फूलको कथा

फूलको कथा
नदिया लिवाङ्
न्यूयोर्क
 
हाँसिरहने
फूललाई राम्ररी थाह छ
छैंठीमा उसको भाग्य कोरिदिने
भावी छैन भनेर
त्यसैले,
उसको जीवन र मृत्युको ठेगान छैन
कुनै पनि घडी निमोठिन सक्छ
निर्मम हातहरुले निमोठ्दै
निश्वास उसको सुन्दरतामा हराउँदै
घरमा सजाउन सक्छ
देवी देवतालाई बली चढाउन सक्छ
तर पनि बाँचुन्जेल फूल हाँसिरहन्छ
मेरो घर आँगनमा मिठो सुगन्ध छरिरहन्छ
आउने जानेलाई हेरिरहन्छ
कति कोमल
कति शान्त
कति निष्पाप !
 
हर रात रुन्छन् फूलहरु मसँग
भोलि बिहान
उसको अस्तित्व रहन्छ कि रहन्न
त्रासैत्रासमा बित्छ रे उसको रात
मलाई भन्छ,
पत्र–पत्रमा लुकाएको छु आँशुु
दह भेट्नेछौ त्यहाँ
खोलेर त हेर मेरा पत्रहरु
 
कोपिला हुँदादेखि नै
उसले थुप्रै दुःखहरु भोगेको छ रे
सहेको छ रे आँखा अगाडि नै
अरु थुप्रै फूलहरुको अवसान
 
भमराहरु निर्लज्ज भई दिनहदाडै
गरेको सहवास
उसलाई मन पर्दैन रे
पीडा हुन्छ रे
स्वार्थी भमराहरुले
रसास्वादन गरेको सम्झिँदा पनि
आत्मा दुख्छ रे
उसको वासनामा झुल्ने
भमराहरु पटक्कै मन पर्दैन रे
ऊ त भमरालाई
लाज नभएको नकच्चरो भन्छ
बलात्कारीको उपनाम दिन्छ
 
रातभरि
सिमसिम पानी परिरह्यो
सबेरै झ्यालबाट
बार्दलीभरि फुलिरहेका फूलहरु हेर्दै थिएँ
यस्तो लाग्यो–
ती लुगलुगाएका फूलहरुले
मेरो उपस्थिति खोजिरहे जस्तो
मेरो सहारा मागिरहे जस्तो
नजर जुध्ने बित्तिकै
बगिरहेको आँशु देखें हरेक फूलहरुमा
नजिकैको फूलले
कानेखुसी ग¥यो म तिर फर्किएर
एकछिनमा मुसलधारे पानी पर्दै छ
सायद म रहन्छु रहन्न
फूल संहार पनि नहोला भन्न सकिन्न
म नरहे पनि
बाँकी फूलहरुको अस्मिता रक्षा गर्नु ल
ती सब
तिम्रा सुख दुख सुनिदिने साथीहरु हुन्
 
एकछिनमा ठूलो पानीसँगै
हुरी चल्यो
फूलहरु यत्रतत्र छरिए
बोटहरु हावामा
कहिले यता, कहिले उता बतासिदै
भुइँतिर लडें
निरीह म 
झ्यालबाट हेरिरहें
न हुरी थाम्न सक्थें न वर्षा
न थाम्न सकें मेरो आँशु नै
सम्झिएँ– फूलको बिलौना
एकतमासको चित्कार गुन्जियो
‘दिनदहाडै भमराको पञ्जामा पर्नु भन्दा 
ती नर–पिशाची हातहरुद्वारा निमोठिनु अघि नै
प्राकृतिक देह त्याग नै मञ्जुर छ मलाई’
 
आकाश खुल्यो निक्कै बेरमा
रंगीचंगी फूलका अवशेषहरु
चिसो जमिनमा लडिरहेका थिए
पत्रहरु छरपष्टिएर छिन्न भिन्न भएका
सायद,
कसैले नदेख्नेगरी पोखिई बिलायो धर्तीमै 
पत्रभित्र लुकेका आँशुहरु !
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग