टेक्ससमा नेपाली महिलाको बृहत भेला

टेक्ससमा नेपाली महिलाको बृहत भेला
कल्पना घिमिरे  
टेक्सस 
 
अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर अमेरिकामा रहेका महिलाहरुले टेक्सस राज्यको डालासमा बृहत महिला भेला सम्पन्न गरेका छन् । ‘प्रथम नेपाली वेमन इन्टरप्रेनरसिप तथा लिडरसिप समिट २०१९’ अन्तरगत गरिएको भेलाका अतिथिहरुले आफुले गरेका संघर्ष र सफलताको कथा सुनाएका थिए । नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्श डालास, नेपाली वेमेन्स ग्लोवल नेटवर्क(एनडब्लुजीएन) र गैर आवासीय नेपाली संघ, अमेरिकाको संयुक्त आयोजनामा अमेरिकामा पहिलो पटक उलेख्य सहभागितामा महिला भेला सम्पन्न भएको हो । 
अमेरिकामा बसोबास गरिरहेका नेपाली महिलाको शसक्तिकरण, महिला स्वाबलम्वन र नेतृत्व विकास बारे कार्यक्रममा बिस्तृत चर्चा गरिएको थियो । अर्काको देशमा दुःख संघर्ष गर्दै अहिले बिभिन्न कम्पनीहरुको नेतृत्व तहमा काम गरिरहेका महिलाको यथार्थ भोगाइ र अनुभव साटासाट गरिएको थियो । 
‘हाम्रो कार्यक्रमको मुख्य उदेश्य भनेकै अमेरिकामा बिभिन्न क्षेत्रमा नेतृत्व तहमा काम गरिरहेका महिलालाई नेपाली समुदायसम्म चिनाउनु हो’ आयोजकका तर्फबाट एनडब्लुजीएनकी अध्यक्ष अभिमा उप्रेतीले भनिन्, ‘नेतृत्व तहमा पुगेका हाम्रा दिदी बहिनीले यो अवस्था सम्म आइपुग्दा महिला भएको कारणले के÷कस्ता चुनौती भोग्नुपर्यो ? अफ्ठेरो परिस्थितिमा कसरी हिम्मत र संघर्षले काम लिएर अहिले यो स्थानमा आइपुग्नु भयो ? यस्ता अनुभवबारे समुदायलाई सुनाउनु पनि हो ता कि अबका युवा पुस्तालाई उहाँहरुको संघर्ष र सफलता सुनेर प्रेरणा मिलोस ।’ उनका अनुसार अमेरिकामा रहेको नेपाली समुदायलाई नेपाली महिलाको सफलताबारे जानकारी गराउन पनि यो कार्यक्रमको तयारी गरिएको हो । नेपाली समुदायमा हुने धेरै कार्यक्रममा महिलाको सहभागीता अत्यन्तै न्युन, कतिपयमा त सहभागिता नै नहुने गरेको पनि हामी देख्छौं । हामीले महिलाका कुरा हाम्रा पुरुष दाजुभाईहरुलाई सुनाउने गरी फरम्याट तयार पारेका हौं ।  
भेलामा विभिन्न शिर्षकमा प्यानल डिस्कसन चलाइएको थियो । ‘स्टोरी अफ सक्सेस एण्ड करेज’ शिर्षकमा अमेरिकाका विभिन्न राज्यमा नेतृत्व तहमा रहेका प्रतिनिधिमुलक महिला पात्रलाई उभ्याएर उनीहरुको संघर्षदेखि अहिलेको उपलब्धी र सफलता बारे छलफल गरिएको थियो । उक्त छलफलमा पहिलो नेपाली एग्रि इन्जियिनर डा. सुमन रिमाल, प्राज्ञिक व्यक्तित्व डा. विद्या रञ्जित, अधिकारकर्मी नर्बदा क्षेत्री, कानुन ब्यवसायी एटोर्नी बन्दीता शर्मा दाहाल, प्रविधि विज्ञ रश्लिना न्याछ्योन जोशी, हिंसापीडित गीता शाहले आफ्ना भोगाइहरु सुनाएका थिए । 
इनेप्लिज डट कममा कार्यरत सञ्चारकर्मी सच्ची मैनालीले सहजीकरण गरेको ‘महिला नेतृत्व’ विषयक छलफलमा नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका जर्जियाकी उपाध्यक्ष अम्बिका लोहनी, नेपाली अमेरिकन अग्रनाइजेसन अफ ओहायोकी अध्यक्ष डा. एलिना शाक्य, अमेरिका नेपाल सोसाइटी भर्जिनियाकी अध्यक्ष प्रभा देउजा, एनआरएनए अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा र एनआरएनए अमेरिकाकी पूर्व उपाध्यक्ष रविना थापाले नेतृत्वमा महिलाको सहभागिताबारे आ–आफ्ना अनुभव सहित बिभिन्न धारणा राखेका थिए । 
कार्यक्रमको तेश्रो चरण अन्तरगत डा.शिलु घिमिरेले सहजीकरण गरेको ‘महिला उद्यमी’ विषयक छलफलमा टेक्सासकी उद्यमी दिक्षा भट्ट, सीता सापकोटा, क्यालिफोर्नियाकी निरा गिरी तामाङ र जर्जियाकी सुश्मा बाराकोटीले अमेरिकामा सुरुवाती दिनदेखि नै ब्यवसायमा संलग्न रहेको र त्यसपछिको मेहनतले अहिले सफलताको सिँडी चढिरहेकोबारे आफ्ना अनुभव साटेका थिए । 
कार्यक्रमको चौथो चरण अन्तरगत ‘महिला स्वास्थ्य’ शिर्षकमा बिभिन्न विषयका विज्ञ मेडिकल डाक्टरहरु संग छलफल गरिएको थियो । डा.विष्णुमाया उपाध्यायले सहजीकरण गरेको उक्त छलफलमा ओन्कोलोजिष्ट डा.रश्मी खनाल, डेन्टिष्ट डा.शर्मिला श्रेष्ठ, ह्युमाटोलोजिष्ट डा.रोजी राजभण्डारी, सामाजिक अभियानमा सक्रिय अन्जिला प्रसाई र सोसल इमोशनल फेसिलिटेटर रक्षा अधिकारी लगायतले महिलाले सबै भन्दा पहिले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने सुझाएका थिए । महिलाले आफु स्वास्थ्य रहेमा मात्रै उसले सिङ्गो परिवारको स्वास्थ्यको बारेमा ख्याल राख्न सक्ने धारणा ब्यक्त गरेका थिए । 
कार्यक्रममा विशेष अतिथिको रुपमा निम्त्याएकी मदन पुरस्कार विजेता उपन्यासकार निलम कार्की निहारिकाले अहिलेका महिला हरेक क्षेत्रमा अब्बल रहेको बताइन् । यस्ता कार्यक्रमले समाजमा संधै सकारात्मक सन्देश दिने उनी बताउँछिन् । ‘यो कार्यक्रमले जीवनमा केही गर्छु भनेर आँटिसकेपछि निरन्तर मेहनत गरे गन्तब्यमा पुगिन्छ भन्ने दरो सन्देश बोकेको छ’ उनले भनिन्, ‘हाम्रा सक्षम अग्रज महिलाको संघर्ष र पाएका सफलताबाट युवा पुस्तालाई पक्कै पनि उत्प्रेरणा मिल्नेछ । त्यतिमात्र होइन हरेक क्षेत्रमा महिलालाई नेतृत्वदायी भूमिकामा पु¥याउनमा समुदायले पनि सक्रिय हुनु जरुरी छ ।’ 
कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, उपाध्यक्ष रामकुमार सुवेदी, सचिव होम गौतम, युवा संयोजक स्वराज खाती, बोर्ड अफ डाइरेक्टर अर्जुन बञ्जाडे, कृष्ण लामिछाने लगायत कार्यसमितिका पदाधिकारीहरु, एनडब्लुजीएनका पदाधिकारीहरु, नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शका अध्यक्ष मनोज सिग्देल, उपाध्यक्ष सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो । 
च्याम्बर अफ कमर्श डालासका च्याम्बर महासचिब बाल जोशी, एनआरएनएकी महिला संयोजक इन्दिरा त्रिपाठी, च्याम्बरकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक स्मृति कार्कीले टेक्ससको नेपाली समुदायमै उलेख्य महिला सहभागीतामा कार्यक्रम सम्पन्न भएको र कार्यक्रममा महिला र पुरुष दुबै निकै उत्साहका साथ सहभागी भएको बताएका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग