स्वास्थ्य

यार्सागुम्बा संकलन खुला गर्ने प्रदेश सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेशले यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको छ । २५ जेठबाट उच्च हिमाली भेगका नागरिकलाई यार्सागुम्बा संकलनको अनुमति दिने निर्णय गर्दै यसका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले यार्सागुम्बा संकलन हुने क्षेत्रमा कोरोना संक्रमणको जोखिम जटिल नभएको निष्कर्ष निकालेको हो ।

सोहीकारण २५ जेठबाट यार्सागुम्बा संकलन खुला गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । कर्णाली प्रदेशको उच्च हिमाली भेगका मानिसको मूख्य आम्दानी यार्सा संकलन गर्न नपाउँदा स्थानीय चिन्तित थिए । हुम्ला, मुगु, र डोल्पामा अहिलेसम्म स्थानीय स्तरमा कोभिड–१९ को संक्रमण देखिएको छैन । ती जिल्लााका नागरिक भारतबाट आएकामा भने कोरोना देखिएको छ ।

तर, उनीहरुलाई भने सुर्खेतमा क्वारेन्टाइनमा राखिएका कारण हिमाली जिल्ला सुरक्षित रहेका छन् । प्रदेश सरकारले पीसीआर परिक्षण बढाउन किट किन्ने निर्णय समेत गरेको छ । स्थानीय तहमा अस्पताल, स्वास्थ्य केन्द्र र अन्य उपयुक्त स्थानमा आइसोलेशन बेड तयार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

जुम्ला र सुर्खेतमा रहेको प्रयोशालाका लागि किट किन्ने निर्णय भएको प्रदेश मूख्यमन्त्री कार्यालयले जनाएको छ । कोभिड–१९ का प्रभावका कारण उत्पन्न हुन सक्ने सम्भावित खाद्य संकट टार्न सरकारले तत्काल २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ र तीन हजार क्वीन्टल दाल किनेर भण्डारण गर्ने निर्णय समेत गरेको छ ।