समाचार

भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । पश्चिम नेपालमा भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

संसद सचिवालका अनुसार नेकपा सांसद रामकुमारी झाक्री ,गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्टलगायत संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

उनीहरुले महाकाली नदी पारीको नेपाली भूमि फिर्ता लिन माग गरेका छन् । भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरी संचालनमा ल्याएपछि यतिबेला नेपाल र भारतको सम्बन्ध फेरी चिसिएको छ ।

भारतले उक्त भूमि आफ्नो भएको दावि गरेको छ भने नेपालले भने आफ्नो भूमिमा भारतले सडक बनाएको दावि गरेको छ ।

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् ।