हिउँमा हराउँदा...

हिउँमा हराउँदा...
 
कुमार न्यौपाने
हिमाली जिल्लाहरूमा हिउँ पर्नु सामान्य नै हो, तर पनि खेतीको समयमा पर्नु भाग्यको कुरा मानिन्छ । ओंठमा हाँसोसहित भन्ने गर्छन्– ‘अब त बाली सप्रने भयो । हिँउले पानीको स्रोत बढाउँछ ।’
नेपाल आफैँमा हिमाली देश, तर मैले हिउँ आँखाभरि हेरेको परारको साल अमेरिकातिर मात्रै हो । ४० हजार फीटमाथिको जहाजबाट खुबै हिउँ देखियो, विशेष गरी न्यूयोर्कबाट क्यालिफोर्निया उड्दा । हुन त हिउँदको समय परेर होला अधिकांश उडान हिउँमाथि थियो । त्योभन्दा अगाडि न्यूयोर्क, अल्बानी हुँदै नायग्रा फल्स पुग्दा हिउँको स्पर्श त छँदै थियो, तर पश्चिमको उडानमा देखिएको हिउँको मात्राले जिब्रो नै टोकाएको थियो । हुन त ‘ब्ल्याक सी’बाट अगाडि बढेदेखि नै युरोपीय हिउँका आकार र मात्रा देखियो । लण्डन र न्यूयोर्कबीच ३,४७० माइल फैलिएको एटलान्टिकमा हिउँका ढिक्काहरु हेर्दै गर्दा टाइटानिक याद आयो, ज्याक अनि रोज पनि । त्यही अभागी आइसबर्ग, जसले आजसम्म बदनाम कमाएको छ । याद आयो त्यही कथा त्यो माइनस टेम्प्रेचरमा यदि हवाईजहाज खस्यो भने पौडी खेल्न जान्ने र म जस्तो नजान्ने बीचको के भिन्नता होला ? क्यानाडाको दक्षिणपूर्वी पुछार नोभा स्कटियादेखि न्यूयोर्क लगभग हिउँभित्र नै थिए ।
म बेलाबेलामा हेटौंडाबाट काठमाडौं उक्लँदा सिमभन्ज्याङ, दामनतिर परेको अलिकति चिप्ले हिउँ देखेकोलाई हजारौं माइल हिउँ नै हिउँको धर्तीले हिउँमा हराएको भन्न बाध्य पा¥यो ।
हिमयात्रा स्मरण गर्दा अर्को हिउँको देश स्वीट्जरल्याण्डको यात्रा सम्झन्छु । रोमबाट फ्लोरेन्स हुँदै भेनिसतिर रेलबाट हानिँदा देखिएको आल्पसको छेउ पर्ने होचा (नेपालीलाई होचा लागेको हुनसक्छ) हिउँका पहाडहरु र पछि जेनेभा शहरको एक छेउबाट जेनेभा लेकको किनारैकिनार पुगिने अर्को छेउको मोन्ट्रक्स शहर हिउँको काखमै देख्दा अचम्म लाग्यो । मेरो लागि भने प्रतिकूल हिउँ यात्रा थियो त्यो सायद । चिसोमा फ्लेवरवाला फ्रेन्च दहीका बट्टाहरु रित्तो पार्दा जति मज्जा आएथ्यो, त्योभन्दा कम थिएन मोन्ट्रेक्स पुग्दा युरिक एसिडको आक्रमणको पीडा । एकजना सानो यात्री (छोरी शैवी) र उसकी आमा (श्रीमती सुधा) सँगै हामी जम्मा तीनमध्ये म लगभग लङ्गडो हुँदै जेनेभा लेक वरपरको हिउँ चैं खेल्न छाडेनौं । अर्को दिन मबाहेक सबै गु्रयरे तीरको चीज र चकलेटको स्वर्ग मानिने ठाउँ घुम्न गएपछि होटलको झ्यालबाट जेनेभा लेकपारिको हिमाल नै मेरो लागि सबै आल्पस थियो । एक स्वीस सहयोगीले हामी नेपालबाट भन्ने थाहा पाएपछि सोध्यो– ‘तिमीहरु त हिउँमै हुर्केका होलाउ है ?’ हामीले मुखामुख गरेर टा¥यौं । उसको सोचाइ पनि ठीकै हो, हाम्रो जस्तै भूपरिवेष्ठित देश, जहाँ हिमालको फेददेखि झण्डै टुप्पैसम्म सररर रेल कुदेको देख्दै हुर्केको व्यक्तिको मनमा त्यस्तो सोच आउनु जायजै थियो । तर, अर्को कुरा उनीहरुको सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथाको बेस क्याम्पतिर आइपुग्थ्यो । अलिकति झूट बोलेर स्वीस हिउँ खेलियो ।
अर्को स्मरण ७–८ वर्ष अगाडि लमजुङको घलेगाउँको । त्यो पाखाको हिउँ मायालु थियो । स्कुले साथीको योग दिवस मनाउने कार्यक्रमको निम्ता मान्न त्यहाँ पुगेको थिएँ । घले पोशाक, स्थानीय फूलको माला, घोडा, भेंडीगोठ र आत्मीय व्यवहारले किन फर्किने कार्यक्रम राखे होलान्झैं भएको थियो । गएकै दिन नाकैमा ठोक्किनेझैं गरी ठडिएको मनास्लुलाई रातै पर्दा पनि छोड्न मन थिएन । त्यही रात हिउँ प¥यो फुरफुर ! त्यो नै जीवनमा पहिलो पल्ट झर्दै गरेको हिउँको अनुभव थियो, खुबै खुशी लाग्यो । हिउँ आफैं चैं त्यति चिसो हुने हैन रहेछ । लाग्यो हिमाली भेगको हिउँभन्दा बरु आफ्नै मान्छेहरुका मनहरु चिसा । त्यता सबैका मन न्याना ।
काठमाडौं नजिकको हिमाल जुगल यदाकदा उडानका क्रममा देखिएका हिमाली शृङ्खलाबाहेक मेरा लागि त्यही सीमभन्ज्याङ र घलेगाउँ नै नेपाली हिउँ र हिमालको दर्शन थिए । हिउँसँगको साक्षात्कार थियो । यद्यपी, युरोपमा हाम्रो घर–आँगन नै हिउँ हो जस्तै गरी गफ लाइयो । यो वर्ष भने आफ्नै घरछेउ हिउँ आइपुग्यो । मानौं हिउँले जिस्क्यायो, ‘म आएँ ल आइज भन्दै !’
बिनायोजना हिउँलाई भेट्न कुदें । ‘नेपाललाई फु–मन्तर गरेर सिंगापुर, स्वीजरल्याण्ड बनाइदिन्छौं अनि रेल चढेर हिउँ खेल्न जाऊ’ भन्ने नेतालाई सम्झँदै सकससँग शिवपुरीको फेद मुहानपोखरीसम्म गाडी लाने हिम्मत गरें । पाखैपाखा उकालो लागेपछि छिटफुट हिउँ भेटियो । सबैमा त्यही उत्साह थियो कि आफ्नो अगाडि हिउँको थुप्रो होस् । सेल्फी, लाइभ भिडियो, प्रोफाइल पिक्चर, स्नोम्यान अनि आफूलाई तेन्जिङ र जुन्को तावेइ ठान्दै हिउँको कथा कोर्ने सपना । धेरैबेर माथिमाथि हिडिरह्यौं । 
घरमा जुन जुत्ता थियो त्यही लगाएर जाँदा मनमा लागेको त थियो यो जुत्ताले पछार्छ भन्ने, हो त्यस्तै भयो पनि । दुई दर्जन पटक पछारिंदा पनि टाउको चैं जोगियो । आफू निकै पल्ट शिवपुरी चढेको पनि हो, लगभग नाइके जस्तै गरी । मेरै जिम्मामा सँगै हिँडेका साथीहरु मैमा भर परेका पनि थिए । घर नजिकैको जंगलमा हिउँको खोजी, गुराँसको रङ्ग अनि रोमाञ्चक यात्रामा निकै बेरसम्म कसले घडी हे¥यो र ? उक्लिँदाउक्लिँदै बोकेका खानेकुरा र पानी सिद्धिदै गर्दा बाटोको डोबहरु कतिबेला हिउँले पुरिसकेछ र कतिखेर हराएछन् पत्तै भएन । अघिपछि रहेका हिउँ खोजी गर्नेहरु कहाँ छुटेछन्, अब चार जनाबाहेक कहिलेकाहीँ देखिने मृग र चराहरु मात्र साथी भए ।
एकतमासको बाक्लो भिरालो जंगल, हिउँको भारले ढलेका रुखहरु, भाँचिएका हाँगाहरु, ढकमक्क गुराँसका झुप्पाहरु र बाक्लिँदो हिउँको बाटो । चकमन्नमा जब घडीले ४ बजेको संकेत ग¥यो । मस्तिष्कमा एकतमास डर पैदा भयो– ‘साँच्चिकै हराइएको हो ?’ ढकमक्क गुराँस बीचमै ढक्क फुल्यो मन । हिउँको रोमाञ्चकता मलिन भो । मुद्रा  गम्भीर भयो । वातावरण अझ बिग्रियो । कालो बादल, गड्याङगुडुङ गर्दै हिउँ पर्ने गति बढ्दै थियो, इन्टरनेटको संकेत थिएन, मोबाइल नेटवर्कले काम नगरेको निकै भइसकेछ । अलि अघि सायद यस्तै केही सोचेर एउटा भिडियो लाइभ पोस्ट गरेको थिएँ, लाग्दै थियो त्यो पोस्ट भएन होला, पुवर नेटवर्क !
हराउँदाको पल बोध गरें ।
जब आफ्नो खाना पानी सकिन्छ, इन्टरनेट, फोनको नेटवर्कले काम गर्दैन, बाटो पत्ता लाग्दैन, मौसम अत्यन्त प्रतिकूल बन्छ, अघि आएको बाटो फर्कन सकिँदैन, त्यतिबेला घडीले निर्मम तरिकाले कुदाउँदो रहेछ ।
पढेका सुनेका कुरा मनमा सल्बलाउन थाल्यो– ‘गोदावरीमा हराएका, धेरै पहिला चोभारको गुफामा हराएका मान्छेहरू, शिवपुरी जंगलमै भेटिएका बेवारिसे लासहरु, अमेरिकी बास्केटबल टोली लिएर उडेको हवाईजहाज चिलीको एण्डिजमा खस्दाको भयावह दृश्यहरु, नेशनल जियोग्राफिकको लस्ट एण्ड सर्भाइभर भन्ने कार्यक्रम आदि सबै । 
धेरैबेरपछि स्वर गुञ्जियो अचानक ! साँच्चिकै मान्छेलाई मान्छे नै चाहिने रहेछ । अचम्मको खुसी सञ्चार भो । आवाज पछ्याउँदै जाँदा देउराली भन्ने ठाउँ रहेछ, २४३८ मिटरमाथिको एउटा हिउँको थुम्को !
हराउँदाको समय थोरै भए पनि मनमा आएका धेरै कुराले देउराली छिचोल्दा अर्कै संसार आइपुगिएको भान भयो । निकै मान्छेहरु उफ्रिँदै गरेका, लडिबुडी गर्दै गरेका, सेल्फी, लाइभ भिडियो अपलोड गर्दै गरेका, हिउँको मान्छे बनाएका रहेछन् । पीडामिश्रित खुसीलाई अँगाल्दै ती नहराएका मान्छेहरु सँगसँगै रमाउँदै उनीहरुभन्दा पहिला नै घर फर्कने निर्णय गरियो सोच्दै कि फेरि हराइयो भने ? कुदियो छिटोभन्दा छिटो तातो चिज भेट्टाउन, नागी गुम्बा ! किन हो त्यो बेला शहरझैं लागेको थियो गुम्बा परिसर । तर, त्यहाँ भेट्टाइएको कालो चियाको स्वाद र त्यसको मूल्यसँगै त्यसले चिसो हातलाई केही राहत दियो । मन तात्तिँदै आयो ।
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग