यसरी जन्मियो मेरो घण्टाघर

यसरी जन्मियो मेरो घण्टाघर
योगेश आदी 
न्यूयोर्क
‘बाबु बर्बाद भयो !’ विध्वंशकारी भूकम्पलगत्तै नेपालबाट आएको फोनका ती विष्मयबोधक वाक्यले मलाई आश्चर्य पारेन । फेसबुकका ताजा भिडियोले सबै विष्मयबोध मत्थर पारिसकेको थियो । वास्तवमा बुबाको रून्चे स्वरले कुनै नौलो समाचार ल्याएन । केवल औपचारिकता निभायो । गाउँका अधिकांश घरहरू भग्नावशेष बनेको सुनेपछि आफ्नो पनि घर भत्केको सुन्न गाह्रो परेन । घरपरिवार सकुशल रहेको सुनेपछि मान्छे न हुँ, अरूको दुःख लामो समय रहेन । दुखी त त्यतिबेला भएँ जतिबेला शशी डंगोलले भटाभट शिर काटेका घरका तस्वीर फेसबुकभरि टाँस्न थाल्यो । सबैको सहयोगमा बेत्रावती विकास अभियानअन्तर्गत बनेको झोलुंगे पुलले जग छाड्यो । देवी मन्दिर र राममन्दिरको संरचना चर्कियो । भूकम्पले खासगरी उत्तरी नेपाललाई विक्षत पारिराख्दा बेत्रावती बजार किन नचर्कियोस् ? मौन रहें । नसकी पाना पल्टँदैन, माथिल्लो कक्षा उक्लेको विद्यार्थीको अठोट जस्तै— बेत्रावती अझ राम्रो बन्नुपर्छ भन्ने संकल्प गरें । भत्किएको बेत्रावतीको फोटोले अठोट जन्मायो । शशीले बेत्रावतीको कुरुपतालाई लिएर असाध्यै खल्लो कुरा उठाउने ग¥यो ।
हुन पनि बेत्रावती असाध्यै नराम्रोसँग ढलेको थियो । मैले शशीलाई भनें– ‘भूकम्पको त्रासले अब तत्कालै कसैले घर बनाउने आँट नगर्ला तर म तुरून्तै बनाउँछु र पहिचान दिने खालको बनाउँछु ।’ मलाई नविनतम् शुरूवात गर्नु थियो । नौलो गर्नु थियो । बजार ब्युटिफिकेशनको अवधारणा मनमा सधंै थियो नै । अब बनाउने नयाँ घरमा समयको सूचक घडी राख्ने निधो गरें । आमाबुबाले सहजै सहमति जनाउनु भो । इन्जिनियर भाइ विशाल थापालाई ‘घण्टा घर’ भएको घरको नक्सा बनाउन लगाएँ । सबै राम्रो बनायो तर घडी अगाडि एउटा मात्र बस्ने खालको बनायो । आधा घर विशालको नक्साअनुसार बाँकी आफ्नै तजबिजले डिजाइन गर्ने योजना तय गरें ।
घडी राख्ने डिजाइनका लागि अमेरिकाका थुप्रै इमारतहरू हेरें । अन्त्यमा एउटा युनिभर्सिटीको डिजाइनको आंशिक नक्कल गरें । ठेकेदार राजु डंगोलले १६ फिटभन्दा फराकिलो बिम बलियो नहुने बतायो । ४ तलाको घरमाथि १६ह्१६ फिटको बेस बनाइयो । त्यो माथि ८ह्८ फिट मोहडा र १२ फिट अग्लो टावर खडा गरियो । टावरमा चारैतिर ४८ इन्च गोलाईको चार ओटा घडी बस्ने फ्रेम बन्यो । मेरो इच्छाले मागेअनुसारको घर तयार भयो । तर ६ महिना लगातार भारत, युरोप, अमेरिकामा बुझ्दा पनि घडी बनाउने र फीट गर्ने कम्पनी पत्ता लगाउन सकिन । बेत्रावती आसपासका साथीभाइले घडी कहिले आउँछ ? भनेर हत्तु पार्न थाल्यो । वर्ष दिन नाघ्यो । हार खाएर घडी नै नराख्ने मनस्थिति बन्दै थियो । एकदिन महेश्वर घिमिरे दाइ नेपालबाट फर्केपछि मेरो अपार्टमेण्टमा आउनुभो र गफैगफमा भन्नुभो– ‘बाबुको घर पुगेको थिएँ । तिम्रो इच्छाअनुसारको घर बनेको रहेछ तर घरले घडी मागेको छ बाबु । घडीबिना त अधुरो भो ।’ म झस्किएँ । फगत एक शब्द– ‘घरले घडी मागेको छ ।’ सुनेपश्चात् मेरो निद्रा बिथोलियो । अब त नराखी नहुने चुनौती बनेर तेर्सियो ।
बुझ्दै जाँदा नेपालमा लेटेष्ट घडी धरानमा राखेको छ भन्ने बुझें । धरानमा सेवा गरिसकेको डीएसपी प्रविण धिताल भन्ने साथीलाई फोन गरें । प्रविणले ‘त्यो घडी राख्ने मान्छे मैले चिनेको छु, बुझ्छु भन्यो ।’ आकांक्षा जुर्मुरायो । मन सिञ्चित भयो । व्यक्तिगत लगानीमा आफ्नै घरको छतमा घडी राख्ने नेपालको इतिहासमै पहिलो व्यक्ति बन्नेछु भन्ने लोभ पलायो । मेरो घडी नेपालको पाँचौं घडी हुनेछ भनेर गर्व पनि लाग्यो । प्रहरीले खोजेपछि को नभेट्ला ? धरान र इलामको घण्टाघरमा घडी राख्ने व्यक्तिलाई प्रविणले सम्पर्क नम्बरसहित पत्ता लगायो । नाम प्रमोद आचार्य । फोन गरें । मलाई टेरे जस्तो लागेन । ‘रिजर्भ खालको मान्छे रहेछ प्रविण तिमी नै कुरा गर’ भनेर लगाएँ । बिस्तारै मसँग जम्न थाल्यो तर लामो समय मलाई झुलाएको जस्तै महसुस भयो । अर्को ६ महिना बित्यो । कहिले दिल्ली, कहिले काठमाडौं । मलाई दिक्क लाग्यो । हाप्दिन्छु भनेजस्तो पनि भयो । आखिर उसलाई पनि दिल्लीवाला कम्पनीले झुलाउँदो रहेछ । घडी राख्ने उसको व्यवसाय होइन रहेछ । आफ्नै कारोबारमा व्यस्त रहेछ । प्रविणको बचन काट्न नसकेर मलाई सहयोग गरेको मात्र रहेछ । पछि मसँग जम्यो । अब सितिमिती तापले नपग्लिएला सायद ।
दिल्लीमा घडी बन्न शुरू भयो । बेलायतको पेटेन्ट राइट भएको छुट्टाछुट्टै जीपीएसवाला ४ ओटा ४८ इन्चको वेदर प्रुफ ब्रासको घडी बन्दै गरेको फोटोहरू मेसेन्जरमा पाउन थालें । मनमनै गदगद हुन्थें । अलार्म र एलईडी लाइट सिस्टमको कुराले रोमाञ्चक बन्थें । कस्तो हुन्छ होला भन्ने कौतुहलता छँदै थियो । सम्पूर्ण घडी तयार भयो । ल्याउने चुनौती थियो । साथी प्रमोद एक्सपोर्ट इम्पोर्टमा एक्सपर्ट रहेछ । जोगबनी भन्सारसम्म ल्याइयो । कानूनबमोजिम भारत र नेपालको कस्टम क्लियर भयो । नेपालभित्रको ट्रान्सपोर्ट पनि उसैले मिलाइदियो । मेरो काम गोजीबाट पैसाको खोला बगाउनु मात्र थियो । धन्न मेरो पैसा पठाउने कामहरु काठमाडौंबाट इन्द्रमाया सानीआमा र भाइ अनुप लामाले तुरुन्त सल्टाउँथ्यो । यति आइपुग्दा साथी प्रमोद नै मेरो विश्वासपात्र बनिसकेको थियो । भगवानके घरमै देर है, अन्धेर नही । भनेजस्तै सपना साकार भयो ।
म घडी बुझ्न अमेरिकाबाट नेपाल पुगें । सामान ढुङ्गाअड्डा काठमाडौं आइपुग्यो । दाइ शशी अधिकारीले ‘तँ पिर नगर, मेरो डिब्बामा बेत्रावती लैजान्छु’ भनेर ट्रक पठायो । घडी बेत्रावती पुग्यो । तर, फीट गर्ने मेकानिक्स सुनसरीमै थियो । यता घडीको डायमिटरभन्दा पूर्वनिर्धारित ठाउँ २ इन्च सानो भयो । ३ दिन लगाएर पुनः सिमेन्टको गोलाइ काटियो । मेकानिक्स श्रवण पनि बेत्रावती झ¥यो । केटो कमनसेन्स भएको तकनिकवाला रहेछ २ दिनमा काम तु¥यो । अलार्मको स्पिकरको आवाज पुगेन । भिनाजु सुरेन्द्र आचार्यले ‘केही दिन यो बजाऊ’ भनेर दिनुभो । माघ २ गते २०७५ सालमा बेत्रावती बजारमा बजारै थर्किने गरी घण्टी बजाइदिएँ । अहिले घडीमा साँझ ५ बजे आफैँ भित्रबाट बत्ती बल्छ, बिहान ६ बजे आफँै निभ्छ । बिहानको ५ बजेदेखि हरेक घण्टा बजेअनुसार अलार्म बज्छ र राति ९ बजे ९ पटक बजेपछि बिहानसम्म सुनसान चलिरहन्छ । पछि वातानुकुलित माइक र एम्प्लिफायर काठमाडौंबाट ल्याएर जडान गरियो । शशीले सधैंझैं निशुल्क रंग पोत्दियो । पटक–पटक गरेर सानाठूला खर्च धेरै भएको छ । घडीको बेस ढलानदेखि टावरसम्मको संरचना र घडीसँग सम्बन्धित खर्च गरेर करिब ३५ लाख नेपाली रूपैयाँ लागेको छ । बेलाबेलामा भिडियो कल गरेर घण्टी बजेको सुनाउने काम गर्छिन् भान्जी– सियाना आचार्यले । अनि देखभाल सानीआमा– रञ्जना थापाले गर्दिनुहुन्छ । छरछिमेक गाउँघरमा सबै आफन्त छन् । ‘घडी राखेकोमा खुशी छौं’ भन्नुहुन्छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग