नेपाली कामदारलाई जापानमा रोजगारीको अवसर, नेपालीले जापानमा १४ ओटा काम गर्न सक्ने

नेपाली कामदारलाई जापानमा रोजगारीको अवसर, नेपालीले जापानमा १४ ओटा काम गर्न सक्ने
 
काठमाडौँ । जापानमा नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउन सरकारले मार्ग प्रशस्त गरेको छ । आज नेपाल सरकार र जापान सरकारका अधिकारीबीच नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’मा हस्ताक्षर भएपछि जापानमा नेपालीका लागि रोजगारीको मार्ग प्रशस्त भएको हो । यो समझदारीसँगै जापानी कानूनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहारसहित रोजगारीको अवसर पाउने सुनिश्चित भएको छ । नेपाली श्रमिकले प्राप्त गर्ने पारिश्रमिक जापानी नगारिकले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सोभन्दा बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापनसम्बन्धी अभिमुखीकरण गरिनेछ ।
 
दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइँ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनको विषय समझदारीले समेटेको छ । त्यसैगरी नेपाली श्रमिक जुन कार्यक्षेत्रमा गएका हुन् सोही कार्यक्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिइने व्यवस्था पनि मिलाइएको छ । समmदारी हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यो समझदारीसँगै नेपाली कामदारलाई जापानमा रोजगारीका लागि जाने अवसर खुलेको बताए ।  
 उनले दुई देशबीच लामोसमयदेखि रहीआएको घनिष्ट सम्बन्धमा यसले थप घनिष्टता बढाएको बताए । नेपाली युवालाई रोजगारीका लागि जापानमा लैजाने विषयमा जापान सरकारसँग राखेको प्रस्तावलाई सहजरुपमा स्वीकार गर्दै वातावरण निर्माण गरेको भन्दै मन्त्री विष्टले जापान सरकार र जापानिज राजदूतलाई धन्यवाद दिए ।  
सम्झौताले नेपाली श्रमिकलाई जापानी कामदार स्वसरह सेवासुविधा प्राप्त हुने अवसर पनि मिलेको मन्त्री विष्टले बताए । उनले जापानमा दक्ष जनशक्ति पठाउने भन्दै नेपाल सरकारले जापानमा रोजगारीका लागि जाने श्रमिकलाई दक्ष बनाउन तालिम लगायतका व्यवस्था मिलाउने पनि बताए । 
सम्झौता अनुसार जापान सरकारले तोकेका १४ वटा कार्यक्षेत्रअन्तर्गत जापान जान चाहने सबै श्रमिकले जापानी पक्षबाट सञ्चालन हुने जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्ने छ । भाषा र सीप परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले टुङ्गो लगाउने छ।
 
सहयोग समझदारी पत्रमा नेपाली श्रमिकको भर्ना, जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभागअन्तर्गत एउटा छुट्टै इकाइको स्थापना गरिने व्यवस्था गरिएको छ । यसका साथै सहयोगको समझदारीपत्रको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधि रहने गरी एक संयुक्त समितिको व्यवस्था गरिएको छ । उक्त समितिले नेपाली श्रमिकको भर्ना, रोजगारी र स्वदेश फिर्तीलगायतका विषयमा अवलम्बन गर्ने विधि एवं प्रक्रियाको टुङ्गो लगाउनेछ ।
 
सन् २०१९ को अप्रिल १ देखि कामदार जापान लैजानेसम्बन्धी प्रक्रियाको थालनी गरिनेछ । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । कृषि, नर्सिङ केयर, सवारी सधान मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने व्यवस्था गरेको छ ।
 
सोही व्यवस्थाबमोजिम नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भएता पनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । जापानले दक्षिण एसियाका मुलुकमध्ये श्रमिक भित्र्याउने मुलुकका रुपमा नेपाललाई छनोट गरेको हो ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग