डेमोक्रेटिक नेताको न्यू ह्याम्पसायरमा सरमर्गी

 डेमोक्रेटिक नेताको न्यू ह्याम्पसायरमा सरमर्गी
प्रभात भट्टराई
न्यूह्याम्पसायर
मार्च तेस्रो साता न्यूह्याम्पसायर आइपुगेका टेक्सासका पूर्व हाउस अफ रिप्रिजेन्टेटिभ बेटो ओ’रर्कले दुई दिनमा राज्यका १० वटै काउन्टीको एकसरो भ्रमण पूरा गरे । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेर आइवा हान्निएका बेटो त्यतैबाट मिचीगन, विसकन्सन, पेन्सिलभेनिया हुँदै न्यूह्याम्पसायर उक्लिएका थिए । 
एक भ्रमणमा चार राज्य टेके पनि हरेक काउन्टी पुग्न भने उनले न्यूह्याम्पसायरका मात्र भ्याए । बेटो अघि राष्ट्रपतिका लागि डेमोक्रेटिक प्रतिस्पर्धामा हाम फालिसकेका सिनेटरहरु कमला ह्यारिस, एलिजावेथ वारेन, कोरी बुकर, एमी क्लोबुचार, बर्नी स्यान्डर्स, व्यवसायी एन्ड्रयु याङ लगायतले राज्यको भ्रमण गरिसकेका थिए । अधिकांशले राज्यको सबैभन्दा घनाबस्ती भएको म्यानचेस्टर, कंकर्ड लगायतलाई केन्द्र बनाएर प्रचार गरेका छन् । 
उम्मेदवारी घोषणा गरेकामध्ये स्यान्डर्स र वारेन न्यूह्याम्पसायरको क्रमशः उत्तरी र दक्षिणी छिमेकी राज्यका सिनेटरसमेत हुन् । वारेन उम्मेदवारी घोषणाको केही समयमै म्यानचेष्टर कम्युनिटी कलेजमा कार्यक्रम गर्न पुगेकी थिइन् भने स्यान्डर्सले मार्चको पहिलो साता कंकर्डमा समर्थकलाई सम्बोधन गरेका थिए । ह्यारिस क्याम्पेनले म्यानचेष्टरको आफ्नो टाउन हलमा सहभागी हुन लामबद्ध सयौं शुभेच्छुकको भिडियो सार्वजनिक गरेको थियो । क्लोबुचारका लागि सीएनएनले म्यानचेष्टरमै टाउन हल आयोजना गरेको थियो । यस्तै बुकरले पनि समर्थकहरुलाई टोल–टोल पुगेर सम्बोधन गरेका थिए । याङले डेमोक्र्याटीक युवाहरुको समूहलाई भेट गरी प्रत्येक नागरिकलाई मासिक न्यूनतम एक हजार डलर उपलब्ध गराएर आयमा समावेसिता ल्याउने आफ्नो योजना सुनाएका थिए । उक्त प्रस्तावले कतिपय युवालाई छोएको डेमोक्रेटिक पार्टीका स्थानीय शुभेच्छुक नरेन गुरुङले विश्व न्युजलाई  बताए । 
सन् २०२० को राष्ट्रपतीय निर्वाचनका लागि डेढ वर्ष हाराहारी समय बाँकी रहे पनि न्यूह्याम्पसायरमा भने चुनावी गर्मागर्मी सुरु भइसकेको छ । सोही कारण उम्मेदवारहरुले एकपछि अर्को भ्रमण गरेका हुन् । सानो र चार मात्र इलेक्टोरल मत रहे पनि राष्ट्रपतीय चुनावमा न्यूह्याम्पसायरको प्रभाव विशेष रहँदै आएको छ । त्यसको कारण हो यहाँ हुने ‘अर्ली प्राइमरी इलेक्सन’ । आफ्नो दलबाट राष्ट्रपतिको टिकट हत्याउन उम्मेदवारहरुले राज्य–राज्यमा जित हासिल गर्दै अघि बढ्नुपर्ने हुन्छ । त्यस क्रममा सबैभन्दा पहिलो प्राइमरी चुनाव आइवा र दोस्रो न्यूह्याम्पसायरमा हुन्छ । सन् २०२० को फेब्रुअरी ३ मा आइवा ककस र फेब्रुअरी ११ मा न्यूह्याम्पसायर प्राइमरी चुनावको मिति तय भइसकेको छ । सुरुवाती चरणमै चुनाव हुने यी राज्यमा जित्न सके या राम्रो मत ल्याए बाँकी राज्यका मतदातामा पनि प्रभाव पर्ने हुँदा उम्मेदवारहरुको उपस्थिति न्यूह्याम्पसायरमा बाक्लिएको हो । त्यसमाथि सन् २०१६ को चुनावमा हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पमाथि एक प्रतिशतभन्दा न्यून मतान्तरमा विजयी भएका कारण पनि डेमोक्रेटिक उम्मेदवारहरुले विशेष महत्व दिएका हुन् ।
आइवा ककस र न्यूह्याम्पसायर प्राइमरीपछि फेब्रुअरी २२ र २९ मा क्रमशः नेभाडा ककस र साउथ क्यारोलिना प्राइमरी हुनेछन् । त्यसपछि मार्च ३ मा क्यालिफोर्निया, टेक्सास, मासाचुसेट्स, भर्जिनियाजस्ता ठूलासहित १० राज्यको प्राइमरी निर्वाचन हुनेछ । त्यही रात धेरैजसो उम्मेदवारले अगाडिको यात्रा थातीको घोषणा गर्नेछन् भने राम्रो मत ल्याउने केही मात्र अघिल्लो प्रतिस्पर्धामा सामेल हुनेछन् । त्यसपछि मार्च १० मा मिचिगन, मिसिसिपी, मिजौरी र ओहायो प्राइमरी हुनेछ । मार्च १७ को एरिजोना, फ्लोरिडा र इल(ाइनोइज प्राइमरीले बाँकी रहेकामध्ये केही उम्मेदवारलाई रिङ बाहिर पठाउने छ । यस्तै, अप्रिल २८ मा कनेक्टिकट, डेलावर, मेरिल्याण्ड, पेन्सेलभेनिया र रोड आइल्याण्डको प्राइमरी हुनेछ । न्यूयोर्क, हवाई लगायतका डेमोक्रेटिक बहुल राज्यको प्राइमरी मिति अझै पनि निश्चित भइसकेको छैन । 
सबैतिरको प्राइमरी निर्वाचन सकिएपछि विस्कन्सिनको मिल्कौनीमा हुने डेमोक्रेटिक नेसनल कन्भेन्सनमार्फत सन् २०२० मा ट्रम्पसँग प्रतिस्पर्धा गर्ने अन्तिम उम्मेदवार मनोनयन हुनेछ । नेसनल कन्भेन्सनको मिति भने अहिलेसम्म तय भइसकेको छैन । सन् २००० यता लगातार डेमोक्रेटिक उम्मेदवारले जित्दै आएको विस्कन्सिन सन् २०१६ मा ट्रम्पले हत्याएपछि रणनीतिक दृष्टिले पनि डमोक्रेटिक नेसनल कन्भेन्सन मिल्कौनीमा गर्न लागिएको हो । ट्रम्पलाई पराजित गर्न विस्कन्सिन जित्नै पर्ने दबाब डेमोक्रेटिक उम्मेदवारलाई हुनेछ । रिपब्लिकन पार्टीमा भने अहिलेसम्म ट्रम्पलाई चुनौती दिने कोही आइनसकेको हुँदा प्राइमरी चुनाव हुने नहुने निश्चित छैन । 
डेमोक्रेटिक उम्मेदवारहरुबीच पहिलो बहस यही जुन २६ र २७ मा फ्लोरिडाको मियामीमा हुनेछ । एनबीसी न्यूज, एमएसएनबीसी, र टेलीमाण्डोले यो बहस लाइभ गर्नेछन् । २० प्रतिस्पर्धीलाई बहसमा सहभागी गराउने डेमोक्रेटिक केन्द्रीय समितिले जनाएको छ । कुनै तीन राष्ट्रिय सर्भे वा आइवा, न्यूह्याम्पसायर, साउथ क्यारोलिना र नेभाडामा गरिएका तीन सर्भेमा एक प्रतिशतभन्दा धेरै मत पाउने वा कम्तीमा ६५ हजार दाता या २० राज्यका बासिन्दामध्ये प्रति राज्य २०० जनाले चन्दा दिएका उम्मेदवारले बहसमा भाग लिन पाउनेछन् । यो मापदण्ड पूरा नगर्ने उम्मेदवार भने बहस अगावै ड्रप आउट हुनेछन् । जुलाईमा हुने दोस्रो बहस सीएनएनले प्रत्यक्ष प्रसारण गर्नेछ । डेमोक्रेटिक नेशनल कमिटीले आफ्ना उम्मेद्वारहरुबीच १० वटा टेलिभिजन बहस गराउने र ट्रम्पसँग साँठगाँठ गरेको आशंकासहित फक्स न्यूजलाई चाहिँ आधिकारिक प्रसारण नेटवर्कको रुपमा सहभागी नगराउने उल्लेख गरेको छ ।
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग