फिचर

नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

File

काठमाडौं । कोरोना भाइरसका विश्वव्यापी महामारीका बीच नेपाल तुलनात्मक रुपमा सुरक्षित छ ।

किनकी अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टी भएपनि ३२ जना डिस्चार्ज भइसकेका छन् । अन्यको पनि स्वास्थ्य अवस्था सामान्य छ ।

अधिकांशलाई कोरोनाको लक्षणसम्म देखिएको छैन । तर, नेपाल बाहिर भने नेपालीले ज्यान गुमाउने संख्या निरन्तर बढ्दो रहेको छ ।

कोरोना भाइरसका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ ।

विश्वभर पाँच हजार ५ सय ८१ जना नेपालीमा कोरोना संक्रमण भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाली बेलायतमा ज्यान गुमाउन बाध्य भएका छन् ।

यहाँ अधिकांश पूर्वगोर्खा सैनिकको ज्यान गएको छ । यस मुलुकमा ५१ जना नेपालीको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ ।

समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक, एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

कोरोना भाइरसका पछिल्लो एक सातामा ५ जना नेपालीले ज्यान गुमाएका हुन् । बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक,एकजना नेपालको ज्यान गएको हा ।

नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

त्यसमध्ये २ हजारभन्दा बढी नेपालीले कोरोनालाई जित्न सफल भएका छन् । तर, पछिल्लो केही सातायता विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति भने क्रमः कम हुँदै गएको छ ।

यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको संघले जनाएको छ ।

विश्वका ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । २० मुलुकमा रहेका नेपालीहरु कोरोना भाइरस बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्पेन र अष्ट्रेलियामा १२\१२ जना तथा जापान र क्यानडामा १०\१० जना नेपाली संक्रमित छन् ।

बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४\४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३\३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २\२ जना तथा म्यानमार र फ्रान्समा १\१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।