समृद्धिसूत्र– चीनको गाई र भारतको दूध

समृद्धिसूत्र– चीनको गाई र भारतको दूध
पुरुषोत्तम लम्साल
प्रसङ्ग एक ः चार वर्षअघि उद्योगमन्त्री थिए महेश बस्नेत । ‘युवा’ संघबाट गएकाले तिनले ‘राष्ट्र’को आवरण ढाक्छन् कि भन्ने लागेको थियो । भ्रम रहेछ । बस्नेत आफैं ‘खग्गु’ रहेछन् । योगको भेषमा भारतको बजारमा समेत हैकम जमाउँदै गएका साधु अर्बपति रामदेवले मन्त्री बस्नेतलाई भारतको हरिद्वारमै बोलाएर सम्मान गरे । सम्मानको स्वार्थ थियो आयुर्वेदिक वस्तु उत्पादन गर्न उद्योग खोल्ने नाममा बीरगञ्ज क्षेत्रमा पर्ने विशेष आर्थिक क्षेत्रभित्रको सयौं बिघा जग्गा हत्याउनु । कोटेश्वर चोकबाट पूर्व लागेपछि तप्यूँतप्यूँ ओरालो हिंडेर पाँच मिनेटमा पुगिने जडिबुटी केन्द्रको बेथिति नजाच्ने, औषधी प्रशोधन केन्द्र खोल्न प्रस्ताव नजाँच्ने, जडिबुटी भण्डारण व्यवस्थापन गर्न प्रस्ताव नजाँच्ने मन्त्री बस्नेतलाई ऊ बेला रामदेवको पतञ्जली झ्याप्पै जँच्यो । प्रधानमन्त्री प्रचण्डसँग अंकमाल नै भएपछि रामदेवले पनि चाहिएको विधिविधान ‘यूँऽ’ गरे (मुखले मात्र) र हत्याइदिए जग्गा । लगानी बोर्ड र उद्योग विभागसँग अनुमति नै नलिई सञ्चालन गरेको उद्योगलाई राष्ट्रपति विद्यादेवी भण्डारीले झ्याप्पै उद्घाटन नै गरिदिनुभयो । उपेन्द्र महतो र समता महतोको अनुहार देखाएर २० हजारले रोजगारी पाउने भनिएको रामदेवको आयुर्वेदग्रामबारे के खोज्नु, के पस्नु ? विधिले ललाटमै ‘भारतीय स्वार्थअनुकूल हिंड’ भनेर लेख्दिएपछि ‘इन्द्रेको बाउ चन्द्रे’को पनि केही लाग्दैन ।
प्रसङ्ग दुई ः प्रधानमन्त्री थिए उनै पुष्पकमल दाहाल उर्फ प्रचण्ड । बजारमा हल्ला चल्यो रामदेवले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको जग्गा हत्याउन सबै चाँजोपाँजो जुटाए । विश्वविद्यालयका उपकूलपति कुलप्रसाद कोइराला नीति र इमान सबै फुकालेर रामदेवलाई जग्गा दिलाउन हात धोएर लागेनन् मात्र, सिंहदरबार र बालुवाटारको परिक्रमामा कुनै कसर छाडेनन् । ती उपकूलपतिलाई आफ्नै आयुर्वेद संस्थानको घाँटी निमोठेर रामदेवको काखमा चढाउने उत्पादन व्यग्रता थियो । झण्डै ३ हजार रोपनी जग्गाको दाउ थियो त्यहाँ । गौशाला, १ सय ५ शैयाको अस्पताल, उद्यानदेखि गुरुकूलसम्म बनाइदिने भनेर पचासौं वर्षका लागि कौडीको मोलमा जग्गा हत्याउने प्रपञ्च तत्कालका लागि स्थगित हुँदा भारतीय टेलिभिजनमा बजेको समाचार कम्ता रमाइलो थिएन ।
पश्चिमको जडिबुटी संकलन गरेर पूर्वमा प्रशोधन गर्ने र दक्षिणमा ब्राण्ड बनाएर पुनः यतै बेच्ने रामदेवको लीला अपरम्पार थियो । नेपालका सयौं प्रजातीका जडिबुटीमा हैकम जमाउने र त्यसलाई व्यापारिक स्वार्थमा भारत निकासी गर्नु नै उनको ध्येय थियो । तर, सरकारले आफैंले खोलेको आयुर्वेद अध्ययन संस्थानको स्तरोन्नती गरेर जडिबुटी संकलन, प्रशोधन र उत्पादन गर्नभन्दा रामदेवको चक्करमा गोलगोल घुम्यो । र, रामदेवका अगाडि त्वम् शरणम् ग¥यो । प्रचण्ड र रामदेवको एक झप्पीले नेपालका आयुर्वेद पण्डितका सपना चूर्णचूर्ण भए । फेरि पनि, ‘विधिले ललाटमै ‘भारतीय स्वार्थअनुकूल हिंड भनेर लेख्दिएपछि ‘इन्द्रेको बाउ चन्द्रे’को पनि केही लाग्दैन ।
जानकारीका लागि, अहिले पनि भारतमा पतञ्जलीको ९८ वटा उत्पादनको विज्ञापन नै भ्रामक पाइएको छ । खाद्यपदार्थसँग सम्बन्धित पतञ्जली उत्पादनहरु तेस्रो दर्जाको भेटिने क्रम जारी छ । नेपालको औषधी व्यवस्था विभागले रामदेवको पतञ्जलीका ७ वटा उत्पादन परीक्षण गर्दा ६ वटा घटिया फेला पारेर बिक्रीका लागि निषेध गरेको धेरै भएको छैन । यो नतिजा त्यतिबेला प्राप्त भएको हो जुनबेला भारतको पश्चिम बंगालमा भएको परीक्षणमा गुणस्तरहीन पाइएपछि त्यहाँको सैनिक क्याम्पमा पतञ्जलीको अमला जुश निषेध भयो ।
चाइनिज गाईको खेल नेपालमा समृद्धिको अजिब–गरिब सूत्र देख्न पाइन्छ । अब ग्रामीण क्षेत्रको आर्थिक विकास र गरिबी निवारणका लागि नयाँ सूत्र तयार हुँदै छ— चीनको गाई, भारतको दूध ।
नेपालमा गाई दान गरेर होइन लाखौंमा विक्री गरेर पुण्य (अर्बौं) कमाउन लागेको छ, चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन (सीएएएस) । प्रदेश ३ को सरकारले उक्त संस्थासँग सहकार्य गरेर केही हजार गाई भित्र्याएर दूधमा क्रान्ति गर्दै छ ! आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको वाणी साभार गर्दा क्रान्तिको उक्त तस्वीर देखिन्छ ।
गण्डकी प्रदेशबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनिसक्नु भा’छ, त्यही संस्थाबाट ४ हजार गाई झिकाएर श्वेत क्रान्ति गरिन्छ । घाँसबाट दाना उद्योग चल्छ, गोबरबाट ग्याँस चल्छ भनेर मुख्यमन्त्रीले भनिसकेपछि क्रान्ति नभएर सुख्ख ?
उक्त चिनियाँ संस्थाले नेपालमा गाई निर्यात गर्ने प्रयास अहिले होइन ८ वर्षअगाडि (सन् २०११) शुरू नै गरिसकेको हो । त्यो बेला हामीकहाँ न संविधान थियो न संघीयता । तर, सफल अहिले भए । नेपालका किसान भनिरहेछन्— ‘त्यो गुणस्तरको गाई हामीकहाँ नै छन्, त्यो भन्दा सस्तो र हावापानीअनुकूल छन् । उनीहरु भनिरहेछन्— विदेशी गाई किनेर स्वदेशी किसान नमारौं । तर, सुन्नपर्नेले सुन्दैन, कानमा बतास पसे पो !
३२ अर्बको चिनियाँ गाई भित्र्याएर हुन लागेको अर्थतन्त्रको सुधार मार्गचित्रको नियत किसानलाई मल खाडलमा जाक्ने देखिन्छ । उन्नत नश्लको स्वदेशी गाई उत्पादन गर्ने अभियान नै थिलथिलो पार्ने यस्ता नाथे समृद्धिसूत्र अजिब र वाहियात दुबै छन् । स्थानीय किसानलाई अनुदान, प्रोत्साहन र उत्पादनमा गतिशील राख्नभन्दा चुकुल ठोक्ने बाटो देखाउने गज्जब सूत्र ! १ लाख २५ हजार परिवारमा ४ हजार गाई भित्र्याएर हुन लागेको श्वेत क्रान्तिको सूत्र छैन त गज्जब ?
दूधमा चाहिँ अमूल सबैलाई थाहा छ भारत विश्वकै सबैभन्दा ठूलो दुग्धपदार्थ उत्पादन गर्ने देश हो । गाईको दूधमा अमेरिका अगाडि भए पनि समग्रमा भारत पहिलो ठूलो उत्पादक हो । भारत एक्लैले विश्वको १० प्रतिशत दुग्धपदार्थ उत्पादन गर्दछ । र, भारतको सबैभन्दा ठूलो दुग्ध ब्राण्ड हो अमूल । उसका १ लाख ३० हजार दुग्ध सहकारी अमूलकै देन हुन् । ग्रामीण इलाकाका किसानबाट अमूलले ८० प्रतिशत दुग्ध पदार्थ आपूर्ति गर्दछ । ७२ वर्षको इतिहास भएको मिल्क जाएन्ट अमूल नेपाली बजारमा नयाँ होइन तर अब गाउँका गोठगोठमा अमूलको छायाँ छाउन सक्नेछ । चार माना दूध संकलन केन्द्रमा लगेर चालीस रुपैयाँ हात थाप्ने गाउँका काकाकाकीको अनुहारबाट कान्ती हराएको दिन देख्नपर्ने दिन अब धेरै नहोला । किनकि दुग्धपदार्थमा अमूल भित्र्याएर नयाँ क्रान्तिको ढोका खुल्ने सम्भावना बलियो छ ।
भारतीय कांग्रेस पार्टी त्यागेर जनता पार्टीमा घुसेका रामसिंह परमार गुजरातबाट ६ पटकका विधायक हुन् । अमूलको बजार विभाग प्रमुख रहेका उनी आनन्द डेरीका प्रमुख उनै परमारको नेपाल दौर केही अघि निकै बाक्लो थियो । तीनपटक आउजाउ भइसकेपछि धुलाइएको तस्वीरले भन्छ, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासमेतको साथ र हात लिएर ५१ र ४९ प्रतिशतको खोल ओडाउँदै नवलपरासीमा उद्योग खोल्ने गृहकार्य भइरहेको छ ।
महामन्त्री कोइरालाले एउटा सन्दर्भमा अमूलले ‘उद्योग लगाउँदैन तर प्राविधिक सहयोग गर्छ’ भनेर बोले । अरु प्रश्नलाई विषयान्तर गर्दिए । कोइरालाले १०० प्रतिशत नै लगानी गरे पनि अमूलले नेपालमा उत्पादन क्षेत्रमा जरा गाड्नु भनेको दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपालको यात्रालाई अवरुद्ध गर्दिनु नै हो । नेपाल अहिले कुखुरा र अण्डापछि दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने बाटोमा छ । योजनाअनुसार अबको तीन वर्षमा नेपालले आफ्नो लक्ष्य भेट्छ । यो बेला बजारमा अमूल घुस्नुको अर्थ परीक्षण नगरीकन नेपालको सीमामा कारोबार हुँदै आएका भारतीय दूधलाई चोर बाटोबाट निमन्त्रणा दिनु नै हो । ४ लाख हालेर अमूलको फ्रेन्चाइज आउटलेट लिने नेपाली ४ लाखभन्दा बढी छन् । १० लाख हालेर आइसक्रिम पार्लर राख्ने अमूलको सुविधा हामीकहाँ लागू भयो भने के होला ?
सरकार ! टोनी हेगेनले ६५ वर्षअगाडि रसुवा जिल्लाको क्यान्जिंग उपत्यकाबाट देखेको सपना र त्यसका लागि गरेको प्रयासको याद गर्छौ ? नेपाली किसान, नेपाली उद्यमको घाँटी निमोठेर तिमी अमूललाई रातो गलैंचा बिछ्याउँछौ ? आफ्ना किसानलाई भारतमा जत्तिकै अनुदान, सुविधा र प्रोत्साहन दिएर समृद्धिको परख गर्न चाहँदैनौ ?
चीनको गाई र अमूलको दूध यदि तिम्रो 
समृद्धिको सूत्र हो भने
सरकार ! तिमीलाई धिक्कार छ ।
 

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग