राष्ट्रसंघको निम्तो मान्न राष्ट्रपति भण्डारी अमेरिकामा

राष्ट्रसंघको निम्तो मान्न राष्ट्रपति भण्डारी अमेरिकामा
न्यूयोर्क/अमेरिका 
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार अमेरिका आइपुगेकी छिन् । संयुक्त राष्ट्र संघको आयोग ‘कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) को ६३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन् ।   
न्यूयोर्कस्थित जोन अफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलमा सोमबार बिहान ओर्लेकी राष्ट्रपति भण्डारीलाई स्वागत गर्न नेपाली राजदुत अर्जुनकुमार कार्की, अवैतनिक वाणिज्यदूत ऋषि ढकाल, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । 
सि एस डब्लु महिला समानता र शसक्तिकरणका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघको एक आयोग हो । राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद् अन्तर्गतको यो आयोगले महिलाको आर्थिक र सामाजिक उत्थानमा जोड दिंदैं आएको छ । राष्ट्र संघको मुख्यालयमा बिभिन्न मुलुकका महिलाको सहभागितामा हरेक वर्ष आयोगको अधिवेशन हुने गर्दछ । अधिवेशनमा बिभिन्न मुलुकका महिलाको राजनीतिक आर्थिक र सामाजिक अवस्था र उपलब्धिबारे छलफल हुने गर्दछ । महिलाका पक्षमा हाल सम्म भएका उपलब्धिबारे जानकारी गराउनका लागि राष्ट्रसंघले सबै सदस्य राष्ट्र मुलुकहरुका महिला मन्त्री लाई प्रत्येक वर्ष निम्तो पठाउने गर्छ । यस पटक भने महिला मन्त्री थममाया थापासंगै राष्ट्रपति भण्डारी पनि अमेरिका आएकी हुन् ।   
राष्ट्रसंघको मुख्यालयमा दुई साता सम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । शक्तिमा महिला विषयबारे हुने ‘वुमन इन पावर’ शिर्षकको बैठकमा राष्ट्रपतिले मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली महिलाको अवस्थाबारे पनि राष्ट्रपति भण्डारीले मन्तब्य दिने छिन् । राष्ट्रपति भण्डारीको चार दिने अमेरिका बसाइमा बिभिन्न कार्यक्रमहरु तय छन् । सोमबारै राती राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् भने राष्ट्रसंघका महासचिब एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसस शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनसंग पनि शिष्टाचार भेट गर्नेछिन् । इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग भेटवार्ता हुनेछ । बुधवार राष्ट्र संघका  लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् । 
राष्ट्रपति भण्डारीसंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा लगायत नेपाल सरकारका तर्फबाट उच्च पदस्त अधिकारीहरु सहित २२ सदस्य अमेरिकाको भ्रमणमा छन् । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग