इथियोपियन एयरको बोइङ दुर्घटनामा एक नेपाली सहित १५७ को मृत्यु

इथियोपियन एयरको बोइङ दुर्घटनामा एक नेपाली सहित १५७ को मृत्यु
न्यूयोर्क
इथियोपियन एयरलाईन्सको बोइङ ७३७ म्याक्स ८ जहाज दुर्घटनामा एक नेपाली सहित १५७ जनाको मृत्यु भएको छ । इथियोपियाको राजधानी स्थित अडिस अबाबा एयरपोर्टबाट केन्याको नैरोबीका लागि आईतबार उडेको जहाज स्थानीय समय अनुसार ८:४४ बजे सम्पर्क बिहिन भएको थियो । टेक अफको छ मिनेटमै जहाजले सम्पर्क गुमाएको इथियोपियन अधिकारीले जनाएका छन् ।
 
दुर्घटनामा गोरखा घर भएकी एकता अधिकारीको समेत मृत्यु भएको छ । उनी इथियोपिया स्थित विश्व खाद्य कार्यक्रम (डब्लुडब्लुएफ) मा कार्यरत थिइन् । बेलायतमा अध्ययन गरेकी एकता चारले चार बर्ष अघि डब्लुडब्लुएफको जागिर सुरु गरेकी थिइन् भने गत सेप्टेम्बरमा मात्र इथियोपिया पोष्टिङ भएकी थिइन् । अफिसियल कामको सिलसिलामा नैरोबी जान लाग्दा उनको मृत्यु भएको हो । बिमानमा आठ चालक दलका सदस्य र १४९ जना यात्रु थिए । कसैको पनि शब चिनिने अवस्थामा नरहेको कारण फरेन्सिक जाँच गरि परिवारलाई बुझाउने एयरलाईन्सले जनाएको छ । 
 
जहाजमा ३५ देशका नागरिक रहेको एवं सबैभन्दा धेरै केन्याका ३२ जना मारिएको एयरलाईन्सले जनाएको छ । यात्रामा चीनका आठ र भारतका चार नागरिक थिए । जहाजमा एकता सहित ठूलो संख्या संयुक्त राष्ट्र संघका कर्मचारी रहेको जनाइएको छ । सोमबारबाट नैरोबीमा युएनको वातावरणीय महासभा सुरु हुन लागेको कारण पनि धेरै कर्मचारी केन्या हिँडेका थिए । तर, सबैले युएनको पासपोर्ट प्रयोग नगरेको कारण यति नै जना युएन स्टाफ थिए भन्ने चाहिँ प्रष्ट भइ नसकेको स्थानीय अधिकारी उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युएन महासचिव एन्टोनियो गुटेरेजले विज्ञप्ती जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन् ।
 
गत अक्टुबरमा लायन एयरको जहाज इन्डोनिसिया स्थित जाभा समुन्द्रमा दुर्घटना हुँदा १८९ यात्रु मारिए पछिको यो दोस्रो ठूलो हवाई दुर्घटना हो । दुबै यात्रामा बोइङका नयाँ जहाज थिए । यसले बोइङ सुरक्षा प्रणालीमा थप प्रश्न समेत जन्माएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग