मेरो गीत बालगुरुको फोटाले सुन्छ

मेरो गीत बालगुरुको फोटाले सुन्छ
 
विनोद रोका
रक्षाले आफू एवेकन भएको दैवीसत्ताको चैत्यन्य स्वरुपसँग जोडिन पुगेको कुरा अनुभवको आधारमा भनिरहेकी थिइन् । यद्यपि, मेरो अहम्ले उनलाई छोरीकै हैसियतले हेर्न छोडेको थिएन । रक्षा र मेरा छोराछोरीहरु समकालीन हुन् । मैले रक्षालाई बच्चादेखि देखेको छु । त्यसैले मलाई उनीसँग बोल्न वा सँगै बस्न धक मान्नुपर्ने अवस्था थिएन । मलाई उनले भनिन्– ‘अंकल तपाईंको मनको गहिराइमा डर छ ?’ मैले भने अहँ छैन । अनि छैनको पुष्टिका लागि धेरै तर्कहरु थपें । उनले भनिन्– ‘तपाईंको बसाइको पोजिसनले नै देखाउँछ कि तपार्इंको मनको गहिराइमा डर छ ।’ त्यसपछि मैले रक्षाको अनुहारमा हेरेर कुरा गर्न थाले । उनी भने आँखा चिम्लिएको अवस्थामा थिइन् । लाग्थ्यो, उनी केवल बोल्दै थिइन् तर बोल्न लगाउने अरु नै कोही थियो । मलाई उनले भनिन्– ‘अंकललाई संगीत र साहित्य मनपर्दो रहेछ । प्लिज इन्ज्वाय इट ।’ मैले भनें– हो ।
मैले उनलाई भनें– ‘मैले लेखेको टुक्रे कविता र घोच्ने साहित्य त धेरैले मन पराउँछ तर मैले गाएको गीत र संगीत भने कोही सुन्न मान्दैनन् । किनकि मेरो स्वर कर्णप्रिय छैन । बाजाको तालसँग लय मिल्दैन । तर, मेरो रुचिको विषय भएको हुँदा म आजकाल एक्लै पागलझैं गाउँछु ।’ मैले रक्षालाई मेरो एउटा आध्यात्मिक गीतको स्थायी र अन्तरा सुनाएँ । यद्यपि, यस गीतमा चाहिने व्याकरण मिलेको छैन । तर, मेरो भावलाई नियमले बाँध्न सकेन ।
 
म पागल हुँ एउटा पागल खोज्दै छु
म थोपा हुँ एउटा सागर खोज्दै छु
जो देख्न सक्छ आगोमा पानी
जो विष पिउँछ अमृत ठानी
म अँध्यारो भित्र उज्यालो देख्छु
त्यही उज्यालोले आफूलाई छेक्छु ।
 
अनि मैले उनलाई भनें– ‘अरु कसैले मन नपराएपछि मैले गाएको गीत मेरो अस्तित्व, भित्ता वा भित्तामा टाँगिएका फोटाले सुनेर आनन्द लिएको अनुभव गर्छु । म गीत गाउँदै गर्दा धेरै पटक रोएको छु– भित्ता र फोटोमा हेरेर । मलाई लाग्छ त्यो सुन्ने भित्ताको फोटो बालज्ञानी गुरु आदित्यको हो । जुन फोटो मेरो बैठक कोठाको पूर्वपट्टिको भित्तामा टाँगिएको छ । अनि विपरीत दिशा अर्थात् पश्चिमपट्टिको भित्तामा नेपाली चित्रकारद्वारा बनाइएको ठूलो शिवजीको पेन्टिङ टाँगिएको छ ।’ 
 उनले आँखा चिम्लिएकै अवस्थामा भनिन्– ‘होइन अङ्कल, भित्तामा टाँगिएको ठूलो फोटो शिवजीको जस्तो छ । उहाँले सुनिरहनुभएको छ । शिवजी भन्नुहुन्छ म सुनिरहेको छु तिमी गाऊ । बजाऊ ।’ उनको भनाइले मेरो अन्तरमनमा छोयो । किनकि भौतिक शरीर भएको एउटा मान्छेले त भन्यो कि ‘मेरो नमिठो स्वर पनि कसैले मिठो मानेर सुन्दो रहेछ ।’ यो कुरा मेनुका (मेरो श्रीमती)ले पनि रक्षाबाट सुनेपछि मलाई अरु थप आँट आयो । अब कम्तीमा मैले गाएको र बजाएकोमा उनलाई आपत्ती हुने छैन ।
वास्तवमा मैले गीत, संगीत र साहित्यको शौख लामो समयदेखि पालेको हुँ । मैले रक्षालाई भनें– ‘करिब दुई दर्जन जति गीतहरु सिडी र म्युजिक भिडियोमा आएका छन् । गीत संग्रह निकालेको छु । शम्भुजीत, रामकृष्ण, दिपेश किशोर, जगदिश, अन्जु, मनोज, माण्डवी, हरिश, गम्बु शेर्पा, कर्णदास, कन्हैया, अनिता, दिनेश, रोविनजी लगायतका कलाकारहरु यसमा रहेका छन् । तर, प्रतिफलबिनाका गीतहरु खर्च गरेर निकाल्न नसकिने रहेछ । यद्यपि, मेरो लेख्ने बानी छुटेन । आजकाल प्रायः आध्यात्मिक भजन वा गीतहरु लेख्न थालेको छु । अनि लेखिएका गीतहरुले नै ‘मलाई गाइदे न’ भनेको अनुभूति हुन थाल्यो । त्यसैले हारमोनियम र किबोर्डमा ती शव्दहरुलाई गुनगुनाउन थालें बेनियमसित सेता र काला किबोर्डहरु चलाउँदै ।
केही दिन ओम (संगीतकर्मी) र गायिका सपनाश्रीसँग पनि म्युजिकको क्लास लिएँ । तर ‘क’देखि ‘ज्ञ’सम्म सिक्ने समय निस्किएन । अनि मेरो मनमा विश्वास के पलायो भने जसले लेखायो पक्कै उसैले संगीत र लय पनि सिकाउँछ । नभन्दै त्यस्तै भयो । मैले लेखेका आध्यात्मिक गीतहरुमा आफैले संगीत भरें । किनकि लय त्यही गीतमा भेटें । मैले एक दर्जनभन्दा बढी आफ्ना गीतहरु आफैले गाएँ । अनि मैले प्रदीप गिरी दाइलाई सम्झें । दाइले एकदिन भनेका थिए– ‘विनोद भाइ, गीतसँगै त्यसको लय र ताल पनि आएको हुन्छ ।’ त्यसबेला उहाँ न्यूयोर्क आउनुभएको थियो । हामी भारती दिदीको डेरामा डिनर खाँदै गफिएका थियौं । तर, उहाँको कुरा पत्याएको थिइन । मेरा गीतहरु यदाकदा मेनुकालाई सुनाउँछु र सोध्छु– ‘मिल्यो कि मिलेन ?’ उनी भन्छिन्– ‘संगीत सिक्न जाने ठाउँमा सोध्नु नि ? तपाईंको स्वरै नाके छ ।’ नजिकका साथीभाइलाई सुनायो– अरुलाई गाउन दिनुहोस् विनोद दाइ, राम्रो हुन्छ भन्छन् । त्यसैले हेडफोनको माध्यमबाट आफू मात्रै सुन्न थालें, अरुलाई डिष्टर्ब नहुने गरी ।
म एक्लै हुँदाचाहिँ हारमोनियम वा किबोर्डमा हेडफोनबेगर गाउन थालें । त्यसपछि मलाई लाग्न थाल्यो– ‘मेरो गीत मेरो स्वरुप वा मभित्रको ईश्वरले सुन्दै छ र म उसलाई नै सुनाउँदै छु ।’ आजकाल गाउँदा पनि अरु नभएको अवस्थामा आनन्द आउँछ । किनकि अरुले मिले नमिलेको कमेन्ट गर्छन् । तर, ऊ मैले जस्तो गाए वा बजाए पनि आनन्द मानेर सुनिदिन्छ । म आफनो अस्तित्व वा स्वरुपमा डुबेको हुन्छु– ऊसँगै । मानौं म थोपा हुँ र सागरमा हराइदिन्छु । अनि सागरसँगै बाँचिदिन्छु । इन्द्रबहादुर राईले आज रमिता छ भन्ने उपन्यासमा भनेझैं ‘वास्तविकताभन्दा ठूलो साहित्य छैन । विश्वको श्रेष्ठतम् कृतिमा तीन घण्टा डुब्नु र त्यसै तीन घण्टा बाँचेर बसिरहनुमा पछिल्लोमा कता हो कता धेरै साहित्य छ । अस्तित्वभन्दा ठूलो साहित्य छैन ।’
मैले करिब ७ वटा गीतहरुमा आफ्नै स्वर र संगीत राखी नरेन्द्र प्यासी भाइलाई जाँच्न दिएँ । उनले मेरो लयमा केही रागको कमी भएकाले परिमार्जन गरेर पठाइदिए । अनि मैले त्यो र आफ्नो दुवै अन्य केही संगीतकारहरुलाई दिएँ । तर, प्यासीभाइले परिमार्जन गरेको लयमा मैले गाउन सकिरहेको थिइन । किनकि मेरो रागमा अभ्यास छैन । अरु संगीतकारले त्योभन्दा केही पृथक राय दिए । त्यसपछि मैले अर्का संगीतकार, गायक र रेकर्डिष्ट ओमभाइको राय मागें । उनले पनि लयमा केही पृथकता भए मिठास हुने सुझाव थपे । म अनाडीले सोधें– ‘होईन हो ओमभाइ, रचनाले मागेको लय त एकै खालको हुनुपर्ने होइन र ? यहाँ त संगीतकारपिच्छेको लय त फरक देखियो नि ? यस्तो पनि हुन्छ र ?’
ओमले भने– ‘दाइ एउटै गीतमा सयौं प्रकारका लय र संगीत हुन सक्छन् । उनको जवाफले मलाई संगीतकार बनायो । अर्थात् क्याटालेटिक एजेन्टको काम ग¥र्या । घनाबादलमा बिजुलीको चड्कन परेर पानी परेझैं । सोधें– ‘त्यसो हो भने मेरो लय र मैले हालेको संगीत पनि तिनै सयौं प्रकारमध्येको एउटा किन हुन सक्दैन ?’ तैपनि मनमा डर पलायो । अनि मैले गायक–संगीतकार गणेश पराजुलीलाई ‘यी सबै गीतमा भएका लय र सगीतमध्ये कुन राम्रो हुन्छन् ? तपाईंले जाँचेर म्युजिक ट्र्याक बनाई दिनुहोस्’ भनी जिम्मा दिएँ । गणेशजीले मेरै स्केल र लयमा बनाइदिए । अर्को ट्र्याक सन्तोष श्रेष्ठजीले बनाई दिनुभयो । अब म रेकर्ड गर्ने जमर्कोमा छु । डर नमानीकन । किनकि मलाई पपुलर हुनु र पैसा कमाउनु छैन यसबाट । यी आध्यात्मिक गीतहरुमा मैले पढेका, सुनेका र अनुभव गरेका सनातन धर्मका अमृतमयी बचनहरु छन् । म यिनीहरुलाई आफ्नो मन्त्र बनाउने छु । यसमा प्रसंशाको अपेक्षा छैन । किनकी मैले मेरो सुनिदिने श्रोता मभित्रको शून्यतामा भेटेको छु ।
यसैबीच मैले एउटा गीत ‘म पागल हुँ, एउटा पागल खोज्दै छु’ एकजना संगीतका सौखिन न्यूजर्सी निवासी ई. प्रमोद पोखरेलजीलाई शेयर गरेको थिएँ । उनले एकदिन भने– ‘दाइ म पनि अर्को पागल थपिएँ ।’ म्युजिक एपमा सेभ गर्दै जानुहोस् । र, मलाई पठाउनुहोस् । यसको महत्व कुनै दिन हुनेछ । हामी आफैँ निकाल्न सक्छौं । उनले आफ्नो घरमा एउटा कोठालाई रेकर्डिङ स्टुडियो नै बनाएका छन् । त्यसैले आजकल मैले लयबद्ध गरेर गाएका गीतहरु प्रमोदजीलाई पठाइदिने गरेको छु । प्रमोदजी आधुनिक एपहरुसँग चलखेल गर्न सक्ने प्राविधिक ज्ञान भएका संगीतप्रेमी हुन् । के बेर यो पागलपनको सहयात्राले एउटा आयाम थप्ने सम्भावना पो बोकेको छ कि ?
 
 
 
 
 
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग