बिचार

अलकधार : भाउका खातिर जुँगाकाे ताउ

सुपेन्द्र बस्नेत, बोष्टन

संसारमा दाह्री जुँगाकाे महत्व र महिमा अपरम्पार नै छ । चाहे मानवकाे हाेस् या जनावरकाे । दाह्रीमा बाेका र जुँगामा बाघकाे चर्चा र महत्व बढी गरिन्छ । बाेकाकाे दाह्रीकाे चर्चा हसिमजाकका लागि गरिन्छ भने बाँघकाे जुँगाकाे चर्चा शक्तिकाे प्रतिबिम्बका रुपमा गरिन्छ । मानवमा भने दाह्रीकाे भन्दा जुँगाकाे भाउ बढी छ । कति मानिसले धर्म, संस्कृति, परम्परा, रितिरिवाजकाे पालना गर्न त , कतिले अरु भन्दा पृथक र आकर्षक बन्न र कतिले मुसार्न कै लागि जुँगा पाल्दछन् । जे जे कारणले जुँगा पालेकाे भए पनि सार उद्देश्य भनेकाे जुँगामा ‘ताउ लगाएर भाउ खाने दाऊ’  नै हाे । यथार्थमा जुँगामा गतिलाे ताउ लगाएर भाउ खान मेहनत पनि त्यति नै चाहिन्छ । जति भाउ चाहिन्छ, त्यति नै जुँगामा ताउ लगाउनु पर्दछ । जाे चानचुने मानिसबाट भने सम्भव पनि छैन । त्यसैले त हिजाे आज त्याे झनझटतिर नलागी मानिसहरु जुँगा पाल्न तिर भन्दा पनि सफाचट गरी फाल्न र ताउ लगाएर भाउ खानु पर्ने अवस्था आए नक्कली जुँगा धारण गर्नतिर आकर्षित हुँदै गएका छन् । भाउ खाने जुँगाउन्मुख समाजमा आफ्नै जुँगा नभएका , नक्कली जुँगा भिर्ने आाँट वा रहर नभएका वा जुँगे तिकडम पनि नजान्नेहरु भने निकै पिडित छन् । उनीहरु समाजमा जुँगाकाे भाउ भएकाहरुले जति सुकै असैय्य घाउ लगाए पनि , पाँऊ पर्न  बाध्य नै भैरहेका छन् । उनीहरु न त जुँगाकाे खुलेरै प्रशंसा गरेर जुँगेपथमा हिड्न सकिरहेका छन् । न त बिराेध नै गरेर सफाचटपथमा लाग्न । दिन प्रतिदिन समाज जानीनजानी गुपचुप ‘जुँगेभाउपथ’ तिर उन्मुख हुदै गएकाले जुँगामा ताउ लगाउने परम्परागत संस्कारीपथ चटकै भुल्न वा छाेड्न वा बिराेध गर्न त्यति सजिलाे नि कहाँ भने जस्ताे र साेचे जस्ताे सजिलाे छ र ? त्यसैले त माैका छाेपी हिजाे आज मानिसहरु लाभकाे ‘तरिय भाउ’ खाने दाउमा जुँगा बिना नै ताउ लगाउन पनि पछि पर्दैनन् । जाे बास्तवमा जगत भलाेका दृष्टिकाेणले जुँगा भएरै ताउ लगाउने भन्दा कयाैं गुणा खतरनाक छन् । जसका उदाहरणहरु जगतभर यत्रतत्र सर्बत्र छताछुल्ल नै छन्। 

अर्काे बिडम्बना हिजाे आज मानिसबाटै मानिसकाे भन्दा पनि जनावरकाे जुँगाकाे महत्व र चर्चा परिचर्चा बढि गरिन्छ। जुँगाकाे लडाईमा जुँगेबाज बनी ताउ लगाएर भाउ खाने लालचमा सर्बाेकृष्ट चेतनशील प्राणीकाे पहिचान बाेकेकाे मानव आफ्नाे छनखानाकाे जुँगा सफाचट पारेर पाएसम्म बाघकै जुँगा टास्ने हाेडबाजीमा तल्लीन छ । त्यसाे त जुँगा बाँघकाे मात्र हैन, स्यालकाे पनि त हुन्छ नि । तर मानिस स्याल र बाघकाे जुँगाकाे मुल्य र महत्वमा आकास जमीन भिन्नता देख्दछ । स्यालकाे जुँगा चाँहि केराकाे फुँगा, अनि बाघकाे जुँगा चाँहि चम्पाचमेली फुलकाे थुंगा हुने त पक्कै हाेइन हाेला । अर्काे कुरा बाघकाे जुंगामा ‘हिंस्रक शक्ति’ केन्द्रिकृत हुने पनि त हैन । तर बाघकाे जुँगाप्रति मानवकाे मनाेदशा राम्ररी बुझेका स्याल पनि मानव झैं आफ्नाे प्राकृतिक पहिचानकाे जुँगा फालेर बाँघकै जुँगा टास्नतिर लालाहित छ । बाघकाे जुँगा धारण गर्ने प्रतिस्पर्धामा भने मानवलाई स्यालले पछि पारेकाे छ । त्यसाे त ”स्यालले ढलेकाे बाँघकाे जुँगा उखालेर लगाउँदैमा स्यालमा बाघकाे बिशेषता सर्ने पनि हाेइन र सिनाे खान पनि छाेड्दैन । तर बाघले भने प्राण नै गए पनि सिनाे खादैन र धर्मका नाममा हिंस्रक कर्म गर्न पनि छाेड्दैन । यिनीहरुका आ-आफ्नै प्राकृतिक जन्मसिद्ध बिषेश्ताहरु छन्” । भन्ने कुरा भने मानवलाई राम्ररी अवगत नै छ । तब त बाघकाे जुँगाधारी स्याल देखेर मानव डरले कुलेलाम पनि ठाेक्दैन । बरु जुँगै नभएकाे ढलेकै बाघ भए पनि त्रसित हुन्छ । साताेपुत्लाे उड्न सक्छ । त्यति मात्र हैन मानिस जिउँदाे स्यालकाे भन्दा मरेकै बाघकाे जुँगा, राैं, नंग्रा, छालालाई अमुल्य ठानी त्याे प्राप्त गर्नमा गर्व, बहादुरी, भाग्मानी र पुरुषार्थ ठान्दछन् । स्याललाई मार्दा भन्दा बाघलाई धपाउँदा कयाैं गुणा बहादुरी ठान्दछ । यसकाे मुख्य कारण भनेकाे बाघमा रहेकाे ‘हिंस्रक शक्ति’ नै हाे । तर पनि हिजाे आज मानव बस्तीमा पस्न बाघलाई भन्दा स्याललाई नै सहज छ । हुन त नेपालीमा भनाई छ ”स्याललाई काल आयाे भने सहर पस्छ” । तर हिजाे आज सहर पसेकाे स्याल मारिएकाे खबर सुन्न पाइदैन । सहरमा स्यालकाे चतुर्याइँ यतिसम्म बढिसकेकाे छ कि उसले मै हुँ भन्ने मानवलाई मित्रताकाे पासाे फालेर रगरगी र चकचकी गरिरहेकाे छ । अवस्था यतिसम्म भै सक्याे कि बाघकाे जुँगा धारण गरी ताउ लगाए भाउ खाने दाउमा रहेकाहरु एकाएक बाघकाे जुँगातिर भन्दा स्यालकै जुँगातिर आकर्षित हुदै स्यालहुइयाँ मै मन्त्रमुग्ध हुदै गइरहेका छन् । आफुमा स्यालहुइयाँ कै बीच जीउने, रमाउने र आनन्दित हुने आदत पारिसकेका छन् । र यसैमा जुँगाकाे ताउ लगाएर भाउ खानमा बहादुरी ठान्दैछन् । यस्ताे परिस्थतिमा यदि साच्चै सक्कली जुँगाकाे भाउ भएकाे बाघ सहर पस्याे भने उसलाई सिकार गर्न त के आफ्नै ज्यान जाेगाउन पनि हम्मेहम्मे पर्छ । अचम्मकाे  कुराे चाँहि के छ भने बाघकाे जुँगा धारण गरी गतिलाे ताउ लगाएर भाउ खाने लालचमा डुबेकाहरु भने घनिष्ठ मित्रवत् सम्बन्ध गाँसिदै गएकाे सिनाे खान र्याल चुहाउने स्यालकाे नभई, आमनेसामने हुँदा माैका छाेपी ज्यानै लिने शत्रुवत् सम्बन्ध कायमै रहेकाे  त्यही सिकारका लागि मानवबस्ती छिर्न खाेज्ने बाघकै संरक्षण र पूजा गर्दै छन्। तर, न त कम्जाेर शक्तिका आधारमा  बेवास्ता गरेर स्यालहुइयाँ मै भुल्ने लत लाग्नु ठिक, न त हिंस्रक शक्तिका आधारमा जुँगाकाे लाेभमा बाघकाे पूजा आराधनामा लाग्नु नै ठिक । यी दुबै मांसहारी जंगली जनावर हुन् । पाल्तु (घर पालुवा) जनावर हैनन् । चाहे मित्रबत् सम्बन्ध हाेस् या सत्रुबत् । चाहे  सिनाे खाओस् या नखाओस् । तसर्थ, सर्बाेकृष्ट चेतनशील प्राणी र मर्दकाे पहिचान बाेकेकाे  आफ्नाे छनखानकाे जुँगा फालेर जुँगामा ताउ लगाएर भाउ खानकै खातिर जनावरकाे जुँगातिर लालाहित हुदा जगत भलाे कदाचित हुदैन। जुँगामा ‘ताउ लगाएर भाउ’ खाने भाेक नै जागेकाे हाे भने आफ्नै जुँगाकाे सिहारसुसार तिर लाग्नु  र जुँगामा ताउ लगाएर प्राप्त उचित भाउ खाएर रमाउनु नै उत्तम हाेला । जनावरसंग प्रकृति अनुसारकै यथाेचित दुरी कायम गरी आवश्यक सम्बन्धमात्र स्थापित गर्नु नै बुद्धिमानी हाेला कि ?