ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा

ट्रम्पको भन्सार शुल्क नीतिले काम गरेन, २०१८ मा दशककै उच्च व्यापारघाटा
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्तरिक उत्पादनलाई बढावा दिने भन्दै बिभिन्न मुलुकलाई लगाएको भन्सार शुल्क प्रभावहिन देखिएको छ । भन्सार लगाए पनि विदेशबाट आयातित सामानको परिमाण निरन्तर उकालो लागेको छ भने निर्यात तुलनात्मक रुपले बृद्धि हुन सकेको छैन । सोही कारण सन् २०१८ मा अमेरिकाले १० बर्षकै उच्च ब्यापारघाटा व्यहोरेको छ ।
 
अमेरिकी बाणिज्य विभागले बुधबार जारी गरेको बार्षिक रिपोर्ट अनुसार सन् २०१८ मा अमेरिकाको समग्र व्यापार घाटा ८९१ अर्ब अमेरिकी डलर पुगेको छ । त्यसको झण्डै आधा हिस्सा एक पछि अर्को भन्सार थोपरिएको चीनसँगको व्यापार घाटाले ओगटेको छ । अर्थात गत बर्ष चीन सँग अमेरिकाले ४१९ अर्ब अमेरिकी डलर ब्यापार घाटा व्यहोरेको छ । दुई देशको व्यापारमा अमेरिकाले ब्यहोरेको यो ऐतिहासिक उच्च घाटा अंक हो ।
 
ट्रम्पले आफु निर्वाचित भए देखिनै चीनबाट आयात कम गर्न भन्दै भन्सार लगाउन थालेका थिए । तर, त्यसको प्रभाव आयातमा देखिएको छैन । उल्टो भन्सार शुल्कका कारण महंगिएको बस्तु खरिद गर्न अमेरिकी उपभोक्ता बाध्य भएका छन् । 
 
बर्षको अन्त्यमा ब्यापारघाटाले अझ ठूलो छलाङ मारेको छ । सन् २०१८ को नोभेम्बरको तुलनामा डिसेम्बरमा १९ प्रतिशतले घाटा बढेको हो । तथ्यांकले ट्रम्पको ‘अमेरिका फष्ट’ नीति पनि व्यवहारिकताबाट धेरै टाढाको देखाएको छ । गएको बर्ष साढे सात प्रतिशतले आयात बृद्धि हुँदा निर्यात ६.३ प्रतिशतले मात्र बढेको हो ।
 
ट्रम्पको प्रस्तावमा रिपब्लिकन बहुमत संसदबाट सन् २०१७ मा पारित कर कटौती कानूनले पनि व्यापारघाटालाई बढावा दिएको छ । सरकारले कर कटौतीपछि खर्च धान्न ऋण लिएको थियो र यसमध्येको केही रकम विदेशी लगानीकर्ताबाट समेत आएको छ । 
 
साथै गत बर्ष अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले चार पटक ब्याजदर बृद्धि गरेको थियो । त्यसले डलरलाई सबल बनाउँदै महंगोमा विदेशी उत्पादन खरिद गर्न बल पुगेको थियो । सन् २०१८ सन् २००६ पछिको लगातार तीन बर्ष ब्यापार घाटा उकालो लागेको बर्ष बन्न पुगेको छ । धेरै अर्थशास्त्रीले बस्तु ब्यापारघाटाले अमेरिकाका लागि खास टाउको दुखाइ नरहने बताउँदा बताउँदै पनि ट्रम्पले भन्सार लगाएर त्यसलाई कम गर्ने दावी गरेका थिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग