इरफान चाचा र चेपारितो

इरफान चाचा र चेपारितो
अच्युत सिग्देल
अमेरिकामा डिशवासरको काम संसारभर प्रसिद्ध छ । तर, डिशवासरभित्र लुकेको प्रताडना हृदयविदारक छ । तेस्रो विश्वबाट अमेरिका झरेर भाँडा मस्काउँदै हरिया डलर टिप्ने धेरैको अभिलाषा रहन्छ । कागज नभएकाहरूलाई भाँडासँगै आफ्नो जीवन नै कोतर्नु पर्दछ । युनियन नभएको र इमिग्रेन्टले सञ्चालन गरेको रेष्टुराँहरूमा हप्ताको न्यूनतम फिक्स तलबमा डिशवासर राखिने रहेछ ।
मेक्सिकोबाट कोयोते (बाटो देखाउने गाइड (स्याल)लाई तीनहजार डलर बुझाएर मरूभूमिको बाटैबाटो एक हप्ता लगाएर अमेरिका छिरेको हुवान कार्लोस इङ्गलिस नबुझेर समस्यामा परेका रहेछन् । सान्तियागो नामक एक साथीले आफ्नो बदलामा सट्टा दरबन्दी दिएर चिली फर्केका रहेछन् । जागिर मिलाई दिएवापत सँगै काम गर्ने इर्फान चाचालाई हप्ताको पच्चिस डलर दिने सर्त रहेछ ।
भाषाको समस्या र जागिर जाला भन्ने डरले प्रतिदिन दश घण्टाको दरले छ दिन लगातार काम गरेर पाएको तीनसय डलरबाट हर हप्ता २५ डलर काटेर दिँदा उनको मुटु कटक्क खाँदो रहेछ । आफ्नाले मित्र र सहयोगीको नाटक गर्दै मातृभाषा बोलर हाँसी–हाँसी ठग्नेहरू सिलीगुडीदेखि सेरालियोनसम्म र गोरखपुरदेखि न्यूयोर्कसम्मै हुँदा रहेछन् । भाषा समस्याका कारण डेलिभरी जस्ता आयआर्जनमूलक काम गर्न नसक्नु र कुनामा बसेर बर्तन धस्नु उनको जीवनचर्या रहेछ । डिस वासिङको अलावा भान्सेको प्याज छिल्नेदेखि समोसा बनाउनेसम्म र बाथरूम सफा गर्नेदेखि सामान बोक्ने भरियाका रूपमा पनि डिस वासरको प्रयोग हुँदो रहेछ ।
इरफान पेपरवाला थिए । हवाईजहाजबाट आउने जाने गर्थे । इङ्लिस बोल्थे र सेफलाई खुसी पारेर राखेका कारण उनी कसैको सुन्दैनथे । थोरै प्रेसर लिन नचाहने डेलिभरीमा ज्यादा फोकस हुने भएकाले बेलाबेलामा काम अड्किने रहेछ । किचन हेल्परदेखि सर्भर सबै चिढिएका रहेछन् । अग्लो कद, गठिलो शरीर र पाखुरामा खोपिएको इगलको ट्याटुसहित देख्दा कसैको आँक्ने साहस थिएन । उनी मुड्की देखाएर सबैलाई तर्साउँदा रहेछन् ।
हरेक बलेको बत्ती आफ्नो अस्तित्व जोगाउन आफ्नै परिवेश अँध्यारो राख्ने गर्दछ । किचन प्रमुख सेफ आफू चम्किन आफ्नो परिवेशमा दख्खल अन्दाजी नगर्ने रहेछन् वा नजरअन्दाज गर्दा रहेछन् । फ्लोर इन्चार्ज पनि पञ्जावी थिए । ज्यादै पढेलेखेका र काम गर्नेलाई दबाउने प्रवृत्ति थियो । काम लिने बेलामा मीठो बोल्थे र काम बिगारे ठूलो स्वरमा थर्काउँथे । काम गर्ने परिवेश पञ्जावी ढावाकै थियो । पढेलेखेका नयाँ पुस्ताका सर्भर र पुरानो चिन्तनका व्यवस्थापनबीच ठूलो खाडल थियो ।
उसको प्रवेशले ल्याटिनो स्टाफहरू थोरै खुशी थिए । हल्का स्पानिस बोल्ने भएकाले डिसवासर र बसरहरू उसकै वरिपरि घुम्थे । नेपालीहरू र निरीह नयाँ ट्रेनीहरूको दुःख बिसाउने छहारी जस्तै बनेको थियो ऊ । ल्याटिनोहरू सबैले बानी प्रवृत्ति हेरेर सबैको उपनाम राख्थे । चित्त नबुझ्दा र गाली गर्न कोड वर्डको राम्रो काम गर्थे ।
रातोन मुसा– वोनरको चोरेर खाने, पेनगुइन– हिँड्न नसक्ने, चीवो– बोकेदारी पालेको, केटीतिर नजर मार्ने, बियखो– बुढा काम चोर, चीनो– चाइनिज, लुक– एकोहोरो, पोयो– चाँडै थाक्ने, सियगो– दायाँबायाँ नहेर्ने ।
डल्लो मान्छेलाई चेपारितो नाम दिन्थे । हुवान चार फिटका थिए । कसैले चेपारितो भन्ला भन्ने हीनताबोध नलिइकन सबैलाई चेपारितो भनेर बोलाउँथे ।
नेपालीहरुलाई स्पानिसहरू भाइ भेट्टाएको जस्तो मान्थे । झण्डै उस्तै उस्तै कद, वर्ण र उस्तै उस्तै खाना । कामप्रतिको लगनशीलताले दुबैलाई राम्रोसँग बाँधेको थियो । गाह्रोसाह्रो पर्दा ऋण लिनु परे नेपालीलाई नै सम्झन्थे । एउटै प्रजातीको एकोहोरो व्यवहारबाट निरस र मोनोटोनस माहोलमा उसको मनोरञ्जनात्मक ठट्टा शैलीले हल्का रमाइलो पारेको थियो । सबै लञ्चसँगै खाने, दुई सिफ्ट गरेर खाने चलन सुरू भयो । परेका बेला सबै हात दिन थाले । काम आफैँ चल्न थाल्यो टिम वर्क बन्दै गयो । ओपनिङ र क्लोजिङको स्टाफबीच वैमनस्यताको दूरी कम हुन थाल्यो । 
ओनरको खुबी वा भारतीय पुरानो स्कुलिङको प्रभाव हो । स्टाफहरू मिलेको र हाँसेकोमा जलन देखाउँथे । कामको कच्चा भएका कारण सेफ र मेनेजर ज्यादा टिक्दैनथे । धेरै मेनेजर हप्ता हप्तामा फेरिएपछि नयाँ मेनेजर आएका थिए । पाँचतारे होटलका फÞूड एण्ड वेभरेज मेनेजर र इङ्लिस मिडियम पढेका कारण आफूलाई अँग्रेज ठान्थे । लाग्थे, उनी काला अँग्रेज हुन् । 
जबजब नयाँ म्यानेजर आउँथे व्यवस्थापनमा थोरै बदलाव दिन्थे । सर्भिस र क्वालिटीमा कसैको कुनै असर परेन । स्टाफको सुविधामा कटौती हँुदै जान्थ्यो । मेनेजर काम गर्दैनथे तर टिप पुलिङ हुन्थ्यो । बिस्तारै स्टाफको खाना कटौती हुन थाल्यो । शृम्प, ल्याम्ब र गोट बन्देज लगाइयो । स्टाफहरू म्यानेजरविरूद्ध गोलबन्द हुन थाले ।
क्रमश...
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग