समाचार

कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

न्युयोर्क

कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’  नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो । 

विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार अघिल्लो बर्ष त्यही समयको तुलनामा यो बर्ष प्लेनको माझको  सिट खाली राखेर यात्रु ओसार पसार गर्दा मुल्यमा ४३ देखि ५० प्रतिशतसम्म बृद्धि हुने जनाएको छ । आईटाका चिफ एक्जुकेटिभ अफिसर अलेक्जान्ड्रे डि जुनियाकले  बिज्ञप्तीमा भनेका छन्; “यति बेला हवाई कम्पनीहरु अस्तित्वको लागि लडिरहेका छन्  । बीचको सिटको आय हटाएर मुल्य समयोजन गर्दा मुल्य बढ्ने भएको छ” ।  एसोसिएसनका अनुसार उत्तर अमेरिकाको लागि सन् २०१९ को तुलनामा २०२ देखि २८९ अमेरिकी डलरसम्म एसिया प्यासिफिकको लागि १४१ देखि २१७ अमेरिकी डलरसम्म टिकटमा मुल्य बृद्धि हुने आईटाले जनाएको छ ।  

आईटाले हवाई सेवा लिने यात्रुका लागि सुरक्षा प्याकेज समेत सिफारिस गरेको छ ।  हरेक यात्रु तथा कर्मचारीलाई अनिवार्य मास्क प्रयोग, अनिवार्य तापक्रम जाँच, भिडभाड रहित बोर्डिङको ब्यबस्था र यात्रा अबधिभर क्याबिनमा हिंडी रहन बन्देज लगाउने साथै ईम्युनिटी पासपोर्ट लागू गर्ने जस्ता ब्यबस्था गरिने आईटाले जनाएको छ ।  

एजेन्सी