रङ नम्बर

रङ नम्बर
शशांग लामा
न्यूयोर्क
 
(टिनिनिनिनि... हेल्लो ! केटीको मीठो आवाज । केटीले त्यो कल भुली, केटाले आफैँलाई भुल्यो । तिनारुबीच फोनमा कुराकानी आरम्भ भयो, देखभेटबिना नै एउटा प्रेमकथाको शुरु हुन्छ ।  सत्यकथामा आधारित– प्रेम कथा)
 
फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको दिन सहकर्मीहरुबीच आ–आफ्ना प्रेम प्रसंगबारे चर्चा भयो । एसियालीहरुको प्रायः मागी बिहे पाइयो भने अफ्रिकी, ल्याटिन अमेरिकी र गोराहरुको चैं बिचमा चिनजान भएको, नाच्दानाच्दै दिल बसेको, भ्याकेसन मनाउने ठाउँमा भेटेको र भूमिगत रेलवेमा सँगै यात्रा गर्दा गफमा भुलेर अन्तिम स्टेशन पुगेका आदि कुरा भए । एकजना सहकर्मीले ‘कुन प्रेमको बारेमा भन्नु, पहिलेको कि अहिलेको’, भनेर प्रतिप्रश्न गरे । बंगलादेशकी फरिदा अश्रफले मुस्कुराउँदै भनिन्– ‘मेरो रङ नम्बर लभ सुन्ने हो ? भो तर अहिले म भन्दिन । अरु कुनै दिन भनेर तिनी पन्छिन् । त्यो दिन हाम्रो प्रेम कुराकानी त्यत्तिकैमा तु¥यो ।
‘लु तिम्रो रङ नम्बर लभ नसुनी भएन, एकदमै खुल्दुली लाग्यो’ भनेर भोलिपल्ट फरिदालाई फेरि समातें ।
– हुन्छ दादा, तर धेरैका सामु भन्न लाज लाग्छ । तपाईं र म मात्र हुनुपर्छ भनिन् । काममा, बिहानीको क्षण, सबै स्टाफ आइनसकेकाले वातावरण शान्त थियो । एउटा कोठामा राउण्ड टेबलको आमनेसामने बस्यौं ।
– केबाट शुरु गरौं दादा ? भनेर लजाउँदै सोधिन् ।
–फरिदा तिमीलाई एउटा जानकारी दिन्छु । म सामाजिक सञ्जालमा प्रायः लेखिरहन्छु । खासगरी यात्रा संस्मरण मेरो रुचीको विषय हो । रोचक र नौला कुरा लिएर म सामाजिक सञ्जालमा प्रस्तुत हुन्छु । सायद तिम्रो कथा नेपाली पाठकले मन पराउनेछ ।
फरिदाले चिउँडोमा हात राखिन् र विगतका घटना एक–एक गरी आँखाको अगाडि झल्झली नाचेको उनको मुहारको भावले प्रष्ट देखाउँथ्यो ।
कुरो सन् २००२ तिरको हो । म बंगलादेशमा कलेजको होस्टलमा बसेर गणित मेजर लिएर अध्ययन गर्दै थिएँ । अल्छीलाग्दो एक मध्याह्नमा कसैको फोन आयो । कहिले नदेखेको नम्बर थियो । बंगलादेशको नम्बर पनि होइन । तैपनि फोन उठाएँ । लोग्नेमान्छेको आवाज थियो । उसले अर्को कसैलाई फोन गरेको रहेछ र भुलवश मकहाँ आइपुगेको थियो । अम्रिकाबाट गरेको थियो । एकछिन औपचारिक कुराकानी भयो र फोन राख्यौं । त्यसको तीन दिनपछि फेरि उसको फोन आयो । यसपटक परिचय आदानप्रदान भयो । बंगलादेशस्थित दुवैजनाको ठाउँठहर मालुम ग¥यौं । फोनको सिलसिला जारी रह्यो । १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष... हामी घण्टौं फोनमा बात मार्न थाल्यौं । त्यतिबेला फेसबुक आइसकेको थिएन । फोनमा कुराकानीबाहेक पत्राचार पनि हुन्थ्यो । चिट्ठीमा न त उसले उसको फोटो पठायो, न त मैले । उसको आवाजबाट सम्मोहित भएको थिएँ । अभिभावकझैं हरहमेसा अर्ती उपदेश दिन्थ्यो । ऊ निरन्तर मलाई फोन गरिरहन्थ्यो भने म उसको फोन समयमा आएन भने न्यास्रिन्थें । प्रेम नै त भएको हुनुपर्छ ।
हाम्रो फोन वार्तालाप भएको करिब दुई वर्षपछि हो क्यार, एकदिन उसले फोनमा (आमी तुमाके भालो भासी) म तिमीलाई प्रेम गर्छु भनेर फ्याट्टै भन्यो र हत न पत फोन अफ ग¥यो । तीन दिन जति फोन गरेन । फेरि फोनको सिलसिला जारी भयो । उसको प्रेम प्रस्तावलाई मैले तत्काल जवाफ दिइन । मेरो जवाफ नपाएर उसमा बैचनी र छट्पटी भएर कुनै पनि काममा दिलचस्पी नदिएर उदास भएर भौँतारिएको व्यहोरा उसको साथीहरुले मलाई फोनमा बताए ।
बंगलादेशमा भर्खर–भर्खर मोबाइल फोन आएको थियो । हाम्रो फोनमा कुराकानी भाको करिब एक वर्षपछि हो क्यार, तैमुरले मलाई गतिलो सामसुङ मोबाइल फोन उपहार पठाएको थियो । त्यसको  भन्सार मात्र मैले ६००० टाका (रुपया) तिर्नुपरेको थियो । चार वर्षका दौरान कलिङ कार्डमा मात्र उसको करिब १५ सय डलर खर्च भएको कुरो पछि मलाई बताएको थियो ।
– पहिलो नजरैमा प्रेम भन्ने चलन छ । तर फरिदा ! तिमारुको त पहिलो आवाजैमा प्रेम भाको रहेछ ।
– अँ त्यस्तै भन्नुप¥यो । तैमुरको आवाजले मलाई सम्मोहित गरायो, उसको बोल्ने शैली मनप¥यो ।
– अनि उसको प्रेम प्रस्तावलाई समयमै जवाफ नदिएर, बिचरालाई किन दुःख दिएको त ?
– ‘दादा पनि, केटी मान्छेले एकैचोटि ओके कहाँ गर्छ र ? भाउ खोजेकी नि’ लजाउँदै मुस्काउँदै भनिन् फरिदाले ।
घण्टौं फोनमा कुराकानी हुने तैमुरसित चार वर्षपछि बंगलादेशमा भेट हुने दिन पनि आयो । उनलाई लिन विमानस्थलमा म आफैँ गएकी थिएँ । फोनमा चाहिनेभन्दा बढी कुराकानी गरेर हो वा केले हो, त्यति उत्साहित र खुल्दुलीचाहिँ भाको थिएन । आफूभन्दा निकै उमेर खाएको व्यक्तिलाई आफूसामु पाउँदा म खिस्रिक्क परेकी थिएँ । मन खिन्न भाको थियो । फोनमा कुरा हुँदा ‘म तिमीभन्दा ६ वर्षले जेठो छु भन्थ्यो । एक हप्ता जति टेन्सन भयो । हेलमेल भएपछि राम्रै लाग्न थाल्यो ।
तैमुर बिहेको प्रस्ताव लिएर बंगलादेश आएको थियो– उसको र मेरो । दुवै परिवार मुस्लिम भए पनि संस्कार र रीतिथिति फरक थियो । मेरो अब्बुले त यो प्रस्ताव मान्ने कुरै थिएन । छोरीलाई सरकारी अफिसरसित बिहे गरिदिने उनको इच्छा थियो । कारण मेरा दुई दिदीहरुको सरकारी अफिसरसित बिहे भाको थियो । कोर्ट म्यारिज गर्ने र पछि अब्बुलाई मनाउने निधो भयो ।
– मुश्लिमहरुको बिहे हुँदा केटीलाई ‘कबुल है’ ? भनेर तीनचोटि सोधिन्छ । कोर्टमा पनि त्यस्तै हुन्छ ?
– ‘हुन्छ’
– अनि फरिदा, तिमीले चाहिँ कति चोटिमा ‘कबुल है’ भन्यौ ?
– एकै खेपमा ‘कबुल है’ भन्दिएँ । सबै कुरा छिनिसकेको नै थियो ।
अब्बुको समर्थनबिना हाम्रो बिहेले सामाजिक वैधानिकता नपाउने हुँदा अब्बुलाई राजी गराउन जरुरी थियो । एकदिन डङ्गुर खाद्य सामग्री र अन्य कोसेली पाता लिएर तैमुर हाम्रो घर आयो । शुरुमा अब्बुले उनलाई थर्काउनसम्म थर्कायो र अन्त्यमा यसो भने– ठिकै छ, तपाईंले मेरी छोरीलाई लान सक्नुहुन्छ ्र तर मेरी छोरी राजकुमारी जस्तो गरेर हुर्केबढेकी हुनाले उसले गाह्रो काम गर्न सक्दिन । पारिवारिक दायित्व सबै तपाईंले जिम्मा लिनुपर्छ । तैमुरले चुपचाप सबै सुन्यो । अब्बुको ग्रीन सिग्नलपश्चात् नजिकका नातेदार र ‘सगे सम्बन्धी’हरुलाई बोलाएर घरायसी पारम्परिक बिहे पनि सम्पन्न भयो ।     
– अनि अम्रिका आइसकेपछि, चिताएको अम्रिका फेला प¥यो त, फरिदा ?
– अहँ, जिन्दगीलाई फर्काउनै नसक्ने गरी म अगाडि बढिसकेको थिएँ ।
– जिन्दगीलाई पछाडि फर्केर हेर्दा, जिवनसाथीको छनौटमा गल्ती गरेको जस्तो लाग्छ कि ?
– लाग्दैन, दादा ! मेरो विचारमा जीवन भनेकै सम्झौता हो । तैमुर, सर्वगुण सम्पन्न व्यक्ति नभए पनि मान्छे बेश छ । मलाई खुसी पार्न उसले हर प्रयत्न गरिरहेको छ । हो, म आफैँदेखि खुसी छुइन, मेरो वर्तमान अवस्थादेखि सन्तुष्ट छुइन । म केही गर्न चाहन्छु । आफूभित्र भएको क्षमतालाई उजागर गर्न चाहन्छु । चुनौतीलाई पार गर्दै अर्थपूर्ण जिन्दगी बाँच्न चाहन्छु ।
– तैमुरसित कतिको ठाकठुक चलिरहन्छ ?
– दादा ! त्यो त लोग्ने स्वास्नीमा भइरहने कुरा हो । तर, एउटा कुरामा भने मलाई, बिहे भएको यतिका वर्षपछि पनि बेलाबेला रिस उठिरहन्छ । तैमुरले उसको उमेर मलाई ढाँटेकोमा । ऊ मभन्दा १२ वर्षले जेठो रहेछ । रिस उठेको बेला म यो कुरा निकाल्छु ।
फरिदाले लामो सास तानेर अतितबाट वर्तमानमा फर्किन् । लेट्स गो टु वर्क दादा ! वर्क, वर्क, वर्क भन्दै गइन् !
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग