विचारको युद्ध

 
 
दिपा राई पुन
बोष्टन
 
मेरो आत्मविश्वास सल्बलाउँछ
यो धर्तीमा एक दिन 
समयले आन्दोलन गर्नेछ
मानव समताको
समभावको हाँक गरेर
युद्ध हुनेछ 
विचारको 
 
हो ! आज 
त्यही तयारीको
कुरा गरौं
आफ्नै कुण्ठित बोधलाई
अभ्यंतर नजरले हेरौं
सहअस्तित्वको प्रौढतालाई
ग्रहण गरौं
नभए फेरि हार्छौ  
सदियौंबाट हारेको हामी
 
युद्ध जानु अघि
हामीलाई लादेको
देउकी तोडनु छ 
छाउपडी भत्काउनु छ 
झुमाको कुरा सुन्नु छ 
अनि कमलरीको मर्मस्पर्शी गाथा
यस्तै यस्तै रूढी–प्रिय कथा
सुनेर शान्त पार्नु छ दुखेको अन्तरंग 
अनि तोड्नु छ, फोड्नु छ 
संकुचनका पर्खालहरु 
विचारका शिखण्डीले !
 
विवाहको सौदाबाजी
दाइजोकै कारण 
जलेर तडपी मरेका आत्माहरूलाई
विचारको युद्ध गर्न 
फेरि जन्माउनु छ यो धर्तीमा
राउटे र चेपाङ्ग नारीका
चरचरी फुटेका खुट्टामा 
अझै पनि चप्पल छैन
हातमा कलम छैन
भोको पेट
दबिएका आकांक्षाहरु
उस्तै छन् सदियौं झैं 
समयान्तरले कुनै शेष गरेको छैन यो विभेद
हो त्यही अवशेषको पर्यवसान गर्न
विचारको जंग लड्नुछ ।
यस्तै निश्चल र निर्दोष नारीहरूलाई 
थमाउनुछ लेखनी
अलिकति चेतनाको घुटका
संजीवनी पिलाउनु छ 
जिउनुको अर्थ बुझाउनु छ
 
घरकै आँगनमा भनौं
हामी पनि सँगै हिड्छौं
जहाँसम्म तिमी हिड्छौ
तिम्रो आँखाको सपनाहरूले
मेरो आँखामा पनि बास माग्छ
हामीसँग सँगै ओर्लिएका हौं
यो धर्तीको छातीमा
म मात्र कसरी दुर्बल र दासी भए ? 
 
फेरि पनि संस्कृतिको नाममा 
बदनाम नबनोस् नारी
नबनाइयोस् अबला
हामी नारीको त्यो हारमा एउटा प्रण गरौं 
आज एउटा सम्झौता गरौं
हामी मलम बनेर घाउहरुमा
अमृत बनेर मृत्युमा
प्रेरणा बनेर जीवन भर
उत्साह, उमंग, साहसको नाममा
अनि मात्र हुनेछ
एउटा वशवर्ती आमाको
सारा सन्तान शिक्षित
शिक्षा र चेतनामा हुर्केकी
मानव चोलाको नारी स्वभिमान
सायद त्यही बेला
नारी मान्छे हुन्छ
विचारको युद्धमा
हर्षले विचारकै अस्त्र बोकेर
अग्र पंक्तिमा
जब नारी हुन्छिन् 
तब पो स्वर्ग बन्दछ परिवेश
दिक्पाल बन्दछन् सन्तानहरु
 
हो आज त्यही तयारीको 
कुरा गरौं 
त्यही बेला 
युद्धको बिगुल फुके पछि 
नारी दिवस मनाऔं ।।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग