विज्ञान प्रविधि

संक्रमण पुष्टी भएका बिरामीको अन्य रोगका कारणबाट मृत्यु भए 'कोरोना कारण' नमानिने

काठमाडौं । अब नेपालमा अन्य रोग लागेर मृत्यु भएको व्यक्तिमा कोरोना पुष्टी भएपनि त्यसलाई कोरोनाका कारण मृुत्यु भएको नमानिने भएको छ । सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने निर्णय गरेको हो । अहिलेसम्म जुन रोग र असरका कारण ज्यान गएपनि संक्रमण पुष्टि भएमा त्यो मृत्यु कोरोनाका कारण भएको मानिदै आएको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ मा संशोधन गर्दै अन्य रोगका कारण व्यक्तिको निधन भएमा त्यसलाई कोरोनाका कारण मरेको नमान्ने निर्णय गरेको हो । कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशलाई बुझाउने गरी सरकारले परिभाषित गरेको छ ।

कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको नमानिने कार्यविधिले स्पष्ट पारेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट नौं जना व्यक्तिको मृत्यु भइसकेको छ । बुधबार दोलखाका कोरोना संक्रमित पुरुषको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ज्यान गएको थियो । नेपालमा दुई जनामा पहिले नै कोरोना पुष्टी भएको थियो भने अन्यको भने निधन भएपछि पुष्टी भएको थियो ।