समाचार

लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपालले अहिले लिएकै नीति प्रभावकारी रहेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ ।

भोली बस्ने मन्त्रीपरिषद्ले सम्भवतः यसको औपचारिक निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार अहिलेको उपाय प्रभावकारी छ भन्ने निष्कर्षमा समिति पुगेछ ।

लकडाउनका विभिन्न विकल्पबारे मंगलबारको बैठकमा छलफल भएको छ । यद्दपी निर्णयको अधिकार भने मन्त्रीपरिषद्सँग मात्र रहेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा समन्वय समितिको बैठक बसेको हो । मंगलबार विभिन्न मन्त्रालयले आफ्नो क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री समक्ष ब्रिफिंग समेत गरेका छन् ।

मन्त्रालयहरुले भने अब जोखिमपूर्ण र कम जोखिमपूर्ण क्षेत्र छुट्याएर सोही आधारमा क्रमशः लकडाउन खोल्नुपर्ने विकल्प सरकालाई दिएका छन् ।

नेपालमा ११ चैतबाट लकडाउन शुरु भएको हो । पछिल्लो समय थपिएको लकडाउनको अवधि २५ वैशाख राती १२ बजेपछि समाप्त हुन्छ ।

यस अवधिमा नेपालमा कूल ८१ जनामा संक्रमण पुष्टी भइसकेको छ ।