मनोरञ्जन

सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत

भिमा मैनाली, चलचित्रकर्मी 

जताततै कोभिड १९ का कारण सन्त्राश फैलिएको अवस्थामा, यस उप्रान्त आउन सक्ने अनुमानित आर्थिक मन्दीमा पनि चलचित्र क्षेत्रलाई उचित व्यवस्थापन गरी, बिशिष्ट किसिमका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको स्तर निर्धारण गर्नु पर्ने भएको छ । जसको लागि समग्र चलचित्रलाई बुझ्ने र चलचित्रको माध्यमबाट समाजलाई आवश्यक योगदान दिन सक्ने नेतृत्वको खाँचो नेपाली चलचित्र उद्योगमा रहेको देखिन्छ ।

यस क्षेत्रमा पुरातन सोच र शैली अबलम्बन गरेर ‘अग्रज हुँ’ भन्दै नयाँ प्रविधिको प्रयोग र थप अध्ययनमा लाग्नुको सट्टा यथास्थितिमा नै पूर्णता देख्ने दृष्टिकोण बदल्न आवशयक छ । प्रविधि र सीपमा निपुर्ण आफुभन्दा सानाबाट सिक्न असहज मान्ने मानसिकता केही पुराना नेपाली चलचित्रकर्मीमा देखिन्छ भने अर्कोतिर अरवौं लगानी फ्रीज भई, बनेका चलचित्रहरु रिलिज हुन नपाएको र हलहरुमा चल्न नसक्दा डुबेका निर्माताहरुको पिडा अहिलेको तितो यथार्थ हुन् । आफूले लिएको ऋणको ब्याज तिर्न नसक्ने भएका कारण यस क्षेत्रका पिडित उद्योगीहरुको पक्षमा बोल्ने बेला आएको छ । यस क्षेत्रले उद्योगको रुपमा मान्यता पाई सकेकोले यस चलचित्र उद्योगले पनि ब्याजमा छुटको माग राख्नु स्वभाविक नै देखिन्छ ।

सरकारले लकडाउन पछि पनि मानवीय क्षति कम गर्न सामाजिक दुरी कायम गरी बिभिन्न मापडण्डका आधारमा मात्र चलचित्र निमार्ण गर्न र हल खुलेता पनि सिटको दुरी राखेर मात्र खोल्ने हुँदा हल मालिक मञ्जुर नहुने आजको अवस्था छ ।  

महत्वपूर्ण कुरा नेपाली समाजमा अझै पनि चलचित्रको बुझाई नै एउटा स्वच्छ मनोरञ्जनको रुपमा भएको र आफ्ना छोरा छोरी अध्ययनमा पछाडि परेमा “फिल्ममा जा” भनी यस क्षेत्रलाई हेला गरेको अवस्था विधमान छ । सामाजमा विद्यमान सबै गलत मानसिकतामा परिवर्तन ल्याउनका खातिर पनि यस क्षेत्रलाई नाफामुखी र प्रतिष्ठित बनाउन जरुरी छ । सानो अर्थतन्त्र भएको देश र सिमित भुगोलमा हेर्ने भएकोले अबको नेपाली चलचित्र थोरै लगानीमा निकै अध्ययन अनुसन्धान गरी अन्तराष्ट्रिय स्तरमा पुग्ने खालको निमार्ण हुन आवश्यक छ । यही सम्वन्धि पढेर आएका नयाँ पुस्ताको कारण विस्तार विस्तार अर्काको लगानी फिल्म बनाऊने र मुर्गा फसाएको भन्दै निमार्तालाई फसाऊने प्रवृत्तिको अन्त्य हुने संकेत नेपाली सिनेमा उद्योगमा देखिन थालेको छ । विश्वव्यापीकरणले सम्भव गराएको सुचना प्रविधिको भरपुर प्रयोग गरी आर्थिक मन्दी पछि पनि नेपालका राष्ट्रिय सवालहरु जस्तै अहिलेको नेपाल भारत सीमा विवाद, यहाँको संस्कृति, रितिरिवाज, भाषा आदीमा चलचित्र बनाएर विश्वको ध्यान खिच्न सकिन्छ ।नेपाली चलचित्र उद्योगमा लगानीकर्तालाई  आकर्षित गर्न र स्तरीय चलचित्र प्रदान गर्न चलचित्रलाई प्राथमिकता प्राप्त उद्योगका रुपमा हेरिनु पर्दछ । 

(सर्जक चलचित्र विकास बोर्ड उमेदवार पनि हुनुहुन्छ)