फिचर

विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु

काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ सेन्टरमा लगिने छ ।

त्यहाबाट होटेलमा बस्ने व्यक्ति होटेलमा निर्माण भएको क्वारेन्टाइनमा जानेछन् भने सरकारी खर्चमा क्वारेन्टाइनमा बस्ने व्यक्ति भने आफ्नो स्थानीय तहमा त्यहाँ निर्माण भएको क्वारेन्टाइनमा जानुपर्नेछ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ । ४ स्थानमा भने कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाइएको छ । होल्डिङ सेन्टर बनाउन काठमाडौंमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेस प्रयोग गरिएको हो । होल्डिङ सेन्टर र क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापन नेपाली सेनाबाट हुने भएको छ । होल्डिङ सेन्टरबाट सवारी साधनमा नेपाली सेनाले मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउने छ ।

होटेलमा आफ्नै खर्चमा बस्न चाहनेलाई भने होटेलमा लगिनेछ । सरकारले आगामी साताबाट उद्दार थाल्ने तयारी गरेको हो । दैनिक २५ सय हाराहारी मानिस ल्याउने गरी तयारी थालिएको छ । नेपाल एयरलाइन्सको जहाजले अष्ट्रेलिया, बंगलादेश, खाडी मुलुक तथा मलेसियाबाट नागरिक ल्याउने छ ।

यूरोप र अमेरिकाबाट आउन चाहने व्यक्ति भने ट्रान्जिट प्वाइन्टसम्म आउनु पर्छ । किनकी यूरोप र अमेरिकासम्म नेपाली जहाजलाई उडानको अनुमति दिइदैन । यूरोपले नेपाली एयरलाइन्सलाई कालोसूचिमा राखेको छ ।