चन्द्रकान्ता— शक्ति बन्ने कि सकिने ?

चन्द्रकान्ता— शक्ति बन्ने कि सकिने ?
 
पुरुषोत्तम लम्साल
 
स्थानीय निर्वाचनताका मधेशमा एउटा अपील थियो । पृष्ठभूमिमा महाभारत युद्धमा कृष्णले अर्जुनलाई धनुष चलाउन निर्देशन दिंदै गरेको अवस्थाको तस्वीरमाथि एउटा प्रश्न छ– ‘यह मधेशका महाभारत है, इसमें रिस्ता नाता कैसा ?’ स्थानीयलाई उत्तेजित गराउन अपीलमा महाभारतकै उदाहरण छ, कौरव र पाण्डव पनि नातेदार थिए, अर्जुनले भीष्म पितामह र आचार्य द्रोणलाई उत्तिकै सम्मान आदर गर्थे, तर सत्यका लागि उनैले वाण चलाए । यसैले आफ्ना र नातागोता केही नभनी ‘कोठा बाहिर मत’ हाल्न उर्दी थियो अपीलमा ।
त्यो अपील चन्द्रकान्ता (सिके) राउतको थियो ।  
अफसोच ! मधेशका जनताले राउतलाई पटक्कै सुनेनन् वा पत्याएनन् ।
राउतले २०७४ जेठ २८ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई लिखित रुपमै ‘कोठली बाहर मोहर’मा सहकार्य गर्न अपील गरे । सबैलाई गरे । न दलहरुले सुने न नेताहरुले । बरु हाँसेर खिल्ली उडाइदिए ।
सरकारी आँकडामा ५० प्रतिशत बदर मत आए अन्तर्राष्ट्रिय समुदायलाई देखाएर बहुमतले नेपालको निर्वाचन बहिष्कार गरेको भन्ने र अलग देश माग्ने भन्थे राउत । उनले को–को अन्तर्राष्ट्रिय समुदाय भनेर सबैलाई खुलाउन नसक्दा त्यो अभियान तुहियो । राउतको ‘शासकों के मुँह परका तमाचा पूरे विश्व में गुँजेगी’ अभियान असफल भयो ।
स्थानीय तह निर्वाचनमा ‘ए मधेश के जवानो, अब मधेश तेरे हवाले’ भन्दै राउतले ५० प्रतिशत बदर मत नै ‘मास्टर स्ट्रोक’ भएकाले त्यहीँबाट नयाँ देश प्राप्त गर्ने सपना देखे । कम्तीमा १५ प्रतिशत बदर मत पुगे अन्तर्राष्ट्रिय समुदायलाई ठूलो मुद्दा हुने राउतको ठहर थियो । यही बुँदामा दर्जनौं नेताहरुसँग कोठे संवाद पनि गरे । अदालतले २०७० पुस २२ मा मतदातालाई ‘राइट टु रिजेक्ट’को अधिकार व्याख्या गर्दा हौसिएका राउत ‘प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले त्यो खारेज गरिदिएपछि ‘सेन्टिफ्ल्याट’ भए, हिस्स बूढी हरियो दाँत... ।
निर्वाचनमा वैद्य, विप्लव, गोइत समूह लगायतले चलाएको बहिष्कार अभियान र हिंसात्मक गतिविधिको उदाहरण दिएरै राउतले हिंसात्मक होइन सक्रिय बहिष्कार अभियान चलाए । हिंसात्मक घटनाले अन्तर्राष्ट्रिय सहानुभूति र समर्थन गुम्ने डर थियो, त्यसैले उनले मत बदर (कोठली बाहर मोहर) गर्न खर्चबर्चसहित प्रचार सामग्री छपाए । बदर मत बढाएर निर्वाचन खारेज गर्ने राउतको सपनाले पनि बल्ड्याङ्ग खायो । मतपरिणाम देखेर राउत फेरि ‘सेन्टिफ्ल्याट’ भए ।
संसद्मा ‘शून्य मधेशी’को सपना देख्ने मान्छे हुन् चन्द्रकान्ता राउत । ‘कि दुई तिहाई, कि शून्य’ उनको नारा हो । ‘दुई तिहाई भए जनमतले पेलेर र शून्य भए विद्रोहमार्फत’ उनको मन्त्र हो । यसैलाई उनले जनमतसंग्रहको सार बनाए । संघीय संसद्मा मधेशीको दुई तिहाईको परिकल्पना नै गलत हो भन्ने उनलाई थाहा छ । त्यसैले राउत मधेशवादी दलका नेताहरु ‘आदर्शवादी नभएको र खरिदविक्री भएर तुरुन्तै उपलब्धि खोसिने’ देख्छन् ।
राउतले मधेशकेन्द्रित सबै दललाई ‘नेपाली राष्ट्रवादी’को आरोप लगाएका छन् । क्षेत्रीय पार्टीहरुले पहिचानको मुद्दाबाट हट्दैहट्दै धोका दिएको उनको बुझाइ छ । ‘संविधान संशोधन नभई निर्वाचन हुँदैन’ भन्ने दलहरुको सन्दर्भमा राउतले ‘स्वार्थका खातिर सम्झौता गर्ने व्यक्तिबाट मधेश स्वतन्त्र नहुने’ निष्कर्ष निकाले । राउतकै भाषामा ‘मधेशी नेताहरुले बीबी (पत्नी), समधी (सम्धी), गर्लफ्रेण्ड (प्रेमिका)लाई सांसद र मन्त्री बनाउन मधेशी जनताको आन्दोलनको नाममा बली चढाए ।’ ‘संविधान जलाउने तर संविधानअनुसार भएको राष्ट्रपति र प्रधानमन्त्री निर्वाचनमा सहभागी हुने’ भनेर राउतले मधेश तताउन प्रयास गरे । त्यहाँ पनि असफल भए ।
लोकतान्त्रिक विधिबाटै नयाँ देश प्राप्त गर्ने राउतको अभियानमा भरथेग गर्ने दाता समूहलाई सरकारले पहिचान गरेपछि राउतको अभियानमा झट्का लाग्यो । त्यसपछि राउत निरन्तर सुरक्षाकर्मीको निगरानी र घेराबन्दीमा रहे । स्वतन्त्र मधेश गठबन्धनको नाममा लगानी गर्नेहरुको स्वर कमजोर हुन थाल्यो । गठबन्धनका बाँकेका नेता राममनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युलाई अन्तर्राष्ट्रियकरण गर्न खोजे । राउतको त्यो अभीष्ट पनि पूरा भएन । प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीसमेतलाई सिंगापुर, थाइल्याण्ड, बेलायत, अमेरिकालगायतका स्थानमा मुद्दा हाल्ने तयारीले पनि हावा खायो ।
राउतले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्यायिक अदालतमा गई नेपालको सदस्यता खारेज गर्न अगाडि बढाउने भनेर धेरैको दिमाग चाटे । तर, उनको आफ्नै घेराबाहिरका व्यक्तिबाहेकले त्यो महत्वाकांक्षालाई उट्पट्याङ करार गरिदिए । कुनैबेला २६ वटा हतियारधारी आपराधिक समूह थियो मधेशमा । राउतले उग्रतामा विश्वास गर्ने केही कार्यकर्ता त्यहाँबाट हात पारे । अर्को, राउतको अध्ययन, जागिर र त्यसबाट निस्केको ‘चार्म’ले युवापुस्ताका तर राजनीतिमा अनुभव नभएको एउटा पंक्ति आकर्षित भो । तर, यही पंक्तिको भरमा राउतले ‘अधिकार कि विखण्डन ?’ अभियान चलाउने सामथ्र्य तत्कालका लागि राख्दैनन् ।
धेरैपटक राउतको अभियानलाई पक्षपोषण गर्दै कलम चलाउन सिद्धहस्त सिके लालले एउटा लेखमा ‘पश्चिमाहरुले मधेशलाई भारतीय रुचिको मामिला भनेर पन्छाइदिन्छ’ भनेर लेखेका थिए । यही बीचमा छद्मभेषीहरुको मधेश यात्रा बाक्लिँदै गइरहेको र गैरसरकारी संस्थाहरुमार्फत तराई मधेशमा खुफिया लगानी बढ्दै गइरहेको निष्कर्ष सरकारले प्राप्त ग¥यो । अस्थिरताको खेती गर्नेहरुलाई राउत ‘मोहर’ बन्ने सम्भावना बढ्दै गएपछि सरकारले अतिमान दिएरै सही व्यवस्थित कैंची चलाएकै मान्नपर्दछ । त्यतिबेला राउतसँग तीनवटा विकल्प थियो— सड्ने, ढल्ने वा निस्कने । उनले तेस्रो र सहज विकल्प रोजे ।
राउत आफूभित्र नेल्सन मण्डेला देख्छन् । कहीँकहीँ गान्धी पनि देख्छन् । यी दुबै पात्र उनले ‘नेपालबाट मधेश अलग गराउँछु’ भनेर आफूभित्र साँचेको देखिन्छ । बुद्धको बारेमा त उनले राष्ट्रिय सभागृहमा भाषणमै बोले । तर राउत शुरुदेखि नै आफ्ना मुद्दालाई व्यवस्थित ढंगले अगाडि बढाउन ‘पर्फेक्ट’ देखिएका छन् । उनको यही राजनीतिक ‘पर्फेक्सन’मा केही विदेशी आकर्षित भएको हाल राउत अध्यक्ष भएको जनमत पार्टीका केहीको बुझाइ छ ।
जनमत पार्टी गठन गरेपछि राउतले आफूलाई नागरिक अभिनन्दन गर्न कार्यकर्तालाई निर्देशन दिए । उनी ‘पावर र प्रोपोगाण्डा’ दुबै देखाउन व्यस्त छन् । तर, सरकारसँगको सहमतिका कारण ‘जनमत दो, आजादी लो’ भन्न सकेका छैनन् । दल दर्ता नभई राउतले त्यसो भन्न थाले राउत पनि ‘इमिडियट एक्सिडेन्ट‘मा पर्न सक्छन् । तर, १० लाख पार्टी सदस्य बनाएर जनमतसंग्रहका लागि आन्दोलन घोषणा गर्ने लक्ष्यमा राउत विचलित देखिन्नन् । धेरैलाई राउतले स्वतन्त्र मधेश र मधेशमा जनमतसंग्रहको मुद्दा छाडेको जस्तो लागेको छ, तर राउतले ‘पुरानो मुद्दा स्थगित गरेर नयाँ बाटोबाट पुरानो मुद्दामा जाने’ भन्दै कार्यकर्तालाई आश्वस्त बनाउन थालेका छन् । सम्भवतः राउतले छलको मूल्यको हिसाब पनि गरेकै होलान् । यसलाई मधेश मामिलाका जानकारहरुले ‘राउतले अदालत र सरकारी दाउपेचबाट बच्ने सबैभन्दा सजिलो बाटो अख्तियार गरेको’ रुपमा टिप्पणी गरेका छन् ।
केही भन्छन्, ‘राजनीतिक इमानदारिता देखाए मधेशमै क्षेत्रीय दलभित्र विखण्डन भित्रन्छ र राउतको तेस्रो शक्ति उदय हुन्छ ।’ अर्थ हो, मधेशमा जुँगाको लडाइ छ समझदारी बढाए राउतको उदय नेताको रुपमा हुनसक्छ । एकातिर फोरम, राजपा र राउतबीच सहकार्यको सम्भावना कम हुनु अर्कोतिर नेकपा, नेपाली कांग्रेससँग वैचारिक लडाइ लड्न राउतको राजनीतिक सांगठनिक धरातल कमजोर हुनु, पेच यहीं छ । सत्ता र शक्तिमा रहेका दलहरुसँग पौठेजोरी खोज्न ‘अनसिन इन्भेष्टमेन्ट’ नभएसम्म कम्तीमा चार वर्ष थेग्न राउतलाई सजिलो हुँदैन । एउटा कुराचाहिँ पक्का छ, हिजोका राजद्रोही, हिजोका आतंककारी आज सत्तामा छन् म पनि के कम भन्न थाले भनेचाहिँ राउतको राजनीति पनि असयमै सकिन्छ । शहीदको व्यापार गरेर मधेशवादी दलहरुले सौदाबाजी गरे भन्दा पनि राउत लखेटिन्छन् ।
राउतका वासी, थोत्रा, सडेगलेका र औचित्यहीन पुराना अडियो भिज्युअल हेरेर सरकार र राउतको आलोचना गर्नेहरुले १ वर्ष त धैर्य गरौं । अबको १ वर्ष सरकारले निगरानी राख्यो भने नयाँ राउत आउलान् तर पुरानो राउतको बजार ‘साफ’ हुनु त छँदै छ ।
 
pluniquepuru@gmail.com
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग