विश्व

भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो ।

मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ । भारतले रेड, ओरेन्ज र ग्रीन जोन छुट्याएको छ ।

जहाँ अतिप्रभावित क्षेत्रलाई रेड जोनमा राखिएका छ । यहाँ लकडाउन कडा हुनेछ । यसको पालना अनिवार्य गर्नुपर्ने भएको छ ।

१४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट पाइने छैन । लकडाउनमा पनि रेल र बस संचालनमा रोक लगाइएको छ ।

स्कुल, कलेज तथा अन्य भेला हुने स्थान पनि बन्द हुने छन् । तर, ओरेन्ज र ग्रीन जोनमा भने लकडाउन केही खुकुलो हुने भएको छ ।

ग्रीन र ओरेन्ज जोनमा ई कमर्समार्फत सुरक्षित रुपमा हुने व्यापारलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यक बाहेकका सामान पनि आपूर्ति हुने भएका छन् ।

ग्रीन जोनमा आधा मात्र यात्रु राखेर बस समेत चलाउन सकिने भएको छ । ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नुपर्नेछ ।

भारतमा पछिल्लो दिनमा कोरोनाको फैलावट तिब्र छ ।

तर, चरम गरिबीको रेखामुनी ठूलो जनसंख्या रहेको यस मुलुकमा लकडाउनलाई लामो समय कायम राख्न भने ठूलो समस्या रहेको छ ।

यहाँ अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। ११ सय ५४ जनाले ज्यान गुमाएका छन् । भारतमा ९ हजार ६८ जनाले कोरोना जितिसकेका छन् ।