नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना-१ र जापानको उगिसु भू-उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।

अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड-एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । भू–उपग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लगिनेछ ।

यसका लागि सिग्नोस कार्गो अन्तरिक्ष यानले आईएसएससम्म पुर्‍याउने काम गर्नेछ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म आईएसएसमै रहने छ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले लन्चको प्रत्यक्ष प्रसारण गर्नेछ । अमेरिकी समयअनुसार बुधबार अपराह्न ४ बजेर ४६ मिनेटमा लन्च हुनेछ । फागुन ३ गते जापानस्थित क्युसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी भू-उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिइएको थियो । ‘बर्डस्’ कार्यक्रमअन्तर्गत नेपाल सरकारका तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो ।

उपग्रह निर्माणका लागि नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । २०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्युटेकसँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटरमाथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने ढकालले बताए ।

स्याटेलाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘नेपाली स्याट–१’ नानो भू–उपग्रह हो । लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो । नानो स्याटेलाइट निर्माणबाट प्राप्त अनुभवलाई ठूला भू–उपग्रहहरू निर्माणमा प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।

ग्राउन्ड स्टेसन निर्माण ढिलाइ

मुलुककै पहिलो भू-उपग्रह भनेर प्रचार गरिए पनि नास्टले भू–उपग्रहबाट पठाइएको तथ्यांक संकलनका लागि चाहिने ग्राउन्ड स्टेसन निर्माणमा ढिलाइ गरेको छ ।

काठमाडौँ

ग्राउन्ड स्टेसन निर्माणका लागि नास्टले चैत १९ गते उपकरण खरिदका लागि २१ दिने सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो । सरकारी नियमअनुसार ठेकेदार छनोट र सम्झौता वैशाख अन्तिम साता हुने देखिएको छ । ग्राउन्ड स्टेसन निर्माण गर्न चाहिने रिसिभर र ट्रान्समिटर नेपाली बजारमा पाइँदैन । यसका लागि विदेशबाट ल्याउनुपर्ने हुन्छ ।

रिसिभर र ट्रान्समिटर खरिदमै १५ दिन लाग्न सक्ने अनुमान छ । भू-उपग्रह आईएसएसमा एक महिनासम्म रहेर पृथ्वीको कक्षमा छाडिने छ । भू-उपग्रहले तथ्यांक दिन सुरु गरे पनि नास्टले ग्राउन्ड स्टेसन निर्माण समयमा नै पूरा नगर्ने देखिएको छ ।

नास्टका प्रविधि विभाग प्रमुख ढकालले ठेकेदारसँग सम्झौता भएको १५ दिनभित्र ग्राउन्ड स्टेसन निर्माण भइसक्ने दाबी गरे । उनले भने, ‘ग्राउन्ड स्टेसनका लागि चाहिने उपकरण विदेशबाट ल्याउन मात्र समस्या हो, उपकरण दुई/तीन दिनभित्रै जडान गर्न सकिन्छ ।’ कान्तिपुर दैनिकबाट

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग