विश्व

भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो

नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ ।

भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो ।

भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको छ ।

मन्त्रालयले सोमबारदेखि अनलाइनमार्फत् टिकट बुकिङ खुला गरेको थियो । लकडाउनका कारण अलपत्र परेका लाखौं यात्रु यस निर्णयबाट लाभान्विन हुने भएका छन् ।

रेलमन्त्री पीयुष गोयलका अनुसार पहिलो चरणमा प्रवासी कामदारलाई प्राथमिकता दिइने भएको छ । पहिलो दिन भारतमा ४६८ वटा रेल चल्ने भएका छन् ।

भारतले रेल चलाएपछि अब नेपालमा पनि यसको चाप बढ्ने भएको छ । घर जान नपाएका हजारौं नेपाली अब सीमा नाकासम्म आउने भएका छन् ।

भारतले भने अर्थतन्त्रमा प्रभाव गहिरो पर्दै गएपछि सार्वजनिक यातायातका सबै सेवा सूचारु गर्न लागेको छ । भारतमा हवाई सेवा पनि सन्चालनको तयारी थालिएको छ ।