अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो

अमेरिकाका सर्वाधिक खुसी र दुःखी राज्य , हवाईले सबैलाई उछिन्यो
प्रभात भट्टराई
न्यूह्याम्पसायर
 
यस्तो ठाउँ जहाँ बसोवास गर्नेहरु आपसमा प्रिय सम्बन्धमा गाँसिएका हुन्, एकअर्कामा प्रोत्साहन होस् र मनले चाहेको काम गर्न सबैले सघाउन् । झट्ट सुन्दा स्वर्गको अनुभूति हुने यस्तो ठाउँ धर्तीमै छ । 
 
हवाई
अमेरिकी मूल भूमिबाट हजारौं माइल टाढा रहेको हवाई अमेरिकाको सबैभन्दा खुसी एवम् स्वस्थ राज्यमा पर्छ । ग्यालप नेशनल हेल्थ एन्ड वेल बिङ इन्डेक्सको बुधबार सार्वजनिक रिपोर्टअनुसार हवाईले सन् २००८ मा सूचीकरण सुरु भएपछि सातौं पटक पहिलो स्थान हासिल गरेको हो । 
हवाई र कोलोराडोले मात्र लगातार उत्कृष्ट १० मा पर्न सफल भएका छन् । कोलोराडो यो वर्ष सूचीको छैटौँ स्थानमा छ । सर्वाधिक खुसी पाँच राज्यमा हवाईपछि क्रमशः योमिङ, अलास्का, मोन्टाना र युटा रहेका छन् । हवाई न्यानो मौसम र मनमोहक दृश्यका कारण मात्र सूचीको अग्रस्थानमा समावेश भएको होइन । ग्यालप नेशनल हेल्थ एन्ड वेल बिङ इन्डेक्सका रिसर्च डाइरेक्टर डान वाइटर्सका अनुसार हवाईले प्राकृतिक स्वरुप मात्र नभई समग्र सूचकांककै आधारमा अग्रस्थान हासिल गरेको हो । ‘त्यहाँ को बस्छन् र उनीहरुले कस्तो संस्कृति विकास गरेका छन् भन्ने नै सूचकांकको मूल आधार हो,’ उनले भनेका छन् । उनका अनुसार हवाईवासीहरुको सबैभन्दा ठूलो सबल पक्ष भनेको उनीहरुको सामाजिक गठबन्धन एवम् एकता नै हो । साथीभाइसँगको घनिभूत सम्बन्धमा रमाउने, करियर अघि बढाउने हवाईवासीहरुको जीवनशैलीले उच्च अंक प्राप्त गरेको हो । कति पैसा आर्जन गरेको छ भन्दा पनि कसरी जीवन बाँचेको छ भन्ने चाहिँ हवाईको लोभलाग्दो पक्ष रहको निर्देशक वाइटर्सको भनाइ छ । 
हवाई र कोलोराडोबाहेक सूचीमा राम्रो गर्ने राज्यमा अर्को टाढाको हिमाली राज्य अलास्का पनि पर्छ । ‘उनीहरुले पनि साँच्चिकै राम्रो काम गरेका छन्,’ निर्देशक वाइटर्सको भनाइ छन् । उनका अनुसार अलास्का शारीरिक तन्दुरुस्तीका आधारमा एक नम्बरमा छ । राज्यका ७० प्रतिशत जनताले सातामा तीन दिन या त्योभन्दा बढी कम्तीमा ३० मिनेट शारीरिक कसरत गर्ने गरेको बताएको उनले जानकारी दिए ।
सूचीको अन्त्यतिर हुने राज्यहरुको कथा भने फरक छ । वेष्ट भर्जिनिया यस पटक पनि फेरि ५०औँ स्थानमा दोहोरिएको छ । पहिलो पटक सन् २००८ मा मिसिसिपी अन्तिम स्थानमा रहेयता वर्षेनी वेष्ट भर्जिनिया माथि उक्लिन सकेको छैन । त्यसपछि अर्कान्सास, केन्टुकी, मिसिसिपी र टन्नेसी क्रमशः ४९, ४८, ४७ र ४६औँ स्थानमा छन् । 
वेष्ट भर्जिनियाको कथा वर्षेनी त्यही दोहोरिइरहेको वाइटर्सको भनाइ छ । मोटोपना, धुम्रपान, डिप्रेसन र शारीरिक दुखाइमा यो राज्य मुलुककै अग्रस्थानमा छ । राज्यका पाँचमध्ये एक जनाले आफूलाई डाइबिटिज लागेको बताउँछन् । ‘राज्यको डाइबिटिज नम्बर थाहा पाउँदा साँच्चिकै चकित भइन्छ,’ उनले भनेका छन्– ‘शारीरिक कसरत, सागपात एवम् मासुरहित खानपिनमा उनीहरु साँच्चिकै पछाडि छन्, सामान्य एवम् सरल जीवनशैलीमा फर्कन उनीहरुले धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’
समग्रमा सामाजिक एवम् वृत्ति विकाससम्बन्धी सूचकांकमा अमेरिकीहरु कमजोर बन्न थालेको रिपोर्टले देखाएको छ । ‘मैले परिवार एवम् साथीभाइबाट सकारात्मक ऊर्जा पाएको छु’, ‘म जीवनकै स्वर्णिम सम्बन्धमा छु’, ‘म दैनिक रुपमा जे गरिरहेको छु, त्यसबाट खुसी छु’, ‘मैले यस्तो नेता पाएको छु, जसले मलाई भविष्यप्रति उत्साहित बनाएको छ’ जस्ता प्रश्नमा थोरै मात्र अमेरिकी सहमत भएको वाइटर्सको भनाइ छ ।
अझ चिन्ताजनक तथ्य त डिप्रेसनपीडितको संख्याले उजागर गरेको छ । १८.५ प्रतिशत अमेरिकी वयस्कले आफूले कुनै न कुनै समय डिप्रेसनको उपचार गराएको बताएका छन् भने १३ प्रतिशतले अहिले नै डिप्रेसनको शिकार भएको उल्लेख गरेको छ । यो संख्या ग्यालप रिसर्चकै अहिलेसम्मको उच्च हो । डिप्रेसनबाट सबै उमेरका अमेरिकीपीडित भए पनि युवा एवम् किशोरहरुमा यसको चाप अझ धेरै देखिएको छ ।
(एजेन्सीको सहयोगमा)
 
 
 
 
 
 
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग