विश्व

भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु

महाराष्ट्र । भारतमा रेलको पटरीमा सुतेका मजदुरमाथि रेल गुडेको छ । भारतको महाराष्ट्रस्थित औरंगाबादमा मालबाहक रेल मजदुरमाथि गुडेको हो ।

यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका थिए ।

बिहान ६ बजेको घटना हो । उनीहरु भुसावलतर्फ गइरहेका, पैदल हिँडिरहेका र थकानका कारण पटरीमै सुतेका थिए ।

त्यसैसमय अकस्मात आएको रेल उनीहरुमाथि गुडेको हो । भारतमा कमाइका लागि गाउँदेखि शहर पसेका आप्रबासी कामदार घटनामा परेको बताइएको छ ।

भारतमा लामो लकडाउनका कारण गाउँ फर्कन पैदल हिँड्दै थिए । भारतमा रेलसेवा बन्द भएपनि कार्गोरेल अकस्मात आएका कारण घटना भएको बताइएको छ ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । यसको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

भारतमा रेलसँग जोडिएका दूर्घटनाका कारण वर्षेनी हजारौं मानिसको ज्यान जाने गरेको छ ।