समाचार

अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

न्युयोर्क

संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन कि एक पाँच बर्षीय नाबालकले एक्लै गाडी चलाएर क्यालिफोर्निया जाँदै गरेको अनौठो घटनाको  समाचार बाहिरिएको छ । मे ४ तारिख सोमबारका दिन अन्दाजी पौने बाह्र बजे तिर युटाह् राज्यस्थित हाइवे प्रहरीले पाँच बर्षीय नाबालकलाई एक्लै हाइवेमा कुदिरहेको समयमा पुल ओभर (रोक्यो ) गर्‍यो । प्रहरीले गाडी रोक्दा ती नाबालकले हाइवे आई -१५ मा ३० माइल्स प्रति घण्टाको दरमा गाडी कुदाई रहेको युटाह् प्रहरीले आफ्नो ट्विटमा लेखेको छ ।  

प्रहरीले ती बालकलाई गाडी चलाई रहँदा रोकेको समाचार सँस्था सिएनएनले सार्बजनिक गरेको भिडियोमा प्रहरीले नाबालकलाई कति बर्षको भयौ ? तिम्रो नाम के हो ? भनेर सोधिएको सुनिन्छ । प्रहरीले नाबालकलाई तिमीले कसरी र कहाँ गाडी चलाऊन सिकेको ? भनेर प्रश्न गरेको समेत सुनिएको छ । युटाह् प्रहरीका अनुसार ती नाबालकले आफुलाई लाम्बोर्गिनी गाडी किनेर चढ्न मन लागेको तर आमाले नमाने पछि आफुसँग भएको ३ डलर लिएर क्यालिफोर्नियामा ल्याम्बोर्गिनी गाडी किन्न हिंडेको जवाफ दिएका थिए । अमेरिकामा ल्याम्बोर्गिनी गाडीको सुरुवाती मुल्य २ लाख डलरबाट सुरु हुने गर्दछ ।

नाबालकले गाडी चलाएका कारण कुनै पनि मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । नाबालकका माता पितालाई त्यसरी नाबालकलाई एक्लै गाडी चलाएर हिड्ने अवस्था सिर्जना गरेको कारण उनीहरु माथि अभियोग लगाउने वा नलागाउने स्थानीय अभियोजकलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।