड्न पाउनु– आहा !
हात मुख यसो धोइबक्सेपछि सुसारेले ठीक परेका चकटीमा बसी 
शिरमा तेल ठोक्दै कपाल कोराउन पाए पो– आहा ! 
‘ज्युनार तयार भो हजूर’ मलिन आवाज सुनेपछि
घामैमा बसी ज्युनार गर्न पाउनु,
ज्युनार पछिको भुटेको सुपाडी कुटुक्क पार्दै
सफा आकाशगंगा हेर्दै कारभानको एक खिल्ली सुटुक्क उडाउनु आहा !
त्यही बसीबसी ताता पानीले हात धुन पाउनु– आहा !
गोडा मिचाउँदै मिचाउँदै, नंगिनीबाट नङ कटाई, 
पाऊको चारैतिर रातो आल्ताको घेरा लगाई 
सुक्दा नसुक्दै... 
‘हजूर घाममा गला सुके होलान्, 
लौ ज्युनार होस्’ भनी झुरुम्  झुरुम् बदाम सुन्तला र भोगटे साँदेको
ट्वाक्क खान पाउनु– आहा !
अब घाम अस्ताउन लाग्यो सरकार, हावा पनि चल्यो 
भित्र कोठामा मक्कल रापिलो तातो छ 
भनेपछि, सरक्क भित्र जान पाउनु– आहा ! 
मक्कल वरिपरि धाई सुसारे राखी 
वरपरको घटना सुन्दै, सुन्तलीका गाना र 
बिजुलीको चुटकिलापछि 
बाजेबाट लयकारी स्वस्थानी कथा सुन्नु– आहा !
कोठामै बसी बसी बेलुकाको ज्युनारमा खुट्टीको सुरूवा र
गुड गुड हुक्काको भरुवा हुँदै
घाममा मस्त सुकाईएका न्याना ओडनीभित्र सट्ट छिर्न पाउनु– आहा !
अनि महाराजको प्रेममय आलिंगनको न्यानो माया... आहा !
जाडो त बडामहारानी हजुरलाई पो– आहा !!
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग