स्मार्ट सिटीको तार

स्मार्ट सिटीको तार
कुमार न्यौपाने
स्मार्ट सिटी ! थुप्रै चुनावी भाषणहरुलाई सम्झने हो भने स्मार्ट सिटी हेर्न हामी बैंकक, हङकङ पुग्नै पर्दैन थियो होला । स्मार्ट शहर बनाउन सबैभन्दा पहिला विभिन्न अवयवमा शहरभरि झुण्डिएका तारहरुको व्यवस्थापन प्राथमिकतामा पथ्र्यो होला । यो तारको शहरमा तारको लामै कथा बन्छ । अहिले मेरै घरबाट सुरु गर्छु– तारको छोटो कथा । मेरो टेलिफोन, टेलिभिजन र विद्युत्को मिटरबाट शुरु हुने विभिन्न रंगका तारहरू सडकको पोलसम्म फनफनी बेरिएर, तनक्क तन्किएर, झुण्डिएर अनि गुजुल्टेर पुग्छ । उताबाट आएको भनुँ कि यताबाट गएको । जताबाट शुरु गरे पनि यी तारहरुले खबर, सन्देश र संवाद ल्याउँछ । यिनै तारबाट स्मार्ट विकास शुरू गर्नुपर्छ अनि त्यसले गौरवका गीत ल्याउँछ, संस्कारका सूचना अनि सफा र सुन्दरताको मार्गचित्र पनि ल्याउँछ ।
विषय र शब्दहरुको औचित्य र अर्थ खोज्न तारहरुलाई पछ्याउँदै जाँदा कुन बिन्दुमा पुग्दा भेटाउन सक्छौं होला ? छरपष्ट तारले हाम्रो मन मष्तिस्कमा ल्याउने यावत संवेदनाहरुलाई कहाँसम्म अनुभूत गर्न सक्छौं ? तार निर्जीव हो तर यसले कहीँ फूलका लहराहरु, कहीँ चराचुरुङ्गीहरुलाई वास चैं दिएको होला केही हदसम्म । उनीहरुको अस्तित्व र थकाई मेट्ने आधार दिएको त होला, तर गाउँबाट जति–जति शहर छिर्दै जान्छ तारले आफ्नो सन्तुलन गुमाएकोे छ । स्मार्ट भन्ने गरेको र फेशनको रगजग भएको शहरमा भित्रिँदै जाँदा तार बेढंगी बेपरवाही भएको छ । उहिलेको दरबारिया जालझेल र पटक–पटकका शासकहरूको नलायकीपन आज सडक तथा पोलपोलमा छरपष्ट कुदिरहेको छ ।
याद गर्नुभएको छ ? यी तारहरु विभेदी पनि छन् । मेरो घर, उसको घर, उनीहरुको घर सर्वत्र अटेर गरी असभ्य भई झुण्डिने तारहरु प्रभावशाली दूतावास भवन अगाडि नियन्त्रित छन् एवम् अनुशासित छन् । विदेशी तथा शक्तिको सामु नतमष्तक हुने, भूमिगत हुने तारहरुको व्यवहार ताज्जुब लाग्ने खालको छ । यद्यपि, यसकोे नियती पनि त्यस्तै छ, आफ्नो शक्तिको प्रयोग गरी आफैँलाई नियन्त्रण गर्ने आदेश मानिरहँदा कसलाई राम्रो लाग्ला ! कसले अनुभूत गर्ला, कसले हेर्ला ? शहरका पोलहरुमा प्रविधिको विकास झुण्डिएका त छन् । तर सँगै बेथिति, भ्रष्टाचार र अनियमितता पनि झुण्डिरहेका छन् ।
केही वर्षअगाडि एउटा सनसनी खबर आयो– ‘यी तारहरुमध्ये एउटा तारको माध्यमबाट काठमाडौंका जति पनि तारहरु छन् सबैलाई भूमिगत गरिनेछ ।’ अस्तव्यस्त सडकमा झुण्डिएका तारहरुले आक्रान्त जनताहरू सुनेर हर्षित भए । तत्काल खुसी हुनेमा म पनि परें । त्यो समाचार सुनेदेखि आजसम्म मेरो आँखा र आशा उत्तिकै जागरुक छन् ।
प्रत्येक बिहान आँखाहरु त्यही तारहरुमा झुण्डिँदै महाराजगञ्ज, लाजिम्पाट हुँदै बबरमहल पुग्छ र अनुमान गर्छु आज केही तारहरु घटे कि उत्तिनै छन् पोलहरुमा ? कौतुहलताले निचोरेको हुन्छ, व्यग्रताले अँठ्याएको हुन्छ । सडकपेटी खनेको देख्नेबित्तिकै सूचना पाटीको सूचना पढ्छु कि तार भूमिगत परियोजना लेखिएको देखिन्छ कि भनी ! निरन्तर निराशा । अफिस जाँदा आउँदा बाटोभरि सोच्छु विदेशमा किन र कसरी सबै चिज व्यवस्थित ? यहाँ पनि किन विदेशी कार्यालयको अगाडि व्यवस्थित ? शक्तिकेन्द्र वरपर व्यवस्थित ? ती ठाउँहरुको तारहरुलाई सबैले देख्दैनन् । नजेलिएका र जेलिएका तारहरुबाट सम्प्रेषित हुने सबै विचारहरु जेलिएका वा नजेलिएका हुन्छन् भन्ने हैन । यो शहरले हजारौं टन तारहरुलाई झेलेको छ भनुँ या स्थान दिएको छ । लाखौं किलोमिटर तन्किएको छ । सज्जन, दुष्ट, इमान, बेइमान, सदाचारी, भ्रष्टाचारी, नेता र अपराधी सबैलाई सबैसँग गाँस्न सक्ने यो तारको महिमा अपरम्पार छ ।
प्रविधिसँग जोडिएर हुने दुर्घटना असामयिक हुन्छन् या प्रायोजित यहाँ नाङ्गो तारहरुसँगै नाङ्गिएको मान्छेको सपनाहरु त्यही हजारौं टन तारमुनिको अँध्यारोमा उद्वेलित हुन्छन् । कयौं मुटु कमाउने घटनाहरु त्यही तारहरुको मुन्तिर उसैलाई साक्षी राखी भइरहेका हुन्छन् । यो भयो, त्यो भयो भन्ने अप्रिय समाचारसँगै उज्यालो चाहियो भन्ने नाउँमा सोलार प्यानल ठड्याइन्छ रातारात सडकभरि तर ती सोलार बत्ती आम मान्छेको समस्यालाई सम्बोधन गर्न सक्षम छन् ? अँध्यारो चिर्न पर्याप्त छ ? त्यसको उज्यालोले जघन्य अपराधहरुको संख्यामा कमी ल्याएको छ ? सडक दुर्घटनामा उल्लेख्य कमी ल्याएको पनि पक्कै छैन किनकी ती बत्तीका योजना नै धूमिलरुपमा ल्याइएको छ । शहरका लागि चाहिने रात्री बत्तीको स्टयाण्डर्ड मापन अध्ययन नै नगरी अन्धाधुन्द ठेक्का दिइएको छ । अँध्यारो हटाउनका लागि चाहिने दीर्घकालीन उज्यालोको सट्टा धमिलो, मधुरो विकास ल्याइएको छ । विज्ञापनमुखी छ । उज्यालो काठमाडौं योजना बनाउनेहरुको मस्तिष्कको मापन त्यही सोलार बत्तीले प्रतिविम्बित गरेको छ । ठूलो मस्तिष्कसँगै अलि ठूला प्यानल आकाशतिर फर्काउँदा सायद कसैलाई मर्का पर्दैन होला भन्ने सामान्य सोचले शहरमा उज्यालो थप्थ्यो कि ? वर्षौं अघिको शहरलाई ताररहित उज्यालो बनाउने समाचार फेरि चर्चामा छ। यी फेरि पनि समाचारकै रुपमा नमरोस् ।
(लेखक अधिवक्ता हुन् )
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग