Home / News / प्रवास / एमआरपीका लागि न्युयोर्कबाटै प्रत्यक्ष दर्ता प्रणाली सुरु

एमआरपीका लागि न्युयोर्कबाटै प्रत्यक्ष दर्ता प्रणाली सुरु

० कल्पना घिमिरे

न्युयोर्क । नेपाली महावाणिज्य दूतावास न्युयोर्कले राहदानी (एमआरपी) वितरण प्रणालीलाई सहज र दु्रत बनाउन प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इन्रोलमेन्ट सिस्टम) सुरु गरेको छ ।

नेपाल सरकारले नेपालीहरुको बाक्लो संख्या रहेको वासिङ्टन डीसी, न्युयोर्क, बेलायत, कतारलगायत ९ वटा मुलुकमा एमआरपीका लागि प्रत्यक्ष दर्ता प्रणाली सुरु गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार एक साता अघि (गत जनवरी ९) मा वासिङ्टन डीसीमा सुरु गरिएको थियो भने न्युयोर्कस्थित महावाणिज्य दूतावासमा बिहीबारदेखि औपचारिक रुपमा राहदानीका लागि फारम भर्न सुरु गरिएको छ । हालसम्म एमआरपी बनाउन नपाएका नेपालीले महावाणिज्य दूतावासमा गएर प्रत्यक्ष फारम भर्न सक्नेछन् ।

‘आजै मात्र हामीले १२ जनाको फारम भरेर औंठाछाप र हस्ताक्षर लियौं,’ उपवाणिज्यदूत प्रविण भट्टराईले भने, ‘यसले नेपालमा राहदानी विभागमा हुने कामलाई घटाएको मात्र छैन पासपोर्टमा नाम, थर बिग्रिएर पटक–पटक सच्याउनुपर्ने समस्या पनि समाधान भएको छ ।’ उनका अनुसार यो प्रत्यक्ष दर्ता प्रणालीअन्तर्गत राहदानी बनाउन छिट्टो, छरितो र सहज हुनेछ ।

यसअघि फारम जम्मा गरेर महिना दिनमा नेपाल पठाइन्थ्यो । त्यो कहिले नेपाल पुग्ने र राहदानी कहिले आइपुग्ने भन्ने समस्या थियो । सबै प्रक्रिया पूरा गरेर राहदानी आइपुग्न तीन महिना लाग्थ्यो । बल्लतल्ल दूतावासमा आइपुगेका पासपोर्टमा कतिपयका नाम, थर बिग्रिएर आउँथे भने कतिको फोटो नमिलेर चार महिना पर्खदा पनि राहदानी आइपुग्दैनथ्यो ।

अब राहदानीको फारम भर्ने आवेदकले यी सम्पूर्ण समस्या झेल्नु पर्दैन । दूतावासमै फोटो खिच्ने, औंठाछाप लिने र हस्ताक्षर गर्ने भएकाले व्यक्तिको सम्पूर्ण विवरण कम्युटरमार्फत डिजिटलाइज्ड हुन्छ । फारम भर्नका लागि व्यक्ति प्रत्यक्ष उपस्थित भएर राहदानीका लागि औंठा छाप र हस्ताक्षर गर्नुपर्नेछ । त्यसपछि निवेदन सिधै नेपालस्थित राहदानी विभागमा दर्ता हुन्छ । र, व्यक्तिको नाम, थर, फोटो, औंठा छाप, हस्ताक्षर सबै मिले, नमिलेको बारे २ मिनेटभित्र नेपालबाट कम्युटरमा सन्देश आउँछ । ‘सबै एप्रुभ भएपछि १५ दिनभित्र राहदानी नै दूतावासमा आइपुग्नेछ’, भट्टराईले भने, ‘राहदानीको यो प्रणाली लागू भएपछि व्यक्तिको सबै विवरण बायोमेट्रिक र कम्युटरमा डिजिटलाइज्ड हुनेछ ।’

आवेदकले नागरिकता तथा राहदानीको सक्कल र एक–एक प्रति फोटो लिएर फारम भर्न आउनुपर्नेछ । राहदानी शुल्क १ सय ५० अमेरिकी डलर र हराएको वा च्यातिएको भएमा ३ सय अमेरिकी डलरको ‘मनी अर्डर’ लिएर आउनुपर्ने दूतावासले जनाएको छ ।

एमआरपी बनाउन कोही नछुटुन् भनेर दूतावासले २ वटा ‘मोबाइल किट’ लिएर ठाउँ–ठाउँमा मोबाइल टोली पुगेर प्रत्यक्ष दर्ता प्रणालीअन्तर्गत राहदानीको फारम भराउने योजना बनाएको उपवाणिज्यदूत भट्टराईले जानकारी दिए ।

Check Also

दुर्गालाललाई महानन्द साहित्य साधक पुरस्कार

डलास । महानन्द सापकोटा साहित्य साधक पुरस्कार कवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । …